भर्खरै :

स्वदेशीलाई बेवास्ता विदेशीलाई सुविधा

समृद्धि र विकासको नारा दिएको वर्तमान सरकारले विदेशी लगानी भित्याउने नाममा स्वदेशी पुँजी प्रबद्र्धनलाई बेवास्ता गरिरहेको छ । कुनै पनि देशको विकासका लागि विदेशी पुँजी उत्तोलकमात्र हुनसक्छ । स्वदेशी पुँजी नै कुनै पनि देशको दिगो विकास र वास्तविक समृद्धिको आधार हो । तर, सरकारले भने विदेशी पुँजी भित्याउने नाममा स्वदेशी पुँजीलाई भन्दा विदेशी पुँजीलाई सेवा सुविधा दिने नीति अख्तियार गरेको छ । ठूलो विदेशी लगानी भित्याउने उद्देश्यले यही चैत १५ र १६ गते काठमाडौँमा हुने लगानी सम्मेलनको पूर्वसन्ध्यामा सरकारले यस्तै सङ्केत गरेको छ ।
विगतको लगानी सम्मेलनमा प्रतिबद्धता गरिएभन्दा धेरै कम लगानीमात्र भित्रिएको भन्दै यस पटकको लगानी सम्मेलन अगाडि विभिन्न नीतिगत निर्णय र ऐन संशोधनमार्फत सरकारले विदेशी लगानीको लागि विशेष सहुलियत र कर छुटको व्यवस्था गरेको बताइएको छ । यसपटकको स्थिति फरक हुने दाबी पनि सरकारको छ । तर, विदेशी लगानीकर्ता आउनुमा स्वदेशी लगानीकर्ता कति खुसी छन् भन्ने महत्वपूर्ण पक्ष हुन्छ । स्वदेशी लगानीकर्तालाई सहज अवस्था नरहेको देशमा विदेशी लगानीकर्ता नआउने र आए पनि केही वर्षभित्रै निराश हुने गर्दछ । अर्थविज्ञहरू स्वदेशी पुँजीले नै लगानीको अवसर नपाएको र नाफामूलक क्षेत्रमा विदेशी लगानीको प्रवेशले स्वदेशी पुँजी वा लगानी झनै किनारामा पर्दै जाने बताउँछन् । सरकारले हालै जलविद्युत्मा लगानीको लागि आह्वान गर्दा केही दिनभित्रैमा आवश्यकभन्दा दोब्बर–तेब्बर शेयर खरिदको आवेदन पर्नुले देशभित्रै पुँजी रहेको तर त्यसको सही तवरले सङ्कलन र लगानी हुन नसकेको अवस्था पुष्टि गर्छ ।
विदेशी लगानी भित्याउने नाममा सरकारले आवश्यकताभन्दा बढी सहुलियत दिएको र स्वदेशी पुँजीलाई डुबाउने अवस्थामा पु¥याउन लागेको कथन नेपाली उद्योगी व्यवसायीको छ । उनीहरू भन्छन्, “सरकारले विदेशी लगानी भित्याउन कानुन अलि सहज बनाउनु राम्रो हो । तर, विदेशी लगानी भित्याउने नाममा स्वदेशी लगानीलाई बेवास्ता गर्नहुँदैन । हामी स्पष्ट के पार्न चाहन्छौं भने स्वदेशी लगानीले भन्दा विदेशी लगानीले बढी सुविधा पाउनुहुँदैन । विदेशी लगानीकर्ताले पाउने सुविधा स्वदेशीले पनि पाउनुपर्छ । विदेशी र स्वदेशी लगानीलाई फरक व्यवहार गरे भविष्यमा नकारात्मक परिणाम देखिने छ । हरेक देशले विदेशी लगानी आवश्यक नपर्ने क्षेत्र तोकेका हुन्छन् । घरेलु र मझौला उद्योगमा विदेशी लगानी नरोक्ने हो भने धेरै नेपाली उद्योगी र व्यवसायीहरू विस्थापित हुनसक्छन् ।”
विदेशी पुँजी भित्र्याउने नाममा अर्थतन्त्रका सबै क्षेत्रका ढोका खुला गर्नु ठीक हुनेछैन । विदेशी लगानी नेपालमा जनताको सेवा गर्न आउने होइन । नाफाकै लागि लगानी हुने हो । जनताको जीवनस्तरमा नकारात्मक असर पार्ने, नेपाली आफैं सक्षम भएका क्षेत्र, वातावरणीय सन्तुलन प्रभावित पार्ने र जनताका दैनिक जीवनसँग प्रत्यक्ष जोडिएका क्षेत्रमा विदेशी लगानीलाई ढोका खोल्नु कालान्तरमा देशको हितमा हुनेछैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *