भर्खरै :

सपना देख्ने स्वतन्त्रताको पक्षमा मतदान गर्न थिएटरकर्मीको आह्वान

नयाँ दिल्ली, ५ अप्रिल । भारतमा लोकसभा निर्वाचनको मिति नजिकिएसँगै सत्तासीन भारतीय जनता पार्टीको लागि परिस्थिति एक पछि अर्को प्रतिकूल बन्दै गइरहेको छ ।
एक सयभन्दा बढी लेखकहरूले आगामी निर्वाचनमा घृणा र साम्प्रदायिक राजनीति पक्षधर राजनीतिक दलको पक्षमा मतदान नगर्न आग्रह गर्दै संयुक्त वक्तव्य जारी गरेको साता दिन पनि नबित्दै भारतका विभिन्न १२ भाषाभाषीका थिएटर र चलचित्रका कलाकारहरूले असहिष्णु राजनीतिक शक्तिलाई सत्ताच्युत गर्न आह्वान गर्दै अर्को संयुक्त वक्तव्य जारी गरेका छन् ।
गिरिश कर्णाड, नसुरिद्दिन साह, अमोल पालेकर, उषा गाँगुली, शान्ता गोखाले, महेश इलकुचवर, महेश देतानी, अरुन्धती नाग, कृति जैन, अतमजीत सिंह, अस्ताद देबु, एमके रैना, मोलोयश्री हस्मीलगायत अगुवा थिएटर कलाकार र लेखकहरूले संयुक्त वक्तव्य जारी गरेका हुन् । अंग्रेजी, हिन्दी, तामिल, बंगाली, मराठी, मलायालम, कन्नाड, असामी, तेलुगु, पञ्जाबी, कोनकानी र उर्दू भाषाका लेखकहरूले सो वक्तव्यमा हस्ताक्षर गरेका छन् ।
वक्तव्यमा भनिएको छ,“उपनिवेशकालीन समयदेखि नै भारतका थिएटर कलाकार र निर्देशकहरूले आफ्ना कृतिमार्फत भारतको विविधतालाई सम्मान गर्दै आएका छन् । हामीले स्वतन्त्रता आन्दोलनकै हिस्साको रुपमा नाटक खेल्यौं, हाम्रो कलामार्फत हामीले सामाजिक विरामलाई उजागर ग¥यौं, हामी सामाजिक समता र समावेशीताको पक्षमा उभियौं, हामीले पितृसत्ता, ब्राहमणवाद र जातीय उत्पीडनमाथि प्रहार ग¥यौं । भारतीय थिएटरसँग धार्मिक सम्प्रदायिक, अहंकारी, संकीर्ण र विवेकहीन शक्तिविरुद्ध लड्दै आएको लामो र गौरवशाली परम्परा छ । हामीले सीमान्तमा बसेर सीमान्तको पक्षमा बोल्दै आएका छौं । गीत,नृत्य, हाँस्यव्यङ्ग्य, अभिनय, हृदयस्पर्शी मानवीय कथाहरूमार्फत हामीले बितेका एक सय पचास वर्षदेखि धर्मनिरपेक्ष, प्रजातान्त्रिक, समावेशी र न्यायपूर्ण भारतको कल्पना गर्दै आएका छौं ।
तर, आज भारतबारे यो विचार खतरामा परेको छ । यतिबेला गीत, नाच, हाँसो सबै खतरामा परेका छन् । आज हाम्रो प्रिय संविधान खतरामा परेको छ । बहस, विवाद र असहमतिलाई प्रबद्र्धन गर्ने संस्था आज आफैं निस्सासिएका अवस्थामा छन् । प्रश्न गर्नु, झुठको विरोध गर्नु, सत्य बोल्नुलाई नै ‘राष्ट्रविरोधी’ भनिन थालिएको छ । हामीले खाने खाना, हामीले गर्ने प्रार्थना र हाम्रा जात्रा पर्वमा यस्तो घृणाको बीजारोपण गरिएको छ ।
हाम्रो दैनिकीमा घृणा यसरी फैलाइएको छ, यो अब खतराको तहमा पुगेको छ । यसलाई अब रोक्न विलम्ब गर्नु हुन्न ।
आगामी निर्वाचन निसन्देह स्वाधीन भारतको इतिहासमा सबभन्दा संवेदनशील चुनाव हो । लोकतन्त्रले सबभन्दा कमजोर र सबभन्दा सीमान्तकृतलाई बलियो बनाउने हो । प्रश्न गर्ने अधिकार, बहस र रचनात्मक विमति बिना लोकतन्त्रले काम गर्न सक्दैन । आजको सरकारले यस्ता सबै पक्षलाई जानीजानीकन क्षयीकरण गर्दैछ । पाँच वर्षअघि सरकारमा आएको भारतीय जनता पार्टीले विकासको सपना देखाएर घृणा र हिंसाको राजनीतिमा हिन्दुवादी गुण्डागर्दीलाई फुकाफाल छोडेको छ । पाँच वर्षअघि जुन व्यक्तिलाई देशको रक्षकको रुपमा चित्रण गरिएको थियो, उसकै नीतिले आज लाखौं लाख मानिसको जीवन बर्बाद भएको छ । उसले कालो धन फिर्ता ल्याउने वाचा गरेको थियो । तर, त्यसको सट्टा देशलाई लुटेर कुलेलाम ठोकेको छ । धनीको धन नाटकीय रुपमा बढिरहेको छ भने गरीब झन झन गरीब बनिरहेको छ ।
भारतीय थिएटरका हामी सबै कलाकार हाम्रो संविधान र एकताबद्ध तथा धर्मनिरपेक्ष नैतिक मूल्यको रक्षा गर्न सहयोगको लागि अपील गर्छौं । हामी सबै नागरिकलाई प्रेम र भावनाको लागि, समानता र सामाजिक न्यायको लागि मतदान गर्न र प्रतिगामी तथा बर्बर शक्तिलाई पराजीत गर्न आह्वान गर्छौं ।
हाम्रो अपील–असहिष्णुता, घृणा र निराशाको विपक्षमा मतदान गरौं । भाजपा र उसका पक्षधर शक्तिको विपक्षमा मतदान गरौं । कमजोरमध्ये पनि कमजोरलाई शक्तिशाली बनाउन मतदान गरौं । स्वतन्त्रताको पक्षमा मतदान गरौं । वातावरण संरक्षणको लागि र वैज्ञानिक विचारको पक्षमा मतदान गरौं । धर्मनिरपेक्ष लोकतन्त्र र समावेशी भारतको पक्षमा मतदान गरौं । सपना देख्ने स्वतन्त्रताको पक्षमा मतदान गरौं । विवेकपूर्वक मतदान गरौं ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *