भर्खरै :

धराली आमा

हरिहर तिमिल्सना
थाहा छैन रुखबाट फल खस्दा रुखलाई दुख्छ कि दुख्दैन
मेरो गर्भबाट छुट्टिएर तिमी यो धर्तीमा ओर्लिँदा भने
मलाई बेहद दुखेको थियो र तिम्रो रुवाइ मलाई
यत्ति प्रिय लागेको थियो कि
तिम्रो त्यो पहिलो च्याहाँ च्याहाँको आवाज सुन्दा
मैले बिर्सिएकी थिएँ प्रश्रवका सबै पीडा ।
वसन्तको पहिलो पालुवाझैँ तिमी
हुर्कँदै र बढ्दै गयौ
वर्षात्सित घाम साटिएझैँ
तिम्रा हरेक हाँसोसित मेरा आँसुहरू साटिए
तिमी हिँड्न नजानेर लड्दा म दुःखले रोएँ
तिमी उठेर दौडिँदा म खुसीले रोएँ
मेरा लागि तिमी नै मेरो बहुमूल्य गहना थियौ
तिमीलाई पढाउन फिस नपुग्दा
तिम्रो बाले बिहेमा दिएका सबै गहना
बेचिदिएँ मैले ।
मलाई यसैमा खुसी थियो कि
तिमीले धेरै पढ्यौ, यति धेरै पढ्यौ कि
यताको पढाइले नपुगेर तिमी उताको पढाइतिर जान्छु भन्यौ
तिमी उताको पढाइमा जान हिँडेको दिन
मलाई तिमी जन्मिएको दिनमा जस्तै पीडा भएको थियो ।
हो, त्यसै दिनदेखि मलाई कुनै दिन, दिनजस्तो लाग्दैन
दिनहरू रातसित साटिए र रातहरू दिनसित
रत्नागिरिबाट उदाएको घाम सयौँचोटि चन्द्रागिरिमा अस्तायो
तिमीले उताको प्रगति विवरण सुनाइरहँदा
म यता दुर्गतिका पहाडहरूले थिचिँदै थिएँ
तिमीले पढाइ सक्यौ, पीआर पायौ र बिहे पनि ग¥यौ
तिमीले त्यता राम्रो हुन्छ भन्यौ र
मैले यताका सारा नराम्राहरू बिर्सिएँ
जसरी मबाट छुट्टिएर तिमी बनेका थियौ
तिमीबाट छुट्टिएर मेरी नातिनी जन्मेको खबरले
म पागल भएकी थिएँ
तिमीले छोरीको मुख देखेको दिन
सायद सम्झिएछौ मलाई
म एक गवार, पाखे, अनपढ
सात समुद्रपारि रहेको यो भव्य सहरमा
फुटेका कुर्कुच्चा र ठेलायुक्त हात बोकेर
मेरी नातिनीलाई मुसार्न आइपुगेकी छु ।
यो विरानो भूगोलमा, यो पराइको सहरमा
म बुझ्दिन कसैको भाषा
चिन्दैन यहाँको हावाले मलाई
खिसी गर्छ यहाँको घामले
घृणा गर्छ तिम्रो यो परिवेशले
यी सबै सहन तयार छु म
तर ए मेरो छोरा
तिमीले मलाई नचिने पनि
मैले तिमीलाई राम्ररी चिनेकी छु
मैले तिमीलाई यिनै हातले हुर्काएकी हुँ
तिमीले कसरी सोच्न सक्यौ कि
म तिम्री छोरीलाई खुवाउन जान्दिनँ
पियाउन र माया गर्न जान्दिनँ
तिमीले मलाई एउटा बन्दाकोभी जत्ति पनि
ठानेका रहेनछौ जसको न कुनै गुदी हुन्छ न बोक्रा
तर पनि जीवनका पत्रहरू उघार्दा उघार्दा
अन्तिम पत्र बाँकी भएको यो उमेरमा
मेरी नातिनीलाई स्याहार गर्न यो सहरमा आइपुगेकी छु ।
तिमीले एकाएक यहाँ बोलाउँदा
मलाई लागेको थियो छोराले ढिलै भए पनि
आमालाई सम्झिएछ
केही दिन बसेपछि भने मैले तिम्रो अन्तर्यको चाल पाएँ
तिमीलाई आमा होइन एउटी धराली चाहिएको रहेछ
र आँधीबेरीपछि आकाश छ्याङ्ग भएझैँ
बिनाकुनै आँधी आज म छ्याङ्ग भएकी छु कि
तिमीलाई धराली पनि होइन नोकर्नी चाहिएको रहेछ ।
तिमीले के ठानेको मेरो छोरा ?
मेरा सन्ततिका लागि यो एकबारको जुनीमा
म नोकर्नी बन्न सक्दिनँ ?
यत्ति कुरा हेक्का राख्नु मेरो प्रिय मान्छे
यो जुनीमा नपुगेर अर्को जुनीमा पनि
तिमीलाई नोकर्नी चाहियो भने मलाई नै सम्झनू ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *