भर्खरै :

सन् २०१८ मा २१ लाखभन्दा बढी भारतीयमा क्षयरोग सङ्क्रमण

मुम्बई, ११ चैत । भारतमा सन् २०१८ मा क्षयरोगका सङ्क्रमित नागरिकको सङ्ख्या २१ लाख ५० हजार जना रहेका छन् ।
भारतको स्वास्थ्य तथा परिवार स्वास्थ्यसम्बन्धी मन्त्रालयले दिएको पछिल्लो जानकारीअनुसार भारतमा सन् २०१८ मा मात्र क्षयरोगका २१ लाख ५० हजार नागरिकमा सङ्क्रमण भएको छ ।
आइतबार उक्त मन्त्रालयले प्रकाशन गरेको एक विज्ञप्तिमा सो जानकारी दिइएको हो । तर, पहिलेको तुलनामा भारतमा क्षयरोगको उपचारमा सफलता प्राप्त भएको पनि सो विज्ञप्तिमा जानकारी दिइएको छ ।
यसअघि भारतमा कतिजना क्षयरोगी छन् भन्ने बारेमा स्पष्ट तथ्याङ्क नभएपनि अघिल्लो वर्षको तुलनामा भारतमा सन् २०१८ मा क्षयरोगको उपचारमा सफलता दरमा वृद्धि भएको बताइएको छ ।
अघिल्लो वर्षमा भारतमा क्षयरोगको उपचारको सफलताको दर २५ प्रतिशतमात्र रहेकोमा त्यसमा निकै नै वृद्धि भई सन् २०१८ मा भने ८३ प्रतिशतले वृद्धि भएको बताइएको छ ।
उक्त मन्त्रालयले दिएको जानकारीमा सरकारी प्रयास र त्यसमा निजी क्षेत्रका स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीका साथै यससम्बन्धी उपचारमा सरकारले अपनाएको नीति र विधिका कारण पनि यसको उपचारमा सफलता मिलेको बताइएको छ ।
यो कार्यक्रम र नीतिका कारण क्षयरोगको सङ्क्रमणको दरमा पनि कमी आएको मन्त्रालयद्वारा प्रकाशित उक्त विज्ञप्तिमा बताइएको छ ।
उक्त विज्ञप्तिअनुसार पहिलेका वर्षमा भारतमा क्षयरोग सङ्क्रमण हुने अथवा सर्ने दर २९ प्रतिशत रहेकोमा सन् २०१८ मा आइपुग्दा भने त्यसमा भारी मात्रामा गिरावट आई चार प्रतिशतमा झरेको छ ।
भारत सरकारले सन् २०२५ सम्ममा भारतबाट क्षयरोगको उन्मूलन गर्ने लक्ष लिएको जनाएको छ । पहिलेका वर्षको तुलनामा यस रोगको संक्रमण दरमा कमी आएका कारणले भारतबाट क्षयरोग उन्मूलनमा सफलता मिल्न सक्ने बताइएको छ ।
भारतमा क्षयरोगीको सङ्ख्या निकै धेरै रहेको छ । विश्वमा रहेका क्षयरोगीमध्ये एक चौथाई रोगी भारतमा मात्र रहेका छन् । विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कअनुसार क्षयरोग विश्वमा सबैभन्दा धेरै नागरिकको ज्यान लिने १० रोगमध्ये प्रमुखमा पर्दछ ।
विश्व स्वास्थ्य सङ्गठनको तथ्यांकअनुसार क्षयरोग विश्वमा सन् २०१७ मामात्र करिब एक करोड नागरिकमा क्षयरोगको संक्रमण भएको देखिएको थियो ।
त्यसैगरी उक्त सङ्गठनले दिएको जानकारीअनुसार सो वर्ष यस सङ्क्रमणबाट विश्वका १६ लाख नागरिकको ज्यान गएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *