भर्खरै :

 मानव कङ्काल भेटियो

भादगाउँ, २० चैत (रासस) : भक्तपुरको चित्तपोलमा आज मानव कङ्काल भेटिएको छ । सूर्यविनायक नगरपालिका–१० चित्तपोलको सल्लाघारीमा टाउको छुट्टिएको अवस्थामा मानव कङ्काल भेटिएको हो । जङ्गलमा घाँस दाउराका लागि गएका स्थानीयवासीले सो कङ्काल देखेर प्रहरीलाई खबर गरेका थिए । कङ्कालको केही पर कपडासमेत भेटिएको छ ।
कङ्काल सूर्यविनायक नगरपालिका–१० का १५ वर्षीय रबिन खत्रीको भएको रबिनका बुबाले दाबी गर्नुभएको छ । रबिन गत मङ्सिर २७ गते हराएका थिए । कङ्काल नजीक फेला परेको कपडाका आधारमा कङ्काल रबिनको भएको उनका बुबाले दाबी गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले बताउनुभयो ।
प्रहरीले भने भेटिएको कङ्काल रविन भएको पुष्टि गरेको छैन । प्रहरीले कङ्कालको सनाखतका लागि डिएनए परीक्षणको प्रक्रिया अघि बढाएको छ । कपडाले मात्रै सनाखत हुन नसक्ने भएकाले कङ्कालको सनाखत तत्काल नगरेको प्रनाउ पोखरेलले बताउनुभयो । उहाँले डिएनए परीक्षणपछि मात्र कङ्कालको सनाखत गर्ने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “मानव कङ्काल मात्र फेला परेको अवस्थामा कपडाले कङ्काल नजीक भेटिएको कपडाले मात्रै सनाखत हुन नसक्ने भएकाले डिएनए परीक्षणको प्रक्रिया अघि बढाएको हौँ ।”
घटनाको सम्बन्धमा प्रहरीले सूक्ष्म अनुसन्धान शुरु गरेको जानकारी दिँदै उहाँले भन्नुभयो, “कङ्काल भेटिएको अवस्थाले हत्या गरेर फालेको हुन सक्ने देखिएको छ । सोही अनुसार घटनाको अनुसन्धान प्रक्रिया अघि बढाएका छौँ ।”
–––

Leave a Reply

Your email address will not be published. Required fields are marked *