यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
आशाकाजी श्रेष्ठ
भक्तपुर नपाले ऐतिहासिक एवम् पुरातात्विकलगायतका सम्पदाहरूको संरक्षण गरी भावी पुस्तालाई हस्तान्तरण गर्न जीर्णोद्वार र पुनःनिर्माण गरिरहेको छ । यो प्रशंसनीय एवम् सराहनीय कार्य हो । यस्तो सद्विचार र स्तुत्य कार्यले निरन्तरता पाओस् आफ्नो मौलिक सभ्यता र संस्कृतिमा गर्व गर्ने सम्पदा प्रेमीहरूको आशा एवम् अपेक्षा छ ।
सम्पदा संरक्षणकै क्रममा भक्तपुर नपाले गएको फागुन २७ गते ‘ऐतिहासिक भाज्या पोखरी जीर्णोद्धारको प्रारम्भिक प्रतिवेदनसम्बन्धी अन्तरक्रिया कार्यक्रम’ गरेको थियो । त्यस कार्यक्रमका समाचार, प्रतिवेदन र सहभागीहरूको विचार सुनेपछि मनमा उठेका केही जिज्ञासाहरू प्रकाशित गर्दा जीर्णोद्धार कार्यमा सघाउ पुग्ने आशाले प्रकाशनार्थ प्रेषित गरेको छु । भक्तपुर नपा र अध्ययन टोलीले ‘आफूले गरेको सबै ठीक’ ठान्ने छैन भन्ने पनि आशा गरेको छु ।
अन्तरक्रिया कार्यक्रममा एक वक्ताले धेरै विवाद नगरियोस् भन्ने आशय व्यक्त गर्नुभएको थियो । तर, पङ्क्तिकारलाई चाहिँ प्रारम्भिक प्रतिवेदनमा व्यापक चर्चा परिचर्चा होस्, विवाद पनि होस्, परन्तु अन्तिम प्रतिवेदन विवादरहित होस् भन्ने अपेक्षा छ । यदि अहिले विवाद गरिएन भने काठमाडौंको रानी पोखरीको नियति ‘भाज्या पोखरी’ ले भोग्नुपर्ने छ अर्थात निर्माण गरेपछि भत्काएर पुनःनिर्माण गर्नुप¥यो भने धन, श्रम र समय सबै खेर जानेछ । यसले अपरिपक्वतामात्र प्रदर्शन हुनेछ ।
प्रारम्भिक प्रतिवेदनको शीर्षक ‘भाज्या पुखु’ लेखिएको छ, हामीले पढेको ‘भाजुया पुखु’ हो । ‘भाजुया’ अर्थात भाजुको शब्द बोलीमा अपभ्रंश भएर ‘भाज्या’ भएको बताइन्छ । प्रतिवेदनमा अशुद्ध वा अपभ्रंश नाम नदिइएको भए राम्रो हुन्थ्यो । कृष्ण कुमारलाई ‘किसक्वार’ भनी बोलाए पनि लिखितमा नराम्रो लाग्छ ।
प्रतिवेदनअनुसार भक्तपुरमा ऐतिहासिक व्यक्तित्व ‘भाजु कस’ दुई जना देखियो । यो नौलो कुरा भयो । हामीले पढेको ‘भाजु कस’ भागीराम कायस्थ हो । कतै भाजु राम कस पनि छ । जितामित्र मल्लका प्रधानमन्त्री भागी राम कायस्थ हो कि राम कायस्थ ? वा दुवै एकै व्यक्ति हुन् ? यसैक्रममा प्रतिवेदनमा पोखरी वा मन्दिर बाह्रौं शताब्दीमा बनेको भनिएको छ । तर, त्यो पोखरी कुन राजाको पालामा बनेको हो उल्लेख छैन । भाज्या पुखु भागिराम कायस्थ वा भाजुराम कायस्थ कसैको नामसँग जोडिएको देखिएन । यसको अर्थ १२ औं शताब्दीमा पनि कोही भाजु कस थियो ? प्रतिवेदनमा त ‘हाम्रो भाज्या पुखु पनि त्यतिबेलाका भार्वाचो टोलका भार्वाचो कसको नेतृत्वमा जीर्णोद्धार भयो होला’ लेखिएको छ । यसबाट ‘भाज्या पुखु’ को नाम नै अमिल्दो देखियो । निर्माताको नाम नजनाई जीर्णोद्धार गर्नेको नामबाट नामाकरण नहुनुपर्ने देखिन्छ । ‘भार्वाचो कस’ भन्ने नाम आजसम्म कतै नसुनिएकोले जो कोहीले यसको प्रमाण खोज्ने निश्चित छ ।
‘भाज्या पुखुको मध्तगमा मन्दिर थियो भन्ने कुरा हाम्रो अन्वेषण र उत्खनन अघिसम्म कसैलाई थाहा थिएन’ भन्ने कुरा प्रतिवेदनमा दाबी गरिएको छ । तर कार्यदलका संयोजक डा.पुरूषोत्तम लोचन श्रेष्ठले अन्तरक्रिया कार्यक्रममा गरिएको स्लाइड प्रस्तुतिमा ‘वि.सं. २०५९ साल जेठमा भक्तपुर नपाले भाज्या पुखुको जीर्णोद्धार थालनी गरेको र झारपात उखेलेर फ्याँक्ने क्रममा मध्यकालीन इँटाहरूलगायत इँटैइँटाले उठाइएका मन्दिरको जगखण्डका अवशेषसमेत देखापरेको उल्लेख छ । त्यस्तै उत्खननबाट फेला परेका सामग्रीहरूबाट पोखरीको डम्फुमा सुन्दर मन्दिर भएको कुरा बताउँदै ती सामग्रीका तस्बिरहरू देखाइएको थियो ।
भक्तपुर नपाले उक्त पोखरीको पुनःनिर्माण गर्न हालै पानी जम्मा गर्न खन्दा मन्दिरको जगखण्डको थप अवशेष र दक्षिण तिरबाट डम्फुको मन्दिर पुग्ने पुलको अवशेष पनि भेटिएको प्रमाणस्वरूप तस्विरहरूबाट जानकारी दिइएको थियो ।
यसरी प्रतिवेदनको मध्तगमा मन्दिर रहेको कुरा कसैलाई थाहा थिएन भन्ने दाबी स्लाइड प्रस्तुतिको क्रममा खण्डित हुन पुगेको छ ।
त्यस्तै अन्नपूर्ण पोष्ट दैनिकका अनुसार २०५९ सालमा पोखरी जीर्णोद्धार गर्ने क्रममा पोखरीको बीचमा मन्दिर रहेको देखिन आएको थियो । माटोले पुरिएको अवस्थामा मन्दिर भेटिएपछि पुरातत्व विभागका उद्धव आचार्यको नेतृत्वमा दुई हप्ता लगाएर उत्खनन गरिएको थियो ।
उपरोक्त विवरणको आधारमा ‘भाज्या’ पुखुको बीचमा मन्दिरको अवशेष आजभन्दा १६ वर्ष अघि नै थाहा भएको देखिन्छ ।
प्रारम्भिक प्रतिवेदनमा ‘भाज्या पुखु’ को मध्तगको मन्दिरलाई ‘जलेश्वर’ नाम दिइएको छ । तर ठोस आधार उल्लेख छैन ।
त्यस्तै वितरित प्रतिवेदन अध्ययन गर्दा ‘भाज्या’ पुखु र मध्तगको मन्दिरबारे जानकारी भन्दा काठमाडौंको रानी पोखरी जेठी कि ‘भाज्या’ पुखु ? भन्ने विषयमा कार्यदलको ध्यान केन्द्रित भएको र जलाशय वा जलश्रोतको महिमा वर्णनमा धेरै शब्द पर्दा ऐतिहासिक र पुरातात्विक पोखरीको तथ्यहरूबारे जानकारी दिन कञ्जुस्याइँ गरेको अनुभूति हुन्छ । कार्यदललाई ‘भाज्या पुखु’ र रानीपोखरी मध्य कुन जेठी–कान्छी वा आमा–छोरी पत्ता लगाउन र जलश्रोतको महत्व र उपयोगिताको अन्वेषण गर्ने जिम्मेवारी दिइएको कतै सुनिएको छैन ।
यसरी ‘भाज्या’ पुखुबारे केही टिप्पणी गर्दा गर्दै पनि कार्यदलले स्थालगत अवलोकन, श्रोत सामग्रीहरूको अध्ययन, विभिन्न व्यक्तिसँग सम्पर्क गरी आफ्नो जिम्मेवारी मिहिनेतका साथ निर्वाह गरेको देखिन्छ । त्यसको निम्ति कार्यदलका सबै निश्चय पनि धन्यवादका पात्र छन् ।
यद्यपि, भक्तपुर नपालाई बौद्धिक व्यक्तिहरूको मिहिनेतको उचित मूल्याङ्कन गर्न आग्रह गर्दै कार्यदलको कार्य अद्वितीय होस्, उपलब्धिमूलक होस्, प्रतिवेदनमा दाबी गरिए जस्तो ‘भाज्या’ पुखुबारे नयाँ इतिहास सप्रमाण पढ्न पाइयोस् भन्ने अभिप्रायले गरिएको केही टिप्पणीबाट कसैको चित्त नदुखोस् – नमन् !
Leave a Reply