अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
भक्तपुर, २० चैत । ६२ औँ राष्ट्रिय सहकारी दिवसको उपलक्ष्यमा बुधबार भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी सङ्घको आयोजनामा प्रभातफेरी कार्यक्रम आयोजना ग¥यो । भक्तपुरको तीन स्थान सूर्यविनायक, कमलविनायक र दूधपाटीबाट सुरु भएको प्रभातफेरी टौमढी चोकमा पुगी सभामा परिणत भएको थियो ।
सभामा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवम् प्रतिनिधिसभाका सांसद प्रेम सुवालले सहकारी संस्था बचत सङ्कलन र ऋण प्रवाहमा मात्र सीमित नरही समुदायको आर्थिक, सामाजिक, शैक्षिक र सांस्कृतिक उत्थानमा सक्रिय हुनुपर्छ भन्नुभयो ।
सहकारीहरूले बैङ्कमा राखेका जनताको बचत रकम बैङ्कहरूले उच्च व्याज दरमा ठूला व्यापारीलाई ऋण लगानी गरिरहँदा बैङ्कपतिहरूको स्वार्थमात्र पूर्ति भइरहेको उल्लेख गर्दै सहकारीको रकम सहकारीहरूले नै उपयोग गर्ने अवस्था निर्माण गर्न सहकारीकर्मीहरूको ध्यान जान आवश्यक रहेको सांसद सुवालले औँल्याउनुभयो ।
उपभोग्य वस्तुको बजारमा स्वदेशी जत्तिकै विदेशी उत्पादनहरूले ठाउँ ओगटेको र त्यसले देशको खरबौँ रुपैयाँ विदेशिइरहेको तथ्य औँल्याउँदै सांसद सुवालले स्वदेशमै पर्याप्त र गुणस्तरीय उपभोग्य वस्तुको उत्पादन र आयात प्रतिस्थापन गर्नेतिर सहकारीहरूको पहल हुनुपर्छ भन्नुभयो ।
स्वदेशमै रोजगार नहुँदा बर्सेनि लाखौंलाख युवा वैदेशिक रोजगारका नाममा विदेशमा दाससरह बेचिदै गरेको उल्लेख गर्दै उहाँले स्थानीय स्तरमै रोजगार सिर्जना गर्नेतर्फ ध्यान दिन जरुरी छ भन्नुभयो ।
द्रुतमार्ग निर्माणको नाममा सरकारले खोना (खोकना) र बोङा (बुङ्गमति)का सम्पदा विनाश र स्थानीय जनतालाई विस्थापित बनाउन लागेको बताउँदै उहाँले मालपोत र भूमिसुधार कार्यालयका भ्रष्ट अधिकारी र कर्मचारीहरूले सार्वजनिक पोखरी र पर्ती जग्गा निजी बनाइरहेका छन् भन्नुभयो ।
संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा देशको नागरिकता ऐन संशोधनबारे छलफल चलिरहेको प्रसङ्ग उल्लेख गर्दै जन्मको आधारमा नागरिकता लिएका र निश्चित अवधि बसोबासका आधारमा अङ्गीकृत नागरिकता प्राप्त व्यक्तिका सन्तानलाई र विदेशी पतिसित विवाह भएको नेपाली छोरीका सन्तानलाई वंशजको नागरिकता दिने प्रावधानले देशको अस्तित्व नै खतरामा पर्नसक्ने अवस्था निम्तिने बताउनुभयो । उहाँले नेपाली पुरुषसित विवाह भएर आएकी विदेशी महिलाले पनि आजको आजै नागरिकता पाउने व्यवस्था देशको हितमा नभएको स्पष्ट पार्नुभयो ।
शासकहरूले इमानदारीपूर्वक र असल नियतले शासन नगर्दा देशमा समस्या र विकृति बढेको बताउँदै उहाँले सहकारी संस्थाहरूले सदस्यहरूमाझ देशको समसामयिक राजनीतिबारे छलफल चनाउन र सचेत बनाउन जरुरी छ भन्नुभयो ।
सभामा नेफ्स्कुनका पूर्वअध्यक्ष कैलाशभक्त प्रधानाङ्गले सहकारी अभियानले अझै नियमनकारी निकायलाई दुईबीचको सम्बन्धबारे राम्ररी बुझाउन नसकेको बताउँदै देशको संविधान र सहकारी ऐनमा भएका प्रावधान कार्यान्वयन किन भएन भनी प्रश्न उठाउनुभयो । उहाँले सहकारीसित गरिब जनताले कारोबार गर्ने ऋण, ब्यााज र ससानो रकमको लाभांशमा समेत आयकर लाग्नु उचित छैन भन्नुभयो ।
प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले सहकारीले देशको समृद्धिका लागि मात्र नभई समाजका अप्ठ्यारा हटाउन पनि महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्छ भन्नुभयो ।
उहाँले सहकारीले समुदायको आर्थिक उत्थानको अभियान चलाएजस्तै सामाजिक विकृति र विसङ्गति निवारण गर्ने अभियान पनि सँगसँगै चलाउनुपर्ने बताउनुभयो ।
सभापतिको आसनबाट भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी सङ्घ लि. का अध्यक्ष कृष्णगोविन्द लाखाजूले सङ्घीय सरकारको सहकारी ऐन आए पनि नियमावली नआउँदा र प्रदेश सरकारको सहकारी ऐन नियम नआउँदा सहकारी सञ्चालनमै समस्या र अप्ठ्याराहरू निम्तिएको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर जिल्ला सहकारी सङ्घका अध्यक्ष महेश श्रेष्ठ, भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी सङ्घ लि. का उपाध्यक्ष हरि बल्ल र सचिव जगनाथ प्रजापतिले पनि मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा सह–आयोजकहरू भक्तपुर जिल्ला सहकारी सङ्घ, भक्तपुर जिल्ला कृषि सहकारी सङ्घ, भक्तपुर जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ र भक्तपुर बहुद्देश्यीय सहकारी सङ्घका अध्यक्ष तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
Leave a Reply