भर्खरै :

नेवार समुदायमा छाउपडी

सुशिला श्रेष्ठ
नेपालको मध्य पश्चिमाञ्चल र सुदूर पश्चिमाञ्चलमा महिनावारी भएका महिलालाई अलग छाउ गोठमा राखिने प्रथाबारे थाहा नहुने नेपाली कमै होला । छाउगोठमै धेरै महिला सर्पले डसेर, जङ्गली जनावरको आक्रमणमा परेर, निस्सासिएर, रोग लागेर मृत्युवरण गर्नुपरेका समाचार सञ्चारमाध्यमले प्राथमिकताका साथ प्रचार गरेपछि छाउप्रथाबारे धेरैले थाहा पाए । सडकदेखि संसद्सम्म यसको विरोध पनि भयो । स्थानीय सरकारदेखि सङ्घीय सरकारसम्मले यस्ता कुप्रथा रोकथामको लागि पहल पनि गरेका छन् ।
तर, महिनावारी हुँदा महिलामाथि विभेद गर्ने कुप्रथा भने मध्यपश्चिमाञ्चल र सुदूर पश्चिमाञ्चलमा मात्र सीमित छैन । देशका सबै जातजाति र क्षेत्रमा कुनै न कुनै रूपमा महिनावारी हुँदा महिलामाथि विभेद हुने गरेका छन् । नेवार समुदायमा महिनावारी हुँदा महिलामाथि हुने विभेदका केही उदाहरण हेरौँ –
–आफ्नो हजुरबुबाको वार्षिकीको दिन आकृति घरबाहिर मुख निन्याउरो पारेर टोलाइरहेकी थिइन् । आफन्तसँगै परिवारका सबै सदस्य घरभित्र निकै व्यस्त रहेका समयमा उनी भने एक्लै बाहिर बसिरहेको देखेर सोधियो, “किन के भयो ? भित्र किन नगएकी ?” प्रश्नले अलि अप्ठ्यारो पारेको उनको अनुहारमा देखियो ।
असजिलो मान्दै उनले भनिन्, “म नछुने भएकी छु ।”

–मनकामना पुगेर फर्केका आमा बुबाले सबै परिवारका सदस्यलाई प्रसाद बाँडिरहेका थिए । शोभाले पर बसेर सबैले टीका लगाएको, प्रसादमा नरिवल लिंँदै गरेको टुलुटुलु हेर्दै थिइन् । आमाबुबाकी प्यारी एक्ली छोरी शोभा भने आधा खुसीमात्र महसुस गरिरहेकी थिइन् किनभने उनको महिनावारी भएको छ ।

–कृष्णा पहिलोपटक दोलखा जिल्लाको भीमसेन स्थान पुगेकी थिइन् । काठमाडौँ उपत्यकाबाहिर कमैमात्र ठाउँको यात्रा गरेकी उनलाई दोलखाको भ्रमण नौलो लागिरहेको थियो । तर, दोलखा भीमसेनस्थान पुगेपछि भने उनी मन खिन्न बनाएर फर्किन् किनभने त्यहीँ पुगेर उनको ‘मिन्स’ भयो । मन्दिरभित्र पस्नुहुन्न भन्ने मान्यताले उनलाई मन्दिरबाहिर बस्नुप¥यो । त्यसो त मठमन्दिर र मूर्तिपूजा आफैमा अन्धविश्वास हो । अन्धविश्वासले छाउपडी प्रथालाई अझ बलियो बनाउने काम गरेको छ । हामीले भौतिकवादी दृष्टिकोण राखेर समाजलाई सही मार्ग दिने प्रयत्न गर्नैपर्छ ।
केही परिवारमा महिनावारी भएको चार दिनसम्म महिलालाई भान्छामा पस्नसमेत निषेध गरिएको हुन्छ । पूजाआजा र पर्वको समयमा महिनावारी भएकी छोरी बुहारीले ल्याएको फूल र पानीसमेत अपवित्र मानिन्छ । समयसँगै धेरै चलन र परम्परामा सुधार हुँदै गएको देखिन्छ । तर, महिनावारी हुँदा महिलामाथि गरिने भिन्न व्यवहारमा भने कुनै प्रकारको सुधार हुन सकेको छैन । मध्यपश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चलका महिलाले भौतिक छाउगोठमा बसेर विभेद महसुस गरिरहेका छन् भने नेवार समुदायका महिलाहरू सांस्कृतिक र मनोवैज्ञानिक छाउगोठ भोगिरहेका छन् ।
नेवार समुदायमा छोरीलाई रजस्वला हुनुअघि बाह« दिन कुनै घाम नपस्ने कोठामा बन्द राख्ने परम्परा छ । यस्तो परम्परालाई ‘बारा राख्ने’ भनिन्छ । आजभोलि यसलाई ‘गुफा राख्ने’ पनि भन्न थालेका छन् । बाह« दिन बारा राखिएकी चेली रजस्वला भइसकेपछि उसले महिनावारी हुँदा तोकिएका हरेक निषेधको पालना गर्नुपर्ने सामाजिक मूल्य मान्यता छ ।
शैक्षिक र सांस्कृतिकरूपमा अघि बढेका महिलाहरूसमेत महिनावारी हुँदा तोकिएका ‘अनुशासन’ पालना गरिरहेका हुन्छन् । महिनावारी कुनै अपवित्र विषय होइन, बरु यो प्राकृतिक विषय हो भन्ने कुरा बुझेका महिलाहरूले यस्ता निषेध पालना गर्नुको प्रमुख कारण समाजले देखाउने डर नै हो । महिनावारी भएकी छोरीले छोएको फूल अछेताले पूजा गर्दा ‘भगवान रिसाउने’ र ‘अनिष्ठ हुने’ भनी समाजले देखाएको भयकै कारण पनि कतिपय महिलाले यसको पालना गरिरहेका हुन्छन् ।
महिनावारीलाई अपवित्र मान्ने समाजको चिन्तन नै यो कुप्रथाले निरन्तरता पाउनुको प्रमुख कारण देखिन्छ । जसरी दिसा पिसाब शरीरबाट निष्काशन हुन्छ, त्यसरी नै महिनावारी पनि शारीरिक प्रक्रिया हो, यसमा कुनै अपवित्रताको कुरा छैन भन्ने वैज्ञानिक सत्यलाई समाजको परम्परागत चिन्तनले स्वीकार्न सकेको छैन । आजसम्मका सरकारहरूले समाजको चेतनास्तर उठाउन कुनै भूमिका ननिभाएको यसबाट पनि प्रस्ट हुन्छ ।
महिनावारी भएकी महिला कुनै पनि कोणबाट अपवित्र होइन, बरु ‘पवित्र’ हो भन्ने कुरा समाजले नस्वीकार्दा आज पनि नेवार समुदायमा यस्ता कुप्रथा चलेकै छ ।
नेवार समुदायको सबभन्दा ठूलो पूजा भनेको दिगु पूजा हो । यसलाई कुल देवताको पूजा भनेर पनि बुझ्न सकिन्छ । कुल पुजाको अर्थ आफ्ना पुर्खाप्रतिको आदर पनि हो । पुर्खा र आफ्नो इतिहासको सम्मान गर्ने यो दिनमा महिनावारी भएकी महिलालाई ‘अपवित्र’ भनी सबै प्रक्रियाबाट टाढा राखिन्छ । कुल देवता पूजा गर्ने त परको कुरा, पूजामा छायामात्र पर्दा पनि बलि दिन ठिक्क पारिएको बोका नपर्सिने त्रसित मनोविज्ञानले काम गरेको हुन्छ । जबकि कुनै पनि बोका पर्सिनु वा नपर्सिनुका आफ्नै वैज्ञानिक कारण हुन्छ ।
महिनावारीको समयमा महिला शारीरिक र मनोवैज्ञानिक दुवै हिसाबले कमजोर बनेका हुन्छन् । त्यस्तो अवस्थामा उनले समाजले कोरेका यस्ता निषेधलाई तोड्ने हिम्मतसमेत गर्न सक्दिनन् ।
पश्चिम नेपालमा छाउप्रथा अवैज्ञानिक प्रथा भएको कुरा थाहा पाउने शिक्षक शिक्षिका र विभिन्न एनजीओमा काम गर्ने पढेलेखेका महिला कार्यकर्ता, जनप्रतिनिधिसमेतले ‘नछुने’ हुँदा छाउगोठमै बस्नुको कारण डर नै हो । देवता रिसाउने र कुनै अनिष्ठ हुने सामाजिक विश्वासका कारण पनि त्यही यो कुप्रथा हो भन्ने थाहा पाएर पनि समाजले यसको जरा उखेल्न सकिरहेको छैन । त्यस्तै महिलालाई पुरुषभन्दा कमजोर मान्ने सुषुप्त मानसिकता नै यसको जरा हो । नेवार समुदायमा पनि मूलतः यही त्रासको मनोविज्ञानले काम गर्दा महिनावारीसम्बन्धी अवैज्ञानिक परम्पराले निरन्तरता पाएको छ ।
मानिसको सोच ऊ बसेको समाजअनुसार नै हुन्छ । समाजले बच्चैदेखि जे सिकायो, त्यो बदल्न निकै गा¥हो हुन्छ । सिमोन दी बुआरले आफ्नो पुस्तक द सेकेन्ड सेक्समा यही कुराको चर्चा गरेकी छिन् । हाम्रो समाजले बच्चैदेखि नै महिनावारी अपवित्र कुरा हो भन्ने सोच्ने बनाइदिएको छ । त्यसकारण हामीले महिला स्वयम् नै वास्तवमै यो अपवित्र कुरा हो भन्ने सोच्ने गर्छौं । फोहोर रगतलाई हामी अपवित्र मानिदिन्छौँ र त्यसको निष्काशनलाई अपवित्र मान्छौँ । अनि त्यही कारण समाजले हामीमाथि थोपरेको कुपरम्परालाई चुपचाप सहिदिन्छौँ ।
छाउपडी प्रथाको चर्चा चल्दै गर्दा विशेषतः सहरी क्षेत्रमा बसोबास गर्ने नेवार समुदायमा व्याप्त यस्तो मनोवैज्ञानिक र सांस्कृतिक छाउपडी प्रथा भत्काउने विषयमा छलफलको थालनी आवश्यक छ । यहाँ नेवार समुदायमै केन्द्रित भएर मनोवैज्ञानिक र सांस्कृतिक छाउपडीको कुरा गरियो । तर, नेपालमा लगभग सबै जाति समुदायले महिनावारीलाई अपवित्र मानी महिनावारी भएकी महिलालाई विभेद गर्ने गरेको छ । कुनै समुदायमा केही कडा र कुनै समुदायमा केही खुकुलो हुनसक्छ । अझ कुनै परिवारमा कडा र कुनै परिवारमा खुकुलो हुनसक्छ । तर, यो अवैज्ञानिक परम्परा हो । यसलाई भत्काउन जरुरी छ ।
महिनावारी हुनु पवित्र र स्वस्थ हुनु हो, यसमा अपवित्रताको कुनै कुरा छैन भन्ने मान्यतालाई स्थापित गरी महिलामाथिको सांस्कृतिक र सामाजिक विभेदलाई क्रमशः कमजोर बनाउन आवश्यक छ । शिक्षित आमाहरूले आफ्ना छोरीहरूलाई अवैज्ञानिक चिन्तन हस्तान्तरण गर्न रोक्नुपर्छ । परम्पराको निरन्तरता त्रासमा आधारित भएर होइन, बरु वैज्ञानिकताको आधारमा गर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *