भर्खरै :

दुई देशको सम्झौताअनुसार भेनेजुयलामा रुसी सैन्य सल्लाहकार

मस्को, १३ चैत (एजेन्सी) । रुसी महासङ्घले रुसी सैन्य सल्लाहकारहरू भेनेजुयला र रुसको बीचमा २००१ मा नै सम्पन्न सैनिक–प्राविधिक सम्झौताअनुसार भेनेजुयला पुगेको र त्यसलाई थप अनुमोदन गर्न नपर्ने बताएको छ । भेनेजुयलामा दुई सैनिक विमान सेना र सामग्रीसहित पुगेको समाचार सार्वजनिक भइरहँदा रुसको उक्त भनाइ आएको हो ।
रुसले भेनेजुयलासितको सम्बन्ध विकास देशको संविधान र अन्तर्राष्ट्रिय कानुनको पूर्ण परिपालना र सम्मानका साथ गरेको हो, कुनै हस्तक्षेप होइन ।” रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया झाखारोभाले भनिन् ।
दुई देशबीचको विद्यमान सैनिक–प्राविधिक सम्झौता रुस र भेनेजुयला दुवै देशको संसद्ले पहिल्यै स्वीकृत गरिसकेको र त्यसलाई लागू गर्न भेनेजुयलाको राष्ट्रिय सभाको थप स्वीकृति आवश्यक नरहेको पनि तिनले औँल्याइन् ।
भेनेजुयाली मामिलामा रुसले हस्तक्षेप गरेको भन्ने आरोपलाई प्रवक्ता झाखारोभाले अस्वीकार गर्दै अगाडि भनिन् – “वासिङ्टनले विपक्षी नेता ह्वान ग्वाइडोलाई भेनेजुयलाको संविधानविपरीत त्यस देशको वैधानिक राष्ट्रपतिको मान्यता दियो र ‘मानवीय हस्तक्षेप’ का नाममा सेना प्रवेश गराउन खोज्यो । उसले त्यो सबै आफूलाई मन नपरेको राष्ट्रपति निकोलस माडुरोको सरकारलाई सत्ताबाट हटाउन नै गरेको हो ।”
संरा अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनको ‘प्रजातन्त्र र कानुनी शासनको पश्चिम गोलाद्र्धको साझा लक्ष्यमा कुनै विदेशी शत्रु सेनाको हस्तक्षेप संरा अमेरिकाले सहनेछैन ।” भन्ने अभिव्यक्तिले ल्याटिन अमेरिका र क्यारिवियाली देशहरूप्रति संरा अमेरिकाको वास्तविक धारणा उजागर गरेको झाखारोभाले बताइन् ।
“ल्याटिन अमेरिका संरा अमेरिका आफ्नो विशेष स्वार्थ क्षेत्र सम्झन्छ, उसको आफ्नै आँगन सम्झन्छ र त्यहाँका देशबाट विनाप्रश्न आज्ञाकारिताको माग गर्दछ । त्यो भनेको उपनिवेशकालीन युगको कुख्यात मुनरो डक्ट्रिनको निरन्तरता हो । संरा अमेरिका अझै त्यही डक्ट्रिनमा अल्झिएको छ ।” तिनले भनिन् ।
“यदि अमेरिकीहरूले अरु देशलाई पश्चिम गोलाद्र्ध वरपर छिर्न नै मनाही गर्छन् भने तिनीहरू पूर्वी गोलाद्र्धमा के गर्दैछन् ?” भनी प्रश्न गर्दै प्रवक्ता झाखारोभाले युरोप, पूर्व सोभियत गणतन्त्र र बाल्कन देशहरूमा ठूलो अमेरिकी सैन्य उपस्थितिप्रति आश्चर्य प्रकट गरिन् ।
“सायद अमेरिकीहरू सोच्छन् कि उनीहरूले आफ्नो इच्छाअनुसार यहाँका देशका नेताहरू परिवर्तन गर्दा वा नचाहेकालाई मार्दा विश्वको यस भागका मानिसहरू उनीहरूप्रति कृतज्ञ हुन्छन् । संरा अमेरिका सोच्छ कि यहाँका जनता अमेरिकी बमवर्षक विमानका पंखामा जोडेर ल्याएको प्रजातन्त्र पर्खिरहेका हुन्छन् । इराकी, लिवियाली र सर्वहरूसित यसबारे सोध्नुस् ।” – ती प्रवक्ताले भनिन् ।
यसैबीच अमेरिकी तल्लो सदन–हाउस अफ कङ्ग्रेसले सोमबार नै भेनेजुयलामा रुसी प्रभाव कम र संरा अमेरिका र मित्रराष्ट्रहरूको सुरक्षा गर्नेसम्बन्धी विशेष ऐनको विधेयक पारित गरेको छ ।
“रुसी–भेनेजुयाली खतरा निवारण ऐन’ नाम दिइएको उक्त विधेयक रिपब्लिकन सांसद डेबी वासेरम्यान स्कुल्जले पेश गरेका थिए । उक्त ऐनले अमेरिकी राज्य विभागलाई खतराको मूल्याङ्कन गर्न र खतराबाट जोगिन आवश्यक लागेको कुनै पनि बेला सैनिक बल प्रयोग गर्ने अधिकार प्रदान गर्दछ । उक्त विधेयकलाई रिपब्लिकन बहुल सिनेटबाट पारित गर्न र राष्ट्रपति ट्रम्पले हस्ताक्षर गर्नमात्र बाँकी छ ।
संरा अमेरिकाले उक्त ऐन पारित गरेकोमा भेनेजुयाली विदेश मन्त्रालयले भने कडा आपत्ति जनाएको छ । भेनेजुयाली विदेश मामिलामन्त्री जर्ज अरेजाले त्यसलाई संरा अमेरिकाको साम्राज्यवादी सोचको उपज भनी कडा निन्दा गरेका छन् ।
“संरा अमेरिका, जुन देशले विश्वका ८ सत्न्दा बढी स्थानमा सैनिक आधार खडा गरेको छ, तीमध्ये अधिकांश ल्याटिन अमेरिकामा छन् र जुन देशले हरेक वर्ष सैन्य बजेट बढाउँदै प्रतिवर्ष ७ सय अर्बभन्दा माथि पु¥याएको छ, त्यस्तो देशले भेनेजुयलालाई खतरा देख्नु पाखण्डबाहेक अर्थोक होइन । त्यस ऐनले रुस र भेनेजुयलाबीचको सैनिक–प्राविधिक सहयोगलाई बिथोल्नमात्र खोजेको छ । उसलाई भेनेजुयलाको प्रजातन्त्रको चिन्ता होइन, यहाँ रहेको तेलको मात्र चाहना छ ।” – अरेजाले प्रस्ट पारेका छन् ।
यसैबारे चीनले पनि आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । चीनको विदेश मन्त्रालयका प्रवक्ता गेङ शुयाङले मङ्गलबार चीनको धारणा सार्वजनिक गर्दै ल्याटिन अमेरिकी देशहरू सार्वभौम देशहरू भएका र कुन–कुन देशसित कारोबार गर्ने र सहकार्य गर्ने भनी आफै निर्णय गर्नसक्छन् भनेका छन् । चीनले “ल्याटिन अमेरिका कुनै देशको स्वामित्वमा होइन र कसैको आँगन पनि होइन ।” भनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *