मार्गनिर्देशनबारे भाइबहिनीलाई चिठी–६
- चैत्र ३०, २०८२
चिन्मय
साहुनीको अनुहार बत्तीले धपक्क बलेको थियो । तर पल्लो कुनामा एउटा प्राणी बसेको झट्टै मानिसहरूले पत्तो पाउँदैनथे । होटलको पछिल्लो कुनामा सिमेन्टीको आलीजस्तो बनाएर भाँडा माझ्ने ठाउँ छुट्टाइएको थियो । त्यहाँ बसेको थियो लाउने खाने उमेरको भएर पनि सबै रहर मनमै गुम्साउन पुगेको माने । अनुहार गहुँगोरो भएपनि यहाँ उसको अनुहार अँध्यारो देखिन्थ्यो । उसका अघिल्तिर खाजा खाएका जुठा प्लेट र गिलासहरू असरल्ल फिँजारिएका थिए । त्यस्तै लेउ लागेर कलेटी पर्न थालेको निलो ड्रमको पानी आधा फुटेको टुटीबाट एकोहोरो बगिरहेको थियो ।
मानेका हातले मेसिनजस्तै एकसुरले प्लेट माझिरहेका थिए । तर कान भने देब्रे कुनामा मुखामुख भएर सासै सासमा कुरा गरिरहेका व्यक्तिहरूतिर तानिएका थिए । उनीहरू दुवैजना आजभोलिको चल्तीको नेतावाल इष्टकोटमा ठाँटिएका थिए । केटातिर फर्केकाको अनुहारमा बत्तीको उज्यालो परेको थिएन । सेतो इष्टकोट लगाएको ऊ गोरो थियो कि कालो ठम्याउन सकिन्नथ्यो । ऊ पत्रिकामा छापिएका तस्वीरहरू औँलाले हान्दै आत्तिएको स्वरमा बोलिरहेको थियो । यता अनुहार उज्यालो भए पनि बाहिर फर्किएको मानिस भने बीचबीचमा केही कुरा थप्थ्यो । उसले हरियो इष्टकोट लगाएको थियो ।
विप्लव समूहका नेता पक्राउ परेको खबर मानेले आज बिहानै पत्रिकामा पढेको थियो । साँच्चै किन समातिँदैछन् उनीहरू ? उसको मनमा खुल्दुली उत्पन्न भएको थियो । त्यसैले पनि उसको ध्यान सेतो इष्टकोटवालको कुरामा गयो । ऊ भन्दै थियो, “उसलाई समातेपछि पोल खोलियो । उसलाई छिट्टै पार्टीबाट निकाल्नुपर्छ । नत्र सबैलाई पक्राउनेछ । हेर्दै जानुस् यो पछि नेकपाबाट सांसद हुनेछ । फलानो दाईलाई पनि हिजोदेखि फोन लागिरहेको छैन । हैन, ऊ समातिएजस्तो छ । किन फोन नलागेको ? फेरि कतै कुनै खबर पनि छैन । मिडियामा केही आएकै हैन ।”
हरियो इष्टकोटवालले भनिहाल्यो, “हैन पुलिसले फोन ट्रेस गर्न पनि सक्छ । त्यसैले स्वीच अफ गरेको हुनुपर्छ । नत्र केही खबर त पक्कै आउँथ्यो । चिन्ता नगर । …. तैपनि केही भन्न सकिन्न । यो पुलिसको केही भर हुन्न । माओवादी युद्धको बेला भारतमा यस्तै काण्ड मैले पनि देखेँ। १५÷१६ वर्षको एउटा मगर केटो दिल्लीको सडकमा हिँड्दै गर्दा भारतीय पुलिससँग ठोक्किएछ । उसले तुरुन्तै केटालाई बेस्सरी चट्कन लगाएर कान निमोठ्न थालेछ । मगरको छोरो । रिसमा उसले पनि पुलिसको औँला टोकेको, औँलै चुँडालिदिएछ । हामी थानामा पुग्दा त पुलिसले टेबलमा प्लास्टिकभरि गाँजा राखेर भन्छ, “यह लड्का गाँजाके साथ मिला था ।” त्यसैले पुलिसको भर हुन्न । तैपनि तिमीहरू पनि होसियार हुनुप¥यो ।”
“यो पत्रकारले पनि मेरै समाचारलाई आधार मानेर समाचार लेखेछ । फसाद प¥यो । जे त होला होला । समाचारै लेखेर जेल जानुपरे जाउँला । हैन यी केपीले गर्न के खोजेको ?”
हरियो इष्टकोटवालले सम्झायो, “समाचार लेख्दा अलि बचेर लेख्नुप¥यो । सबै यति हतियार छन्, उति छन् भनेर किट्नुभएन । नेताहरू पनि जोगिएर हिँड्नुप¥यो । तिमीहरू नै सजग छैनौ । अब उसले पोल खोल्यो भनेर आफैंमा फाटो ल्याइरहेका छौ । यसरी त तिमीहरू एकअर्कालाई औँला ठड्याउँदै सक्किएर जान्छौं । सरकारले चाहेकै त्यहीँ हो । भित्र ठूलो चलखेल छ अलि बुझ । जासुस जताततै छन् । कहिलेकाहीँ नचिनेको नम्बरबाट फोन आउँछ । अनि फोन ट्रेस भइहाल्छ । आज बिहान मलाई पनि त्यस्तो फोन आयो ।” त्यसपछि उसले फोन ट्रेस हुनबाट जोगिने उपाय बतायो ।
मानेले भाँडाकुँडा माझेर पखाली पनि सकेको थियो । ऊ जुरुक्क उठेपछि दुवै इष्टकोटवालहरूले कुराकानी बन्द गरे । केही छिनमै चियाको गिलास रित्याएर उनीहरू बाहिरिए । मानेले होटलमा आउने क्याम्पसे केटाहरूका क्रान्तिसम्बन्धी गफगाफ सुनेर, पत्रपत्रिका पढेर र अलिअलि किताब पढेर राजनीतिका कुरा सिकेको थियो । म पुगेपछि उसले मलाई सोध्यो, “हैन ‘विप्लव’ हरूलाई किन सरकारले समात्न खोजेको ? उनीहरू किन भाग्नु परेको ?”
मैले उसलाई सम्झाएँ, “तोडफोड गर्दैमा र बम पड्काउँदैमा कोही क्रान्तिकारी वा विप्लवी हुँदैन । कम्युनिष्ट क्रान्तिकारीहरूको कुरै छोड । तिमीलाई मैले ‘ती दुःखीहरू’ भन्ने भिक्टर ह्युगोको किताब दिएको थिएँ नि” पढ्यौ ? ….त्यसमै पनि त छ । कतिपय फ्रान्सेली क्रान्तिकारीहरू समेत व्यक्ति हत्याको विपक्षमा थिए । क्रान्तिकारीहरू अपराधी होइनन् । उनीहरू अराजक हुन्नन् । त्यसैले तिमीले जसलाई क्रान्तिकारी भनिरहेका छौ उनीहरूका कामकुरा क्रान्तिकारी छन्, छैनन् त्यो बुझ्नुपर्छ । अर्को कुरा जनतासम्म नपुगेपछि जस्तोसुकै विद्रोही पनि भागिरहनुपर्छ । क्रान्तिकारीहरूले जनताको सेवा गर्न शहरको ठाँठबाँठमा रमाएर वा अँध्यारो कुनामा बसेर होइन, जनताकै घर आँगनमा, उनीहरूका झुपडी र गाउँहरूमा पुग्नुपर्छ । क्रान्ति दुईचारजना नेताले होइन, जनताले गर्ने काम हो । बुझ्यौ भाइ ?”
भर्खर होटलबाट बाहिरिएका इष्टकोटवालहरूले चिया पिएका गिलास माझिरहेको मानेले सकारमा मुन्टो हल्लायो । अनि भन्यो, “दाइ अहिले ‘मेरो विश्वविद्यालय’ भन्ने किताब सक्नै आँटेको छु । त्यो सकेपछि हजुरले दिएको किताब पढ्छु है ।” यत्ति भनेर पखालेका गिलास राख्न ऊ होटलको अघिल्तिर गयो । म भने उसको हिँडाइमा आल्योसा अर्थात् गोर्की देखिरहेको थिएँ जसले ‘मेरो विश्वविद्यालय’ मा अध्ययन गरेका थिए ।
Leave a Reply