भर्खरै :

क्रान्तिको पाठशाला

श्यामकृष्ण खुलिमुली
जहाँ क्रान्ति पढाइन्थ्यो
जहाँ विचार भरिन्थ्यो
आज एकाएक त्यो भग्नावशेषमा परिणत भएको छ
छानामा फहराएको रातो झण्डा च्यातिएको छ
मक्किएको छ
अनि हावाको झोँकाले सडकमा ढलाएको छ
क्रान्ति लेख्ने कलमको नीब भाँच्चिएर टुटेको छ
सङ्गीनमा खिया परेर भुत्ते भएको छ
त्यो पाठशाला
जहाँ जिन्दावाद र मुर्दावादले धर्ती काँप्थ्यो
आज सुनसान छ
आजकल गुरुहरू
क्रान्ति पढाउन छाडेका छन्
सुन्दैछु गुरुहरू
क्रान्तिको ब्याज खाँदैछन् अरे
नाफाको जिन्दगीलाई सजाउँदै छन् अरे

विद्यार्थीहरू
कोही लेकमा गोठाला लागेका छन्
कोही लाहुर पसेका छन्
कोही गाउँ हिँडेका छन्
कोही सहर छिरेका छन्
खोइ कोही त कता पो हराएका छन्
पाठशालाले जन्माएका योद्धाहरू पनि
आजकल कतै देखिँदैनन्
क्रान्तिका पुस्तकले भरिएको पाठशालामा
आजकल पुस्तकहरू असरल्ल छन्
कुनै मुसाको भोजन
कुनै धमिराको चटनी
कुनै माटोमै मिलेका छन् ।
मैले पढेको थिएँ हामी इस्पातझैँ हौँ
तर इस्पातले बनेका मान्छेहरू
हिउँझैँ फुस फुस पग्लिरहँदा
म अन्यौलमा परेको छु
स्टालिन गलत हो कि मेरा गुरु ?
क्रान्ति भोज होइन रे
तर कहिले नगरकोट,
कहिले धुलिखेल

कहिले धोविघाटको वायुमण्डलमा
मिष्ठान्न पकवानको सुगन्ध फैलिरहँदा
म अलमलमा पर्ने गरेको छु
र माओलाई सोध्ने गरेको छु
आखिर क्रान्ति के हो त ?
बुझाइदिनुस् न हाम्रा क्रान्तिकारी खेतालाहरू ।
क्रान्ति मुस्ताङ चढेर आउने रहेछ
सायद त्यसमा पो त्याग देखिँदोरहेछ
राष्ट्रवाद झल्कँदो रहेछ
तर खै त्यो के हो ? आत्मप्रशंसाको भोक हो ।
मैले पढेँ क्रान्तिको पाठशाला
वामपन्थी पढेँ – दक्षिणपन्थी देखेँ
जनताको सेवा पढेँ – आतङ्कको भय देखेँ
नैतिकता पढेँ – निर्लज्जता देखेँ
एकता घोेकेँ – फुट देखेँ
हो एके ४७ मा खिया लागिरहँदा
बिजुलीको झिल्काझैँ हिजो देखेको सपना
एकाएक कता गायव भयो भयो
विचारले मृत्यवरण गरिरहँदा
उही शोक धुन बजिरहेछ
उही भोक चिच्याइरहेछ ।
हामी सर्वहारा
हो नाङ्गै हिड्यौँ
भोकै कुद्यौँ
मात्र एउटा आस्था बोकेर
गुरुको हात समातेर
तर आज मेरा गुरुहरू
ती क्रान्तिविद्हरू
आलिशान महलमा सुकला गर्छन्
बोलेरो चढ्छन्
पाँचतारेमा डकार्छन्
म पनि भ्रमित भएको छु
माक्र्स गलत थिए कि मेरा गुरु ?
सर्वहाराले हारेका हुन् कि जितेका ?
रगत के हो ?
बलिदान, प्यास या मिथ्या ?
रजस्वलामा बगेको रगत
र मैले बगाएको रगतमा
कुन बढी महान् ?
हो, रगतको मूल्य खोजिरहेको छु
म क्रान्ति रोप्न हिँडेको मान्छे
गलत बीउ परेर
फल नलागेकोमा पछुताइरहेको छु
के क्रान्ति यस्तै हुन्छ र ?
या स्वप्नदोष हो ?
त्यसमा त सपना फुल्नुपर्ने होइन र ?
रगतले त इतिहास कोर्नुपर्ने होइन र ?
त्यागले त आस्था रोप्नुपर्ने होइन र ?
हामीले यही पढेका हैनौँ र ?
तपाईँले यही पढाउनुभएको होइन र ?
खोइ त आज क्रान्ति किन हराएको छ ?
मेरो क्रान्तिको पाठशाला किन बन्द छ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *