भर्खरै :

खोना र बोङाका जनताको सङ्घर्षप्रति ऐक्यबद्धता

ललितपुर, १६ चैत । दु्रतमार्ग निर्माणको नाममा ललितपुर जिल्लाका खोना र बोङाका आदिवासी जनतालाई उठिबास गर्ने राज्यको जनविरोधी कदमविरुद्ध स्थानीय जनता लगातार सङ्घर्षरत छन् । दु्रतमार्ग, बाहिरी चक्रपथ, बागमती कोरिडर, स्मार्ट सिटी, हाइटेन्सन लाइनको नाममा ऐतिहासिक बस्ती खोना र बोङाका जनता यतिबेला पुर्खादेखि बस्दै आएका बासिन्दा थातथलो छोडेर जानुपर्ने बाध्यताविरुद्ध सङ्घर्षरत छन् ।
सोही क्रममा शनिबार जनसरोकार समिति खोनाको आयोजनामा विरोध सभा भयो ।
सभामा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य राजवीर डंगोलले सडक विस्तार र विकासको नाममा इतिहास बोकेका बस्ती उठिबास गर्ने सरकारको काम निन्दनीय भएको बताउनुभयो ।
उहाँले जनताको पक्षमा सरकार उभिएको हुँदो हो त सरकारले जनभावनाविपरीतका यस्ता काम नगर्ने धारणा राख्दै सांस्कृतिक सम्पदाको विनाश विकास हुने गरी कार्य गर्न नहुने बताउनुभयो ।
नेपाल क्रान्तिकारी किसान सङ्घका केन्द्रीय उपाध्यक्ष गोविन्द दुवालले सरकारले व्यापक जनताको हितभन्दा सीमित पुँजीपति वर्गको हित हेरिरहेको भन्दै देशको सन्तुलित विकासको लागि काठमाडाँैबाहिरको क्षेत्रमा पनि विकास गर्नुपर्ने बताउनुभयो । काठमाडौँ उपत्यकाभित्र मात्र जनसङ्ख्या केन्द्रीकरण गर्नु विकास नभएको उहाँको भनाइ थियो ।
उहाँले कला–संस्कृतिको संरक्षणका निम्ति जनता स्वयम् अग्रसर हुनुपर्ने विचार राख्नुभयो ।
जनसरोकार समिति खोनाका अध्यक्ष नेपाल डंगोलले सरकारले स्थानीय जनताबीच फूट ल्याएर जनताको सम्पत्तिमाथि सरकारले लुटपाट मच्चाएको धारणा राख्नुभयो ।
“हिजो ५० मिटरको दु्रतमार्ग बनाउने प्रस्ताव आएकोमा हाल ६५ मिटरको द्रुतमार्ग बनाउन लागिएको छ ।”, उहाँले भन्नुभयो । उहाँले मुआब्जा नबुझेका परिवारलाई सेनाले मुआब्जा लिन दबाब दिइरहेको जानकारी दिनुभयो । डंगोलले खोनाबाट निर्वाचित प्रतिनिधिहरूले पनि स्थानीय जनताको हितमा आवाज नउठाएको भन्दै नेपाल मजदुर किसान पार्टीका सांसदहरूले प्रदेश सभा र प्रतिनिधिसभामा जनताको आवाज राख्नुभएकोमा आभार व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेमकिपाका कार्यकर्ताहरू नारायणबहादुर दुवाल, उपेन्द्र सुवालले खोना र बोङाका जनताको सङ्घर्षप्रति ऐक्यबद्धता व्यक्त गर्नुभयो ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *