मार्गनिर्देशनबारे भाइबहिनीलाई चिठी–६
- चैत्र ३०, २०८२
श्यामकृष्ण खुलिमुली
जहाँ क्रान्ति पढाइन्थ्यो
जहाँ विचार भरिन्थ्यो
आज एकाएक त्यो भग्नावशेषमा परिणत भएको छ
छानामा फहराएको रातो झण्डा च्यातिएको छ
मक्किएको छ
अनि हावाको झोँकाले सडकमा ढलाएको छ
क्रान्ति लेख्ने कलमको नीब भाँच्चिएर टुटेको छ
सङ्गीनमा खिया परेर भुत्ते भएको छ
त्यो पाठशाला
जहाँ जिन्दावाद र मुर्दावादले धर्ती काँप्थ्यो
आज सुनसान छ
आजकल गुरुहरू
क्रान्ति पढाउन छाडेका छन्
सुन्दैछु गुरुहरू
क्रान्तिको ब्याज खाँदैछन् अरे
नाफाको जिन्दगीलाई सजाउँदै छन् अरे
र
विद्यार्थीहरू
कोही लेकमा गोठाला लागेका छन्
कोही लाहुर पसेका छन्
कोही गाउँ हिँडेका छन्
कोही सहर छिरेका छन्
खोइ कोही त कता पो हराएका छन्
पाठशालाले जन्माएका योद्धाहरू पनि
आजकल कतै देखिँदैनन्
क्रान्तिका पुस्तकले भरिएको पाठशालामा
आजकल पुस्तकहरू असरल्ल छन्
कुनै मुसाको भोजन
कुनै धमिराको चटनी
कुनै माटोमै मिलेका छन् ।
मैले पढेको थिएँ हामी इस्पातझैँ हौँ
तर इस्पातले बनेका मान्छेहरू
हिउँझैँ फुस फुस पग्लिरहँदा
म अन्यौलमा परेको छु
स्टालिन गलत हो कि मेरा गुरु ?
क्रान्ति भोज होइन रे
तर कहिले नगरकोट,
कहिले धुलिखेल
र
कहिले धोविघाटको वायुमण्डलमा
मिष्ठान्न पकवानको सुगन्ध फैलिरहँदा
म अलमलमा पर्ने गरेको छु
र माओलाई सोध्ने गरेको छु
आखिर क्रान्ति के हो त ?
बुझाइदिनुस् न हाम्रा क्रान्तिकारी खेतालाहरू ।
क्रान्ति मुस्ताङ चढेर आउने रहेछ
सायद त्यसमा पो त्याग देखिँदोरहेछ
राष्ट्रवाद झल्कँदो रहेछ
तर खै त्यो के हो ? आत्मप्रशंसाको भोक हो ।
मैले पढेँ क्रान्तिको पाठशाला
वामपन्थी पढेँ – दक्षिणपन्थी देखेँ
जनताको सेवा पढेँ – आतङ्कको भय देखेँ
नैतिकता पढेँ – निर्लज्जता देखेँ
एकता घोेकेँ – फुट देखेँ
हो एके ४७ मा खिया लागिरहँदा
बिजुलीको झिल्काझैँ हिजो देखेको सपना
एकाएक कता गायव भयो भयो
विचारले मृत्यवरण गरिरहँदा
उही शोक धुन बजिरहेछ
उही भोक चिच्याइरहेछ ।
हामी सर्वहारा
हो नाङ्गै हिड्यौँ
भोकै कुद्यौँ
मात्र एउटा आस्था बोकेर
गुरुको हात समातेर
तर आज मेरा गुरुहरू
ती क्रान्तिविद्हरू
आलिशान महलमा सुकला गर्छन्
बोलेरो चढ्छन्
पाँचतारेमा डकार्छन्
म पनि भ्रमित भएको छु
माक्र्स गलत थिए कि मेरा गुरु ?
सर्वहाराले हारेका हुन् कि जितेका ?
रगत के हो ?
बलिदान, प्यास या मिथ्या ?
रजस्वलामा बगेको रगत
र मैले बगाएको रगतमा
कुन बढी महान् ?
हो, रगतको मूल्य खोजिरहेको छु
म क्रान्ति रोप्न हिँडेको मान्छे
गलत बीउ परेर
फल नलागेकोमा पछुताइरहेको छु
के क्रान्ति यस्तै हुन्छ र ?
या स्वप्नदोष हो ?
त्यसमा त सपना फुल्नुपर्ने होइन र ?
रगतले त इतिहास कोर्नुपर्ने होइन र ?
त्यागले त आस्था रोप्नुपर्ने होइन र ?
हामीले यही पढेका हैनौँ र ?
तपाईँले यही पढाउनुभएको होइन र ?
खोइ त आज क्रान्ति किन हराएको छ ?
मेरो क्रान्तिको पाठशाला किन बन्द छ ?
Leave a Reply