भर्खरै :

अधिकारी भक्तपुर नपाका नयाँ प्रशासकीय अधिकृत

भक्तपुर, ११ चैत । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नयाँ प्रमुख प्रशासकीय अधिकृत यामलाल अधिकारीलाई सोमबार एक समारोहबीच भक्तपुर नगरपालिकामा स्वागत गर्नुभयो ।
उक्त स्वागत तथा परिचयात्मक कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाको उद्देश्य जनताको सेवा गर्ने र देशको उत्कृष्ट नपाको रूपमा स्थापित गर्ने बताउनुभयो । उहाँले जनप्रतिनिधिले बनाएको नीति सही तरिकाले कार्यान्वयन भए नगरपालिकाको हरेक काम सफल हुने बताउनुभयो ।
उहाँले भ्रष्टाचारविरोधी आन्दोलनको इतिहास बोकेको भक्तपुरका जनताबाट निर्वाचित जनप्रतिनिधिहरूले आर्थिक अनुशासनमा रही पार्टीको घोषणापत्रलाई मार्गनिर्देशक सिद्धान्तको रूपमा अगाडि बढाएको चर्चा गर्नुभयो । भक्तपुर नगरपालिकाले विकास निर्माणको कार्य ठेक्कामा नभई उपभोक्ता समितिमार्फत स्थानीय जनताको अपनत्व कायम हुने गरी काम गरिरहेको बताउनुभयो ।
प्रमुख प्रजापतिले मूर्तअमूर्त सम्पदाले भरिएको भक्तपुर नगरलाई ज्ञानविज्ञान र सांस्कृतिक केन्द्र बनाउँदै स्वच्छ, पर्यटकीय गन्तव्यस्थलको रूपमा विकास गर्ने बताउनुभयो ।
भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले भक्तपुर नगरपालिकाले नगरवासीको हितमा घरदैलो नर्सिङ सञ्चालन गरेको, नियमित सरसफाइ र भक्तपुरमै आँखा अस्पतालसहितको ख्वप अस्पताल खोल्ने तयारीमा रहेको जानकारी दिनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत यामलाल अधिकारीले भक्तपुर नपाले नियमसङ्गत काम गरिरहेको उल्लेख गर्दै सांस्कृतिक नगर निर्माणको निम्ति प्रतिबद्ध भई जनप्रतिनिधिहरूलाई सहयोग गर्ने बताउनुभयो । उहाँले भक्तपुर नगरपालिकाले देशकै उदाहरणीय र अनुकरणीय कार्य गरिरहेको बताउनुभयो ।
कार्यक्रममा भनपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवां, वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्व, भक्तपुर नपाका योजना प्रमुख रामगोविन्द श्रेष्ठ, निवर्तमान प्रमुख प्रशासकीय अधिकृत रोहितराज पोखरेल, नेपाल कर्मचारी समाजका अध्यक्ष गौतमप्रसाद लासिवाले पनि आ—आफ्नो विचार राख्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *