यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
नीरज लवजू
पहिलो दिन २५ फेब्रुअरी २०१९(१३ फागुन २०७५)
चीनको सिन्च्याङ प्रान्तको राजधानी उरुम्चीको होटेल हिल्टनको एघारौं तल्लाको कोठा नं ११०८ । कोठाको झ्यालबाट हेर्दा सहर पूरै हिउँले सेतै देखिन्थ्यो । सहरैभरि मैदा पोखिएजस्तो । एकैछिन अघि होटेलको प्राङ्गणमा जम्मा भएको हिउँमा उभिएर तस्वीर खिच्यौं । बाहिरको तापक्रम माइनस ४ डिग्री थियो । एकैछिन उभिँदा पनि टाउको दुखेको अनुभव भयो । स–साना भुवाजस्ता हिउँका कणहरू अझै झरिरहेका थिए ।
हिउँपर्ने ठाउँमा केही दिन बस्नलाई रमाइलो, सधैं बस्नलाई कष्टकर हुन्छ रे ! होटलको न्यानो वातानुकूल कोठामा बसेर बाहिर देखिने छानामा थुपे्रको हिउँकोे सेतो च्यादर हेर्न रमाइलै थियो ।
कम्तीमा दुई–तीन दिन हिउँले लपेटिएको सिन्च्चाङमा बस्नु थियो । चिनियाँ समयअनुुसार बिहान ८ बजे क्वानचाओबाट उडेको चाइना साउथनको विमान सिन्च्याङ पुग्दा दिउँसोको १ बजिसकेको थियो । झण्डै साढे पाँच घण्टाको विमानयात्रा पनि झिँझोलाग्दो थियो । आकाशबाट अधिकांश समय मरुभूमिको दृश्य देखिएको थियो । उरुम्ची अवतरण गर्न केही समयअघि भने हिउँले ढाकेका सेता र चम्किला पहाडका थुम्का देखिएका थिए । अघिल्लो रातको अपुरो निद्रा विमानमा पु¥याइयो । विमान परिचारिकाले दिएको गोलभेँडाको लेदो मिसाइएको भात त्यत्ति स्वादिलो लागेन । क्वानचाओ विमानस्थलको अतिथिगृहमा खाएको मकै र पातले बेरेको भात अनि मासुको टुक्राको अनौठो परिकारले नै पेट भरिएको थियो ।
उरुम्ची विमानस्थलमा चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका केही पूर्वपरिचित र धेरै नयाँ साथीहरू हाम्रो आगमनको प्रतिक्षामा थिए । क्वानचाओदेखि आठ जनाको बङ्गलादेशी प्रतिनिधिमण्डल पनि हामीसँगै थिए । नेपाली र बङ्गलादेशी प्रतिनिधिमण्डल अलग–अलग गाडीबाट होटेल आयौं । बाहिर चिसो भए पनि कोठामा तातो पानीले नुहाएँ ।
चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समिति अन्तर्राष्ट्रिय विभागको आमन्त्रणमा सिन्च्याङ र युनानमा हुने कार्यक्रममा नेपाल मजदुर किसान पार्टीको तर्फबाट सहभागी बन्न हिजो नेपाली समयअनुसार राति ११ः४० बजेको चाइना साउथन एयरलायन्सको विमानबाट क्वानचाओको लागि उडेका थियौं । क्वानचाओ विमानस्थल पुग्दा नेपाली समयअनुसार बिहानको ३ः३० बजेको थियो । चीनमा भने त्यत्तिबेला ५ः३० बजिसकेको थियो । हामीलाई स्वागत गर्न चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका मई चिङ विमानस्थलको अतिथिगृहअघि बसेका थिए । सुरेन्द्र दाईलाई एकै नजरमा चिनिहाले । “अहो, तपाईं त कति पनि फेरिएको देखिनुभएन ।”, मईले सुरेन्द्र दाईलाई हार्दिकतापूर्वक स्वागत गर्दै भने । मलाई भने मईले बिर्सेछन् सायद । सन् २०१३ मा चीनमा भएको ‘दक्षिण एसियाको सन्दर्भमा समाजवाद’ विषयक दक्षिण एसियाली देशहरूका समाजवादी र कम्युनिष्ट पार्टीहरूको सम्मेलनमा भाग लिन चीन आउँदा हाम्रो टोलीको व्यवस्थापन गर्ने जिम्मेवारीमा मई नै संयोजक थिए । झण्डै आठ दिनसँगै चीनका विभिन्न स्थान पुगेका थियौं । त्यत्तिबेलाको तुलनामा म अलि बदलिएँ कि ! अलि मोटाएर हो कि मलाई मईले चिनेनन् । उनीसँग कुरा गर्ने मेसो जुरेको थिएन । प्रसङ्ग आउँदा त्यत्तिबेलाको कुरा सम्झाउने विचार गरेँ । तर, त्यत्तिबेला त्यही टोलीका अनुवादक थान वेईले भने उरुम्ची विमानस्थलमा देख्नेबित्तिकै चिनिहाले । सायद उनीसँग सन् २०१७ मा येनान र पेइचिङमा भेट भएकाले पनि होला, उनले भने मलाई बिर्सन पाएनन् ।
चीनको सिन्च्याङ प्रान्त बेला–बेला सञ्चारमाध्यममा आइरहने ठाउँको नाम हो । कीर्गिस्तान, पाकिस्तान, मंगोेलिया, भारतलगायत विभिन्न देशसँग सिमाना जोडिएको यो प्रान्तमा उइगुर मुसलमान समुदायको बाहुल्य छ । भौगोलिक रुपमा चीनकै सबभन्दा ठूलो प्रान्त सिन्च्याङको कूल जनसङ्ख्याको ४२ प्रतिशत उइगुर मुसलमान समुदायका छन् । चीनविरुद्ध पूर्वाग्रही केही पश्चिमा सञ्चारमाध्यमले सिन्च्याङलाई तिब्बतजस्तै चीनको अर्को कमजोरीको रुपमा अनेकानेक प्रचार गरिरहेका हुन्छन् । तिब्बतबाट जसरी दलाई लामालाई उक्साएर चीनविरोधी गतिविधि भड्काउन पश्चिमा शक्ति लागिरहेका छन्, सिन्च्याङमा पनि केही मुसलमान समुदायका मानिसलाई अघि राखेर उपद्रवी गतिविधि गर्ने प्रयास गरिरहेका हुन्छन् । झण्डै दसक अघि राबिका काडिरालाई अघि सारेर पश्चिमा देशहरूले मानवअधिकार उल्लङ्घनको विषयलाई चीनविरुद्ध भड्काउन खोजेका थिए । तर, त्यस्ता अनेकन प्रयास आजसम्म खेर गएका छन् ।
केही साताअघिमात्र टर्कीको विदेशमन्त्रालयले पनि सिन्च्याङको मानवअधिकार अवस्थाबारे बोलेको थियो । चीन सरकार र चीनका सञ्चारमाध्यमले त्यसबारे गतिलो जवाफ फर्काएको थियो । सिन्च्याङको पृथकतावादी मुद्दालाई उछाल्न केही समयअघिमात्र चीन सरकारले जेल सजाय दिएका एक जना लेखकलाई नोबेल शान्ति पुरस्कार दिने सिफारिस भएको समाचार प्रकाशित भयो । त्यसको प्रतिक्रियामा चीनका मिडियाले नोबेल पुरस्कारको पवित्र आदर्शलाई ओझेलमा पार्दै पश्चिमा शक्तिले त्यो पुरस्कारलाई राजनीतिक रङ्ग दिन खोजेको भन्दै आपत्ति जनाएका थिए ।
यस्ता समाचार सञ्चारमाध्यममा झण्डै नछुट्ने गरी आइरहन्छन् ।
पश्चिमाहरू सिन्च्याङलाई अस्थिर र असुरक्षित प्रान्तको रुपमा चित्रण गर्ने ठूलो प्रयास गर्दै आएका छन् । पश्चिमाहरूले गरेका यस्ता प्रचारबाजीलाई बोलेरभन्दा व्यवहारमा असत्य सावित गर्न नै चीनले जनजाति नीतिमा आफूले हासिल गरेका सफलताबारे संसारलाई जानकारी दिन यो कार्यक्रमको आयोजना गरिएको देखियो ।
निर्धारित समय साँझको साढे ६ बजे होटेलको लब्बीमा पुग्दा ठूलो सङ्ख्यामा विभिन्न देशका प्रतिनिधिहरू देखिए । उनीहरू सबै हामी सहभागी बन्ने अल्पसङ्ख्यक आदिवासी जनजातिसम्बन्धी कार्यक्रमका लागि आएका थिए । संसारका विभिन्न देशको कम्तीमा तीन सय प्रतिनिधिहरूको सहभागितामा मुख्य कार्यक्रम हुने जानकारी दिइयो ।
नेपाली टोलीलाई सहयोग र समन्वय गर्ने जिम्मेवारी ‘प्रसन्ना’ नेपाली नाम भएकी चिनियाँ मित्रले पाएकी थिइन् । नेपाली भाषा बोल्न जान्ने प्रसन्ना केही वर्ष काठमाडाँैस्थित चिनियाँ इतावासमा पनि काम गरेकी थिइन् । भन्दै थिइन्, उनलाई नेपाली भाषा सिक्न चार वर्ष लाग्यो ।
साँझ उरुम्चीको केन्द्रमा रहेको ग्रान्ड इन्टरनेशनल मार्केटमा लगियौं । विशेषतः सिन्च्याङका आदिवासी मुसलमान समुदायको परम्परा, कला–संस्कृतिसँग सम्बन्धित सामग्रीको बजार थियो । ग्रान्ड मार्केटको मुख्य चोकैमा हरेक दिन स्थानीय कलाकारहरूले लोक सांस्कृतिक कार्यक्रम गर्छन् । हामी ग्रान्ड मार्केट पुग्दा कलाकार र गायकहरू सांस्कृतिक प्रस्तुति देखाइरहेका थिए । त्यही बजारको मध्तगमा ठूलो मुसलमान मस्जिद छ । केही पाका उमेरका आमाहरू आफ्ना परम्परागत पहिरनमा नाचिरहेका थिए । सङ्गीतको कुनै भाषा हुँदैन, सङ्गीत आफैं विश्व भाषा हो भनिन्छ । कलाकारहरूको तालमा प्रतिनिधिमण्डलका केही सदस्यहरू पनि खूब रमाएर नाचेका थिए ।
ग्रान्ड मार्केटमै रहेको एउटा प्रेक्षालयमा खानपिन र सांस्कृतिक कार्यक्रमको पनि आयोजना गरिएको थियो । प्रेक्षालयमा पुग्दा सयौं मानिस खानपिनमा व्यस्त थिए । खानपिनको लगभग अन्त्यतिर परिचारिकाहरूले हामीलाई केही मौलिक आदिवासी बाजा हातमा थमाइदिए । डम्फु, खैजडी र फलामे झ्यालीचा पे्रक्षालयमा उपस्थित लगभग सबै सहभागीलाई दिइयो । अनि सुरु भयो–सांस्कृतिक कार्यक्रम । सिङ्गो कार्यक्रम नै आदिवासी संस्कृतिसँग जोडिएको थियो । विशेषतः सिन्च्याङ र युनान प्रान्तका अल्पसङ्ख्यक जनताका मौलिक संस्कृतिमा आधारित नाच र गीतहरू प्रस्तुत गरिए । कलाकारहरूका ऊर्जाशील हँसिला मुहारले सांस्कृतिक कार्यक्रममा गाइएका गीतको भाषा नबुझ्दा पनि सबै रमाइरहेका थिए ।
सहभागीलाई पनि गीत र नृत्यमा भाग लिन कलाकारहरूले अनेक तरिकाबाट उत्साहित गरेका थिए । कुनै कुनै नाचमा त कलाकार भन्दा पनि दर्शक बढी नाचिरहेका थिए । आदिवासी अल्पसङ्ख्यकको कला संस्कृति र परम्परा जोगाउने यो आफैंमा गतिलो उपाय थियोे । सांस्कृतिक कार्यक्रममा मनोरञ्जनका पाटा त छन् नै, साथै सिकाइको पनि काम भइरहेको थियो । आज प्रस्तुत सांस्कृतिक कार्यक्रम र ग्रान्ड मार्केटको भ्रमण आफैं पनि आदिवासी जनजाति र अल्पसङ्ख्यक जातिको लागि चीन सरकारले गरेका काम र तिनबाट प्राप्त उपलब्धिको प्रतिबिम्ब थियो । चितवनमा थारुहरूको लठ्ठी नाच होटेलहरूमा प्रदर्शन गरिँदा त्यो नाच संसारभर प्रचार भयो । साथै त्यसबाट केही स्थानीय मानिसहरू रोजगार बने । साथै लठ्ठी नाचको सम्बद्र्धन पनि भयो । काठमाडाँै उपत्यकामा पनि यहाँका मौलिक नाच र संस्कृतिमार्फत कलाकारहरूलाई रोजगारी दिन सके संस्कृतिको संरक्षण हुनुका साथै समयअनुसारको उपयोग पनि हुने थियो ।
कार्यक्रम सकेर होटेल फर्कंदा लगभग चिनियाँ समयअनुुसार १० नाघिसकेको थियो । बाहिरको चिसो निकै बढिसकेको थियो । तर, सडकका दुवै छेउका नाङ्गा विरुवा झिलिमिली बत्तीले शृङ्गारिएका थिए । वीच्याटमार्फत नेपालमा केही साथीहरूसँग कुराकानी भयो ।
उरुम्ची सहर चीनको राजधानी पेइचिङबाट धेरै टाढाको सहर भएको, बेलाबेला उपद्रवका समाचार आइरहने उत्तरी भागको सहर भएकाले तुलनात्मक रुपमा पछाडि परेको सहर होला भन्ने पूर्वानुमान गरिएको थिो । तर, त्यो पूर्वानुमान यहाँको अवस्था देख्दा गलत प्रमाणित भयो । हिउँले ढाकेको यो सहर मध्यरातमा पनि उत्तिकै चालु देख्दैछु । सडक छेउछाउका रुख बत्तीले झिलिमिली बलेका छन् । हिउँको थुप्रो प्रकाशमा अझ सुन्दर देखिने रहेछ । माटोजस्तो अँध्यारो होइन, झिसमिसे उज्यालो ।
कोठामा राखिएको किट्लीमा पानी उमालेर कफी पिउँदै मध्यरातको उरुम्चीलाई टाढा टाढासम्म हेर्दै थिएँ । अगाडिको विशाल भवनमा विभिन्न रङ्गविरङ्गका आकृतिहरू नाचिरहेका थिए ।
२६ फेब्रुअरी २०१९(१४ फागुन २०७५)
बिहान उठेर झ्याल बाहिर हेर्दा लागेको थियो–भर्खर ३–४ बजेको हुनुपर्छ । सिरानमा राखिएको घडी हेर्दा ७ बजिसकेको थियो । काठमाडाँैमा त ७ बज्दासम्म घाम टाउकैमा चढिसकेको हुन्थ्यो । सिन्च्याङको आकाश त त्यत्तिञ्जेल अँध्यारो नै थियो । ८ बजे बिहानको खाना (बे्रकफास्ट) खान जम्मा हुने खबर हिजो बेलुकी नै दिइएको थियो । हामीले समयको पालना नगर्दा आयोजक साथीहरूलाई गा¥हो हुने थियो । हतार हतार नुहाएर बिहानको चिया खान निस्कियौं । होटलकै पहिलो तल्लाको रेष्टुराँयु क्याफेमा ।
बिहान बाहिर कतै स्थलगत भ्रमणको कार्यक्रम थियो । भनिएको समयमा होटलको लब्बीमा पुग्दा सयौंको सङ्ख्यामा विभिन्न देशका प्रतिनिधिहरू आयोजकले बनाएका अलग–अलग स्थलगत अवलोकन भ्रमण कार्यक्रममा सहभागी बन्न भेला भइसकेका थिए ।
चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिअन्तर्गतको अन्तर्राष्ट्रिय विभागका युवाहरू आ–आफूलाई जिम्मा दिइएका विदेशी प्रतिनिधिमण्डलको चाँजोपाँजो मिलाउनमा लागेका थिए । फरक–फरक देशका भाषा बोल्न जान्ने भर्खर २०–२५ वर्षका युवा–युवतीहरू निकै व्यस्तताका साथ आ–आफ्ना जिम्मा पूरा गर्न लागेका थिए । नेपाली भाषा बोल्न जानेकी प्रसन्ना भने हामी सबै भेला भयौं कि भएनौं भनी गन्ती गर्दै थिइन् ।
चीनसँग संसारका सबै भाषामा संवाद गर्न सक्ने युवाहरू मात्र पनि धेरै सङ्ख्यामा हुनुपर्छ । लगभग सबै भाषा जान्ने युवाहरू अङ्ग्रेजी भाषामा संवाद गर्न सक्छन् । अर्थात कम्तीमा उनीहरूलाई तीन वटा भाषाको राम्रो ज्ञान छ । भाषाको ज्ञानले मानिसको मनको कुरा पनि जान्ने क्षमता राखेको हुन्छ । चीनसँग संसारभरका भाषा बोल्न जान्ने नयाँ पुस्ता हुनु नै पनि चीनको ठूलो सम्पत्ति हो । उनीहरूले विश्वविद्यालयबाटै व्यवस्थित रुपमा निश्चित भाषामा योजनाबद्ध तरिकाबाट कुनै न कुनै भाषा सिकेका हुन्छन् । अनि आफूले जानेको भाषामार्फत आफ्नो देशको सेवा गर्छन् । नेपाल सरकारले संसारभरका सबै भाषाको नसके कम्तीमा नेपालसँग कूटनीतिक सम्बन्ध भएका देशका प्रमुख भाषा नयाँ पुस्तालाई सिकाउन सके पनि नेपालको कूटनीतिमा ठूलो प्रगति हुनेथियो । नेपालका हजारौं युवाले आफ्नो भाषा शिल्प प्रयोग गरी देशको सेवा गर्ने थिए । विदेशीको मन जितेर देशको सेवा गर्न सक्नेछन् । चीनले आज त्यही गरिरहेको छ ।
बाँकी भोलिको अङ्कमा
Leave a Reply