भर्खरै :

कीर्तिपुरमा सहिद दिवस मनाइयो

कीर्तिपुर, २० चैत । सहिद स्मृति व्यवस्थापन समितिको आयोजनामा बुधबार कीर्तिपुरमा सहिद दिवस मनाइयो । ऐतिहासिक जनआन्दोलन २०४६ मा कीर्तिपुर क्षेत्रबाट चारजना सपुतहरूले प्रजातन्त्रको लागि वलिदान गरेका थिए । सहिद लनबहादुर महर्जन, राजमान माली, हिराकाजी महर्जन र राजेन्द्र महर्जनको सम्झनामा हरेक वर्ष चैत २० गते कीर्तिपुरमा सहिद दिवस मनाइँदै आइरहेको छ ।
सहिद दिवसको अवसरमा बुधबार बिहान कीर्तिपुर नगरपालिका वडा नंं. ३ खासिबजारस्थित सहिद प्रतिमास्थलबाट प्रभातफेरी कार्यक्रम सम्पन्न भयो । एक मिनेट मौनधारण गरी सुरु भएको कार्यक्रममा काठमाडौँ क्षेत्र नं १० का प्रतिनिधिसभा सांसद राजेन्द्रकुमार केसीले सहिदको योगदानले नै आज हामी गणतन्त्र नेपालमा पुगेको स्मरण गर्दै सहिदको सपना साकार पार्न नेपाली जनता देशको हितमा लाग्नुपर्ने बताउनुभयो ।
कार्यक्रम सहिद स्मृति व्यवस्थापन समितिका अध्यक्ष कृष्णमान डंगोलको सभापतित्वमा भएको थियो ।
प्रभातफेरी कार्यक्रम खासिबजार, कुटुझोल, सागल समल, देवढोका, उमामहेश्वर, बाघभैरव, चिठू, तुंझो, नयाँबजार, पाँगा सालिक, धोकासी लाछी देउखेल हुँदै नगाउँमा पुगेर समापन भएको थियो । समापन कार्यक्रममा समितिका अध्यक्ष कृष्णमान डंगालले धन्यवाद दिनुभएको थियो ।
सहिद दिवसकै अवसरमा चैत २३ गतेबाट युवा खेलकुद समूहको आयोजनामा एघारौँ सहिद स्मृति कप व्याडमिन्टन प्रतियोगिता जनसेवा माविमा र इन्द्रेणी सांस्कृृतिक समाजको आयोजनामा मङ्गल माविमा सांस्कृतिक श्रद्धाञ्जलीसभा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *