भर्खरै :

“वर्ग रहेसम्म कामदार महिला मुक्ति सम्भव छैन”

भक्तपुर, ८ चैत । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा संगम बचत तथा ऋण सहकारी संस्था महिला उपसमितिको आयोजनामा शुक्रबार प्रवचन कार्यक्रम भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् नेक्रामहिला सङ्घका केन्द्रीय अध्यक्ष अनुराधा थापामगरले वर्ग रहेसम्म कामदार वर्गका महिलाको मुक्ति सम्भव नहुने बताउनुभयो ।
श्रमिक महिला दिवस मनाउनु भनेको समाजवादी आन्दोलनलाई सहयोग गर्नु हो भन्दै उहाँले पुँजीवादी महिला नेतृहरूले महिला मुक्तिको नाममा श्रमिक महिलाहरूलाई जालझेलमा फसाउने काम गरिरहेको बताउनुभयो ।
अन्तर्राष्ट्रिय महिला नेतृहरूको जीवन अध्ययन गरी उहाँहरूको सङ्घर्षमय र बलिदानपूर्ण जीवनीबाट शिक्षा लिई समाजको लागि योगदान गर्नुपर्ने आवश्यकता औल्याउँदै उहाँले नेपाली महिलाहरूको स्थितिबारे जानकारी गराउनुभयो ।
संस्थाका अध्यक्ष कृष्णगोपाल छुस्याकीको सभापतित्वमा भएको कार्यक्रममा कृष्णप्यारी जधारी, सरस्वती सिंख्वाल, श्वेता छुस्याकी, सीता लक्ष्मी छुस्याकी, ट्युज्डे छुस्याकी, कृष्णमाया भेले, लक्ष्मीश्वरी नातरी र राइसा थिकेले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *