भर्खरै :

भारतका ८० प्रतिशत इन्जिनियर अयोग्य

नयाँ दिल्ली, २५ मार्च । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ‘स्कील इन्डिया’ कार्यक्रमबारे ठूलठूला कुरा गर्ने क्रम अझै रोकिएको छैन । तर, हालै भारतको राष्ट्रिय रोजगारी क्षमताको प्रतिवेदनले सार्वजनिक गरेको निष्कर्षले भने मोदीका यस्ता सबै कुरा झूटा प्रमाणित गरेको छ । प्रतिवेदनले भारतका कुल इन्जिनियरहरूमध्ये ८० प्रतिशतभन्दा बढी इन्जिनियर ज्ञानको अर्थतन्त्र (नलेज इकोनोमी) मा कुनै पनि रोजगारको लागि अयोग्य भएको उल्लेख छ । संसारका विभिन्न देशका विद्वान संलग्न अध्ययन समितिले त्यस्तो प्रतिवेदन सार्वजनिक गरेको हो ।
प्रतिवेदनअनुसार भारतीय इन्जिनियरहरूसँग कृत्रिम बौद्धिकता(आर्टिफिसियल इन्टिलिजेन्स), मेसिन पठन(मेसिन लर्निङ), तथ्याड्ढ विज्ञान(डाटा साइन्स) र ताररहित प्रविधि(वायरलेस टेक्नोलोजी) जस्ता रोजगारदाता कम्पनीलाई आवश्यक पर्ने उच्च प्रविधियुक्त समय सान्दर्भिक दक्षता नभएको बताइएको छ ।
भारतका इन्जिनियरहरूमध्ये २.५ प्रतिशतसँग मात्र कृत्रिम बौद्धिकतासम्बन्धी ज्ञान भएको छ । साथै ५.५ प्रतिशतसँग मात्र आधारभूत प्रोग्रामिङ स्कील भएको पाइएको प्रतिवेदनमा उल्लेख छ । समग्रमा भन्नुपर्दा भारतका इन्जिनियरहरूमध्ये १.५ प्रतिशतसँग मात्र नयाँ समय सुहाउँदो रोजगारको लागि आवश्यक दक्षता छ ।
सैद्धान्तिक ज्ञानमा आधारित शिक्षा प्रणालीकै कारण यस्तो समस्या आएको बताइएको छ । इन्जिनियरिङ प्रयोगमा आधारित विषय हो । इन्जिनियरहरूले पढेर वा सुनेरभन्दा पनि गरेर आफूलाई आवश्यक सीप हासिल गर्ने गर्छ । भारतका कुल इन्जिनियरिङ विद्यार्थीमध्ये ४० प्रतिशतले इन्टर्नसीप गर्ने र ३६ प्रतिशतले आफ्नो पाठ्यकार्यभन्दा बाहिरका प्रोजेक्ट गर्ने गरेको पाइएको छ । भारतमा इन्जिनियरिङ विषय मूलतः सैद्धान्तिक अध्ययनमा सीमित हुने गरेको छ । भारतका ७५० भन्दा बढी इन्जिनियरिङ कलेजका १ लाख ७० हजार विद्यार्थीबीच गरिएको परीक्षणको आधारमा यस्तो निष्कर्ष निकालिएको हो ।
“बितेका नौ वर्षदेखि भारतका इन्जिनियरहरूमा रोजगारीको लागि योग्यता अवस्थामा कुनै परिवर्तन आएको देखिएन । भारतको उच्च शिक्षामा व्यवस्थित परिवर्तनको खाँचो भएको छ ।”, प्रतिवेदनमा निष्कर्ष निकालिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *