भर्खरै :

पुस्तक पठनः केही अनुभवका कुरा

साल्ले ओ रियले
मेरो बाल्यकालको सबभन्दा सुखद् समय भनेको ई नेसबिट, सीएस लेविस र जोएन एकिनका पुस्तक पढेर बिताएको समय थियो । कसैले पनि नदेख्ने ओझेल परेको कुनामा बसेर तिनका पुस्तक पढ्दै गर्दामा म पूर्णतः कथामा चुर्लुम्म डुब्थें । पुस्तकमा वर्णन गरिएका जादुलाई सजिलै विश्वास गरिहाल्थें । मेरी हजुरआमाको दराजको ढोकाबाट म नार्नियाको संसारभित्र समेत पस्ने प्रयास गर्थें । वयस्क हुँदा पनि पुस्तकमा डुब्ने मेरो बानी छुटेन । तर, मेरो बाल्यकालको तुलनामा अहिले पुस्तकसँगको मेरो संसर्गमा केही भिन्नता आएजस्तो महसुस गर्छु । म ठूलो सङ्ख्यामा पुस्तक किन्छु, पुस्तकबारे कुराकानी गर्छु र सम्भव भएसम्म बढी पुस्तक पढ्छु । कहिलेकाहीं पुस्तकबारे लेख्छु पनि । तर, कुनै काल्पनिक संसारमा पवित्र मनले डुबुल्की मार्दा जस्तो दिगो प्रेरणा भने म आजभोलि पाउने गर्दिन ।
विश्व पुस्तक दिवसजस्ता दिवसहरू मनाउँदा केटाकेटीलाई पुस्तक पढ्न अभिप्रेरित गर्न सकिन्छ । त्यो दिनले हामी सबैलाई कुनै असल पुस्तक पढ्दाको सुखद् अनुभूति स्मरण गराउँछ । हामीमध्ये धेरै जना अझ थुप्रै पुस्तक पढ्ने सङ्कल्प पनि गर्छौं । तर, आजभोलि जताततै ‘सही’ कुरा पढ्ने दबाब बढ्दो छ । वयस्कहरूको संसारले आजभोलि हरेक कुरालाई कुनै खेलकुद प्रतियोगितामा रुपान्तरण गरिदिएको छ । पुस्तक पठनलाई पनि कुनै खेलकुद प्रतियोगिताजस्तै बनाइदिएका छन् । पुस्तक पढ्दा पनि लक्ष्य निर्धारण, पदानुक्रम र वर्गीकरण लागू गरेका छन् । हामी कमलो मन भएकाहरूको भावुक साहित्य र अपराध साहित्य भनी विभेद गर्छौं, पुस्तकलाई वर्गीकरण गर्न सतही पठन गर्छौं र पुरस्कार प्राप्त पुस्तकको नामावलीलाई आधार मानी आफ्नो पठनमा सुधार गरेको ठान्छौं ।
मानिसहरूमा केही पुस्तक पठन प्रतियोगिताले ‘बढी पुस्तक पढ्न सक्नुलाई नै आत्मप्रगतिको आधार हो’ भन्ने मनस्थिति बनाइदिएको छ । त्यस्ता प्रतियोगितामा पाठक स्वयंले आफ्नो पुस्तक पठन लक्ष्य तय गर्ने गर्छन् । गुडरिड्स नामको एउटा त्यस्तै प्रतियोगितामा केही सहभागीहरूले ठीकैका लक्ष्य राखेका हुन्छन् भने केहीले वर्षमा १९० वटा पुस्तक पढ्ने लक्ष्य राख्छन् । वर्षमा १९० वटा पुस्तक पढ्ने भन्नुको अर्थ महिनाको १५.८ वटा पुस्तक पढ्नु हुन्छ । हप्तामा ३.६ वटा पुस्तक र हरेक दिन आधा पुस्तक पढ्नुपर्ने हुन्छ । गज्जब छैन त ? पक्कै पनि । कोही त यो भन्दा पनि धेरै तीब्र गतिमा पुस्तक पढिरहेका हुनसक्छन् । एक जना पत्रकारले हालै एक सातासम्म सामाजिक सञ्जालबाट पर बसेर एक दर्जन पुस्तक पढिभ्याएको कुरा लेखेका थिए । सीएस लेविसको पुस्तक नार्निया शृङ्खलाका मुख्य पात्र मिस्टर तुमनुससँगका मेरा दिनभन्दा आजभोलि सुनिने यस्ता कुरा निकै भिन्न लाग्छन् ।
पठन हर्ष
यसले एउटा महत्वपूर्ण प्रश्न उठान गरेको छः हामी सबै किन पढ्छौं ? के हामी पुस्तक पढेर मज्जा लिन चाहन्छौं वा हामी पुस्तकलाई हाम्रो दिमागमा डाउनलोड गर्न चाहन्छौं ? के हामीले आफूले पढेको पुस्तक भनी पुस्तकको नामावलीमा रेजा चिन्ह लगाउन यति आतुर भइसक्यौं र, जसले हामीलाई पुस्तक पढ्नु भनेको शारीरिक तथा भावनात्मकका साथै बौद्धिक अभ्यास पनि हो भन्ने कुरा नै भुलाइसक्यो ? पुस्तक पढ्दा प्राप्त हुने फाइदालाई बढी प्राथमिकताका साथ चर्चा गरिन्छ तर पुस्तक पठनको क्रममा भएको अनुभूतिलाई कम मात्र चर्चा गरिन्छ । अध्येताले पुस्तकको उपभोग्य मूल्य र अनुसन्धानको निष्कर्षलाई बढी जोड दिएको देखिन्छ । पुस्तक पढ्दा सद्भाव बढ्ने र आयु बढाउनेजस्ता कुराको समेत हिसाबकिताब गरेका हुन्छन् ।
तर, पुस्तक पढ्दा सबभन्दा महत्वपूर्ण पाटो हुन्छ–पढ्दाको अनुभव वा अनुभूति । कुनै पनि पुस्तकप्रति कोही असल पाठकको चोखो प्रेम जसै पुस्तकका अन्तिम पाना नजिकिन थाल्छन्, सुस्त सुस्त पढेबाट पुष्टि हुन्छ । पाठक त्यो पुस्तकले सिर्जना गरेको संसारबाट विछोडिन नै मान्दैन । बेलायतको पठन संस्थाले भनेजस्तै,“पढ्दाका केही दीर्घकालीन व्यावहारिक फाइदाबाहेक पढ्नु जीवनको निकै हर्षको पाटो हो ।” केटाकेटीले यो कुरा अझ भित्रैबाट बुझेको देखिन्छ अनि त उनीहरू सबै कुरालाई छोडेर पूरै कथामा डुब्ने गर्दछन् । केटाकेटीहरू पुस्तकबाट बढीभन्दा बढी माग गर्ने इमान्दार पाठक हुन्छन् । उनीहरू कथामा के हुन्छ र कथाले उनीहरूलाई कहाँ पु¥याउँछ भन्ने कुरामा चासो राख्छन् । आफूले पढ्दै गरेको पुस्तकले कुन पुरस्कार पायो भन्ने कुराले उनीहरूको लागि खास माने राख्दैन ।
सुस्त पठन
वयस्क पाठकले पुस्तकको बहुआयामलाई पहिल्याउन सक्छन् । तर, त्यसको लागि उनीहरूलाई शब्दमा पूर्णतः केन्द्रित हुने समय वा अवसरको आवश्यकता पर्दछ । उनीहरूलाई तनाव दिने चुनौती र पूरा गर्नैपर्ने लक्ष्यबाट टाढा बस्ने चाहना पनि हुनुपर्दछ । आफ्नो दोस्रो उपन्यास लेख्न म बार्सिलोनामा एक वर्ष बसेँ । त्यत्तिबेला म बिल्कुल स्वतन्त्र थिएँ, मेरो कुनै काम थिएन । पूरा एक वर्षको समयमा मैले जम्मा छ वटा पुस्तक पढिभ्याएँ । तीमध्ये एउटा थियो, जोसेफ कोनरेडको ‘द सिकरेट एजेन्ट’ । पछिल्लो लेखन विश्रामको समयमा मैले दिनको दुई घण्टा माइकल फाबरका पुस्तक ‘द क्रिमसन पेटल एण्ड द ह्वाइट’ पढ्ने गरेको थिएँ । ती उपन्यास मैले पूरै ध्यान दिएर पढें । सबै अरु संसार भुलेर पढेँ । त्यही भएर ती पुस्तक, तिनका पात्र र घटनाक्रमका आरोहअवरोह मलाई प्रष्ट सम्झना छ । तिनीहरूबाट म परिचित छु । तर, हतारमा पढेका अन्य पुस्तकका पात्र र घटनाक्रम भने यसरी लामो समयसम्म दिमागमा बस्ने गर्दैन । हतारमा पढेका पुस्तकका पात्र र घटनाक्रम केही समयमै विस्मरणमा जान्छन् । पुस्तक पढ्दा त्यसभित्रका बहुआयाम नियाल्दै बिनाकुनै प्रतिस्पर्धाभाव पढ्नुको महत्वबारे बोल्ने म एक्लै मात्र होइन । गार्जियन पत्रिकामा लेखक सारा वाटर्सले हालैसालै आजभोलि लेखनबारे कुराकानी हुँदा एकप्रकारको केही छिद्र अनुभूति हुने गरेको लेखेकी थिइन् । ‘पढेको छैन भन्दा लज्जाबोध हुने पुस्तक कुन हो’ भनी प्रश्न सोध्दा उनले जवाफमा भन्ने गरेकी रहिछिन्,“आजभोलि मानिसहरूले चर्चा गरिरहेका कुनै पनि पुस्तक पढ्न नभ्याउँदा मलाई त्यस्तो बोध हुन्छ । म निकै सुस्त पढ्ने पाठक हुँ । म नयाँपुस्तक जति पढ्छु, पुराना पुस्तक पनि त्यत्ति नै पढ्न रुचाउँछु । त्यही भएर जब कुनै भर्खरै प्रकाशित पुस्तकको नाम सुन्छु, म निकै नराम्ररी पछाडि परेको सधैं महसुस गर्छु ।”
स्लो लिभिङ (एक प्रकारको पूर्ण र सकारात्मक जीवनपद्धति), अनुभव र मानवीय सम्बन्धको पुनर्खोजबारे धेरैले बोलिसकेका छन् । यो अवधारणालाई पठनको सन्दर्भमा पनि लागू गर्नुपर्ने समय भएको छ । बेलायतमा मात्र हरेक वर्ष १ लाख ८४ हजार पुस्तक प्रकाशन हुने गर्दछ । हप्तामा १२ वटा पुस्तक पढे पनि हामीले त्यो पुस्तकको रासको एक छेउ पनि पढेर भ्याउने छैनौं । हामीले जतिसुकै चाँडो पढे पनि अत्यधिक सङ्ख्याका पुस्तकबारे हामीलाई थाहा हुनेछैन । उमेरले वयस्क पाठकले केटाकेटीबाट पुस्तक पठनसम्बन्धी सिक्नुपर्ने कुरा हो– कुनै पनि पुस्तक खुशीको लागि पढ ।
(लेखक साल्ले ओँरियले द ओपन युनिभर्सिटीमा सिर्जनात्मक लेखनका लेक्चरर हुन् ।)
स्रोतः कनभरसेसन
नेपाली अनुवादः नीरज

Leave a Reply

Your email address will not be published. Required fields are marked *