भर्खरै :

अनुवाद साहित्य ओझेलमा

– नारायण ढुङ्गाना
काठमाडौँ, ८ चैत । अनुवादका माध्यमबाट नेपाली संस्कृति, साहित्य, भाषा र विचार विश्व चिनाउन सकिने भएकाले यसतर्फ जोड दिनुपर्ने साहित्यकार तथा संस्कृतिविद्ले औँल्याउनुभएको छ ।
विश्व व्यापीकरणको वर्तमान युगमा भाषिक, सांस्कृतिक र साहित्यिक एकता कायम गर्न र संसारको उत्कृष्ट रचना पढ्ने चाहना अनुवादले मात्रै पूर्ति गर्ने उहाँहरूको भनाइ थियो । नेपाल प्रज्ञा प्रतिष्ठानको साहित्य अनुवाद विभागको आयोजनामा अनुवाद र अनुकूलनको अन्तरसम्बन्धका विषयमा शुक्रबार आयोजित विचार गोष्ठीमा साहित्यकारहरूले अनुवाद साहित्य ओझेलमा परेको गुनासो गर्नुभयो ।
संस्कृतिविद् सत्यमोहन जोशीले नेपाली भाषा साहित्यको विकासमा अनुवादको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै जति गर्नुपर्ने हो त्यो हुन नसकेको बताउनुभयो । “अरूको लिने तर हामीले नदिने भएमा के अर्थ, कसैले नेपाली साहित्य पढ्न खोज्यो भने अनुवाद नगरी उसले कसरी पाउँछ, त्यसैले अनुवादमा हामीले जोड दिनैपर्छ”, जोशीले भन्नुभयो ।
राणाकालमा भाषानुवाद परिषद् स्थापना गरेको स्मरण गर्दै उहाँले नेपाली कृति नोबेल पुरस्कारका लागि सिफारिस भए पनि विषय नबुझ्दा फर्किएको बताउनुभयो । जोशीले भन्नुभयो, “अब नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय क्षेत्रमा नलगी सुखै छैन, त्यसको आधार भनेको अनुवाद हो, काव्यको आरम्भ अनुवादबाट नै हुन्छ ।” उहाँले काव्यको आत्मा जस्ताको तस्तै अनुवाद गरेर लैजान नसकिने बताउँदै प्रज्ञा प्रतिष्ठानले अनुवादका लागि न्यूनतम आधार तयार पार्नुपर्नेमा जोड दिनुभयो ।
नेपालीमा ‘चिल गाडी’, ‘पुतलीसडक’ भन्ने शब्द प्रयोग हुन्छ, अङ्ग्रेजीमा अनुवाद गर्दा यसलाई के भन्ने, यस्ता शब्द अनुवादसमेत गर्न गाह्रो हुने उहाँको तर्क थियो । एउटै विषयमा चार÷पाँच जनालाई अनुवाद गर्न दियो भने फरक–फरक अनुवाद हुने भएकाले न्यूनतम आधार तयार भएमा यस्ता शब्द एकै प्रकारले अनुवाद हुने उहाँको भनाइ थियो ।
प्राध्यापक डा. गोविन्दराज भट्टराईले अनुवाद र अनुकूलनका विषयमा कार्यपत्र प्रस्तुत गर्दै अनुवादमा सरलता र स्वाभाविकता आवश्यक हुने र अनुवादमा आइपर्ने अर्थगत समस्याको कारणले अनुकूलनको आवश्यकता पर्ने बताउनुभयो ।
“नेपालको तामा, गुन्द्रुक, गडधुवाँजस्ता हजारौँ शब्दका समस्तरीय पद विश्वमा कतै पाइँदैन, यस्ता शाब्दिक रिक्तता पूर्ति गर्ने अन्य कुनै उपाय छैन, अनुकूलन मात्रै हो, अनुकूलन प्रक्रिया अनुवादकले निर्णय गर्ने भएकाले एक रुपता हुँदैन ।” डा. भट्टराईले भन्नुभयो ।
कार्यपत्रमाथि टिप्पणी गर्दै प्राध्यापक कृष्णचन्द्र शर्माले स्रोत भाषाबाट प्राप्ति भाषामा जाँदा अनुवादमा समस्या आउने उल्लेख गर्दै सांस्कृतिक भिन्नताले फरक पार्ने बताउनुभयो । उहाँले शब्द खेलाएर मात्रै अनुवाद नहुने भन्दै मूल भाषाको अर्थ बुझ्नेले मात्रै अनुवाद गर्न सक्ने बताउनुभयो । दार्जिलिङका साहित्यकार वीणा सुब्बाले अनुवाद सुन्दर कला भएको उल्लेख गर्नुभयो । उहाँले नेपाली भाषा, साहित्यसमेत विभिन्न भाषामा अनुवाद भएकाले अन्य पुस्तकलाई पनि विश्वसामु पु¥याउनुपर्नेमा जोड दिनुभयो ।
प्रतिष्ठानको अनुवाद विभागकी प्रमुख प्रा. डा. उषा ठाकुरले स्रष्टाले विश्व साहित्यको निर्माण गर्दछ भने अनुवादकले त्यसको आधार तयार पार्ने बताउनुभयो । उहाँले प्रतिष्ठानले नेपाली साहित्य हिन्दी, अङ्ग्रेजीलगायत विभिन्न भाषामा अनुवाद हुँदै आएको उल्लेख गर्दै अन्य विभिन्न भाषाका कृतिसमेत नेपालीमा अनुवाद हुँदै आएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *