भर्खरै :

वैज्ञानिक समाजवादका मुख्य तत्व र विशेषता–२

जब हामी माक्र्स र एन्जेल्सद्वारा प्रतिपादित वैज्ञानिक–समाजवादी सिद्धान्तका मुख्य तत्वहरूबारे विचार गरौँ ।
माथि हामीले कुन कुरा बताएका छौँ भने वैज्ञानिक समाजवादी कुनै भावना या कल्पनामा आधारित रहेको छैन, बरू यो दह्रो दार्शनिक तथा आर्थिक जगमा आधारित रहेको छ । त्यसले समाजवादी क्रान्तिका लागि आवश्यक पूर्वाधारहरूको विकास पुँजीवादको गर्भमा हुने कुरालाई प्रमाणित गरेर कुन तथ्यलाई स्पष्ट पा¥यो भने समाजको समाजवादी रूपान्तरणमा एक ऐतिहासिक आवश्यकता र अनिवार्यता रहन्छ ।
ऐतिहासिक भौतिकवादी एउटा प्रमुख प्रस्थापना के छ भने उत्पादक शक्तिहरू र उत्पादन–सम्बन्धहरूबीचको अन्तर्विरोध सामाजिक विकासको मूल कारण हो । पुँजीवादअन्तर्गत हुने उत्पादन–प्रक्रियाको प्रगतिशील सामाजिकीकरणले समाजवादी व्यवस्थाका लागि पूर्वाधारहरू तयार गर्छ किनभने उक्त सामाजिकीकरणको पुँजीवादी उत्पादन सम्बन्धसित, पुँजीवादी अपहरणसित मेल खाँदैन । समाजिकृत उत्पादन र पुँजीवादी अपहरणबीचको अन्तर्विरोधको समाधान समाजवादी क्रान्तिमार्फत मात्र हुन सक्छ । यसरी, पुँजीवादको विकासले समाजवादी क्रान्तिका लागि वस्तुगत आधारको सिर्जना गर्छ ।
पुँजीवादको गर्भभित्र उत्पादक शक्तिहरूको जुन रूपमा विकास भइरहेको छ, त्यसले पुँजीवादी उत्पादन–सम्बन्धलाई (पुँजीवादी सम्पत्ति सम्बन्धलाई) तोड्नुपर्ने आवश्यकता पैदा गर्दछ । पुँजीवादी समाजमा समय–समयमा हुने आर्थिक तथा बित्तीय सड्ढटहरू, मुद्रास्फीति, बेरोजगारी, आर्थिक सम्पन्नता र सापेक्षात्मक विपन्नताबीच झन्झन् बढ्दो खाल्डो, युद्ध आदिले पुँजीवाद सामाजिक विकासका लागि, ऐतिहासिक अग्रगतिका लागि बाधक रहेको तथ्यलाई स्पष्ट देखाएको छ । त्यसको अर्थ हो समाजवादी क्रान्तिको ऐतिहासिक आवश्यकता ।
पुँजीवादी व्यवस्थाले आफ्नो विकासको क्रममा आफ्नो विनाशको वस्तुगत आवश्यकता मात्र पैदा गरेको छैन, बरू त्यसले सो आवश्यकतालाई यथार्थतामा सिद्ध गर्ने र गर्नसक्ने शाक्ति पनि पैदा गरेको सामाजिकीकरण र उत्पादनका साधनहरूको केन्द्रीयकरण समाजवादी रूपान्तरणका लागि भौतिक पूर्वाधार हुन् भने सर्वहारावर्गका रूपमा त्यसलाई व्यवहारमा सिद्ध गर्नसक्ने शक्ति अर्थात् त्यसको चिहन खन्ने वर्ग पनि सिर्जना गरेको छ । सर्वहारावर्ग समाजवादी क्रान्तिको सक्रिय तथा नेतृत्वकारी शक्ति हो ।
सर्वहारावर्गको जन्म पुँजीवादको जन्मसँगसँगै भएको हो र पुँजीवादको विकाससँगै त्यसको सङ्घर्षको विकास पनि भएर आएको छ । सुरूमा सर्वहारावर्गले सामन्तवादको विरूद्ध पुँजीपतिवर्गसित त्यसको सङ्घर्ष सुरू भयो । यसरी समयको क्रममा गएर सर्वहारावर्ग एक स्वाधीन राजनीतिक शक्तिको रूपमा इतिहासको रंगमञ्चमा देखा प¥यो ।
पुँजीपति वर्ग र सर्वहारावर्ग पुँजीवादी समाजका प्रमुख दुई वर्ग हुन् । सर्वहारावर्ग भनेको आधुनिक कामदारवर्ग हो र यस रूपमा पहिलोका कामदारवर्गभन्दा यसको केही फरक विशेषताहरू छन् ।
पहिलो, सर्वहारावर्ग पुँजीवादी समाजमा प्रमुख उत्पादक वर्ग हो र सबभन्दा शोषित र पीडितवर्ग हो । तसर्थ, यो वर्ग पुँजीवादी व्यवस्थाको सबभन्दा कट्टर र दृढविरोधी छ र उपरोक्त समाजमा यो सबभन्दा क्रान्तिकारी वर्ग हो ।
दोस्रो, यो वर्ग उत्पादनका साधनहरूबाट पूरै वञ्चित छ र यससित आफ्नो श्रमशक्तिबाहेक आफ्नो भन्ने कुनै जीविकाको साधन छैन र त्यसको आफ्नो श्रमशक्ति बेचेर आफ्नो जीविका चलाउनुपर्छ । यस रूपमा यो किसान र अन्य वर्गबाट भिन्न छ र क्रान्तिमा केही गुम्ला भनेर यसले कुनै चिन्ता लिनुपर्दैन । माक्र्स र एन्जेल्सद्वारा लिखित “कम्युनिस्ट घोषणापत्र” मा भनिएको छ ः “सर्वहारावर्गको आफ्नो सिक्रीबाहेक गुम्ने भन्ने कुरा केही पनि छैन । जित्नका लागि उसका सामु संसार छ ।”
तेस्रो, निजी सम्पत्तिमाथि आधारित पुँजीवादी शोषण र उत्पीडनमा परेकाले, सर्वहारावर्ग निजी सम्पत्तिको, निजी मालिकत्वको विरोधी रहन्छ र त्यसको आधारभूत हित समाजवादी क्रान्तिमा रहेको छ र त्यसमा नै त्यसको उज्ज्वल भविष्य रहेको छ । “कम्युनिस्ट घोषणापत्र” को शब्दमा, “जोगाउनुपर्ने कुनै चीज उनीहरूसित छैन, उनीहरूको मूल उद्देश्य निजी सम्पत्तिसित सम्बन्धित पहिलेका सबै संरक्षण र ग्यारेन्टीहरूलाई ध्वस्त पार्नु हो ।” यसरी सर्वहारावर्गको स्थिति स्वयंले क्रान्तिको अपेक्षा गर्छु ।
चौथो, सामाजिक उत्पादनमा सर्वहारावर्गको आफ्नो खास स्थान छ । पुँजीवादको विकासको सिलसिलामा अन्य वर्गहरू क्षीण हुँदै जान्छन् भने सर्वहाराहरूको सङ्ख्यामा वृद्धि हुँदै जान्छ । त्यसको सो सङ्ख्यात्मक वृद्धि पुँजीवादी उत्पादनको विकासको एउटा स्वाभाविक परिणाम हो । अर्को कुरा, विशाल–मात्राको उद्योगको विकासको मजदुरहरूलाई झन्झन् ठूलो सङ्ख्यामा एउटै थलोमा एकत्रित पार्छ, जसले गर्दा तिनीहरूका निम्ति सङ्गठित र एकताबद्ध हुन सुगम रहन्छ ।
पाँचौं, आफ्नो वर्गीय स्थितिको कारणले गर्दा, सर्वहाराहरूले अरू वर्गहरूले भन्दा चाँडो क्रान्तिकारी सिद्धान्तलाई ग्रहण गर्छन् ।
सर्वहारावर्गको वर्गीय स्थितिमा अन्तर्निहित उपरोक्त विशिष्टताहरूले गर्दा वैज्ञानिक समाजवादका प्रवर्तकहरूले सर्वहारावर्गलाई पुँजीवादको चिहान खन्ने वर्गका रूपमा परिभाषित गरेका हुन् । बीसौं शताब्दीमा भएका महान् जनक्रान्तिहरूले (उदाहरणार्थ, महान् अक्टोबर समाजवादी क्रान्ति, चिनियाँ जनक्रान्ति) पुरानो समाजलाई विध्वस्त पार्ने र नयाँ समाज, समाजवादी समाजको निर्माण गर्ने सर्वहारावर्गको जुन महान् ऐतिहासिक भूमिका छ, त्यसलाई पूरा गर्ने योग्यता र क्षमता त्यसमा निहित रहेको तथ्यलाई स्पष्टसित दर्शाएका छन् ।
माथि भनिएझैँ, वैज्ञानिक–समाजवादी सिद्धान्त समाजवादी (कम्युनिस्ट) क्रान्तिसित सम्बन्धित छ र त्यसले सो क्रान्तिका समस्याहरूलाई सम्बोधन गर्दछ ।
सबभन्दा पहिलो समाजवादी क्रान्ति भन्नाले के जनाउँछ भन्ने हामी हेरौं । व्यापक अर्थमा, समाजवादी क्रान्तिले पुँजीवादको अन्त्य र वर्गविहीन, समाजवादी समाजको निर्माणलाई जनाउँछ । यो क्रान्ति भनेको महान् सामाजिक–आर्थिक रूपान्तरण हो । समाजवादसम्बन्धी माक्र्सवादी सिद्धान्तले सो क्रान्तिको ऐतिहासिक भूमिका र सो भूमिका पूरा गर्न सर्वहारावर्गले के गर्नुपर्छ, कुन बाटो लिनुपर्छ र कसरी अगाडि बढ्नुपर्छ आदि सवालमा चर्चा गरिएको छ ।
वैज्ञानिक समाजवादको एउटा प्रमुख प्रस्थापना के छ भने पुँजीवादको विरूद्ध मजदुरहरूलाई एकताबद्ध र सङ्गठित गर्न र तिनीहरूको सङ्घर्षलाई सही आधार र सही दिशामा अघि बढाउन सर्वहारावर्गको आफ्नै स्वाधीन पार्टी, सच्चा सर्वहारा पार्टी हुनु आवश्यक र अपरिहार्य छ । यस्तो पार्टी भनेको माक्र्सवादी पार्टी हो, माक्र्सवादी सिद्धान्तको निर्देशनमा चल्ने कम्युनिस्ट पार्टी हो । स्टालिनको शब्दमा “एक लडाकू पार्टी एक क्रान्तिकारी पार्टीको आवश्यकता छ–यस्तो साहसिलो पार्टी, जसले सत्ता प्राप्त गर्ने सङ्घर्षमा सर्वहारावर्गको नेतृत्व गर्न सक्छ, यस्तो अनुभवी पार्टी जसले क्रान्तिकारी परिस्थितिका जटिल अवस्थाहरूमा पनि आफ्नो बाटो पहिल्याउन सक्छ र यस्तो लचिलो पार्टी जो आफ्नो लक्ष्य प्राप्तिको बाटोमा रहेका सारा लुकेका चट्टानहरूबाट जोगिएर अघि बढ्न सक्छ ।” कम्युनिस्ट पार्टी भनेको सर्वहारावर्गको राजनीतिक नामकरण हो । लेनिनद्वारा संस्थापित बोल्सेविक पार्टी सच्चा सर्वहारा पार्टीको एउटा उत्कृष्ट नमुना बनेको छ ।
प्रत्येक क्रान्तिको सबभन्दा आधारभूत राजनीतिक सत्ताको सवाल हो– यो क्रान्तिसम्बन्धी माक्र्सवादको एउटा महत्वपूर्ण प्रस्थापना हो । तदनुसार, समाजवादी क्रान्तिको सबभन्दा आधारभूत सवाल पुँजीपतिवर्गलाई सत्ताच्युत गरेर सर्वहारावर्गको हातमा सत्ता हस्तान्तरण हो । समाजवादी क्रान्तिको सुरूआत यही सत्ता हस्तान्तरणबाट अर्थात् राजनीतिक क्रान्तिबाट हुन्छ र हुनुपर्छ । यसलाई नै सर्वहारा क्रान्ति भन्ने गरिन्छ । माक्र्स र एन्जेल्सको शब्दमा, “मजदुरवर्गको क्रान्तिमा पहिलो पाइलो सर्वहारावर्गलाई शासकवर्गको रूपमा उठाउनु, जनवादको सङ्ग्राम जित्नु हो ।” (“कम्युनिस्ट घोषणपत्र”)
पुँजीपतिवर्गलाई सत्ताबाट हटाएर मजदुरहरूले स्थापना गर्ने राज्यसत्ता सर्वहारावर्गको अधिनायकत्वको राज्यसत्ता हो । सर्वहारा अधिनायकतन्त्रको धारणा क्रान्तिसम्बन्धी सिद्धान्त, वर्गसङ्घर्षसम्बन्धी सिद्धान्तको सबभन्दा प्रमुख तत्व हो । उक्त धारणामा मुख्य दुईटा तत्व छन्– शोषकहरूका लागि अधिनायकतन्त्र (दमन) र श्रमिक जनताका लागि जनवाद । सत्ताच्युत शोषकहरूको षड्यन्त्र, अन्तरध्वंस, प्रतिक्रान्तिकारी प्रयत्नहरूलाई विफल पार्न र समाजवाद अनि कम्युनिष्ट समाजको निर्माणको कामलाई सफलतापूर्वक अघि बढाउन उक्त अधिनायकतन्त्र एकदमै आवश्यक र अनिवार्य साधन हो । माक्र्सले यसबारे भनेका छन् ः
क्रान्तिकारी समाजवाद, साम्यवाद भनेको “क्रान्तिको निरन्तरताको घोषणा हो र सर्वहारावर्गको वर्गीय अधिनायकतन्त्र सामान्यतः वर्गविभेदहरूको उन्मूलनका लागि, त्यसको आधार रहेका सबै उत्पादन–सम्बन्धहरूको उन्मूलनका लागि, सो उत्पादन–सम्बन्ध अनुरूपका सारा सामाजिक सम्बन्धहरूको उन्मूलनका लागि, उक्त सामाजिक सम्बन्धबाट उत्पन्न सबै विचारहरूको क्रान्तिकारीकरणका लागि आवश्यक सङ्क्रमण –विन्दु हो ।”
क्रान्तिद्वारा फालिएका शोषक–शासकहरूबाट फेरि सत्ता प्राप्त गर्न गरिने प्रयास, क्रान्तिविरूद्ध गरिने षड्यन्त्र तथा अन्तः ध्वंस, आदिलाई विफल पार्न, विदेशी शत्रुहरूको हमलाको विरूद्ध क्रान्तिलाई जोगाउन, समाजको क्रान्तिकारी रूपान्तरण र वर्गहरूको उन्मूलन गर्न सो अधिनायकतन्त्रको ठूलो आवश्यकता रहन्छ । एक व्यवस्थाबाट अर्को, नयाँ व्यवस्थामा सङ्क्रमणको प्रक्रिया पहिले राजनीतिक क्रान्ति, अनि सामाजिक–आर्थिक रूपान्तरण अनि सांस्कृतिक रूपान्तरणबाट पूरा हुन्छ ।
सर्वहारा (कम्युनिष्ट) पार्टीको अन्तिम उद्देश्य साम्यवादी समाजको स्थापना गर्नु हो । यस समाजका दुइटा चरण छन् ः समाजवादी चरण र साम्यवादी चरण । सामन्ती, अर्धसामन्ती र अर्धऔपनिवेशिक मुलुकको सन्दर्भमा यसका तीन चरण हुन्छन्ः नयाँ जनवाद, समाजवाद र साम्यवाद । समाजवादी चरण पुँजीवादको गर्भबाट जन्मिन्छ र त्यसलाई ध्वस्त पार्ने सिलसिलामा समाज सीधा पुँजीवादबाट होइन, बरू समाजवादबाट पैदा हुन्छ ।
उपरोक्त दुई चरणका केही साझा कुरा छन् भने तिनका बीचमा केही गुणात्मक भिन्नताहरू पनि छन् ।
साझा कुराहरू ः उत्पादनका साधनहरूमाथि साझा मालिकत्व, मानिसद्वारा मानिसको शोषणको अन्त्य, मानिसहरूकामाझ मैत्रीपूर्ण र सहयोगात्मक सम्बन्ध, उत्पादनको उद्देश्य नाफा नभएर जनताका आवश्यकताहरूको पूर्ति । यस दृष्टिबाट हेर्दा, समाजवाद साम्यवादबाट भिन्न छैन र त्यसैले समाजवादलाई “अपरिपक्व साम्यवाद” (माक्र्स) पनि भनिन्छ । पुँजीवादको गर्भबाट जन्मेका कारण समाजवादी चरणमा त्यसका जन्मचिन्हहरू (अवशेषहरू) रहेका हुन्छन् । आर्थिक असमानता, मानसिक र शारीरिक श्रमबीच भेदका अवशेषहरू, निजी सम्पत्तिप्रति सम्मान र शारीरिक श्रमबीच भेदका अवशेषहरू, निजी सम्पत्तिप्रति सम्मान र झुकाव, व्यक्तिगत स्वार्थ, श्रमलाई कर्तव्यका रूपमा नहेर्ने, आदि त्यसका अवशेषहरू हुन् । साम्यवादतर्फ सङ्क्रमणको एउटा प्रमुख भिन्नता उत्पादक शक्तिहरूको विकासको स्तरमा रहेको हुन्छ, जसले गर्दा योगदानको भेदभाव नगरीकन मानिसका आवश्यकताहरूको परिपूर्ति समाजवादमा हुन सक्दैन । समाजवादी समाजमा लागू हुने सिद्धान्त यस प्रकारको रहन्छ ः “हरेकबाट उसको सामथ्र्यअनुसार, हरेकलाई उसको कामअनुसार ।” यो उक्त समाजमा वितरणको मुख्य नियम हो ।
साम्यवादी समाजमा ः वर्गहरूको पूर्ण उन्मूलन, मानसिक श्रम र शारीरिक श्रमबीचको भेदको उन्मूलन, गाउँ र सहरबीचका भेदहरूको उन्मूलन, श्रम जीवन्त आवश्यकता र आनन्दको स्रोत हुन्छ । साम्यवादमा राज्य पनि रहँदैन तर पुँजीवादी मुलुकहरूको घेराबन्दी रहँदा त्यसको आवश्यकताको स्थिति रहन्छ । यस समाजमा वितरणको मुख्य सिद्धान्त यस्तो रहन्छ ः “हरेकबाट उसको सामथ्र्यअनुसार, हरेकलाई उसको खाँचोअनुसार ।” साम्यवादअन्तर्गत सामाजिक अन्तर्विरोधको समाधान वर्गसङ्घर्षद्वारा होइन (किनभने त्यहाँ वर्गहरू रहँदैनन्) बरू आलोचना र आत्मलोचनाको तरिकाद्वारा हुन्छ ।
वैज्ञानिक–समाजवादी सिद्धान्तका प्रमुख तत्वहरू उपरोक्त हुन् । माक्र्सको वैज्ञानिक समाजवादको सम्पूर्ण सार कुन कुरामा रहेको छ भने त्यसले पुँजीवादबाट समाजवादमा क्रान्तिकारी रूपान्तरणको ऐतिहासिक आवश्यकता र सो आवश्यकताको सिद्धीकरणको उपायलाई खुलस्त पारेको छ ।
माक्र्सवादका सैद्धान्तिक स्थिति र अवधारणा
समाप्त

Leave a Reply

Your email address will not be published. Required fields are marked *