भर्खरै :

विकिलिक्सका संस्थापक असान्ज तत्काल इक्वेडर दूतावासबाट निष्काशित हुने

लण्डन, ५ अप्रिल (टेलिसुर) । इक्वेडरले विकिलिक्सका संस्थापक जुलियन असान्जलाई लण्डनमा रहेको उसको राजदूतावासबाट निकाल्ने तयारी गरिरहेको छ । बिहीबार असान्ज सम्बन्ध रहेको विकिलिक्स आफैले ट्वीट गरेर यसको जानकारी दिएको हो ।
ट्वीटमा असान्जलाई ‘आइएनपी–पेपर्स अफसोर काण्ड’ लाई बहाना देखाएर निष्काशित गर्न लागिएको बताइएको छ । ‘इक्वेडोरियन राज्यभित्रको एक उच्च स्रोतले जुलियन असान्जलाई ‘आईएनएपेपर्स अफसोर स्काण्डल’ बहाना देखाएर केही घण्टादेखि केही दिनभित्र निष्काशित हुने बताइएको छ । उनको पक्राउसम्बन्धमा इक्वेडोरियन राज्यले संयुक्त राज्य अमेरिकासँग सम्झौता पनि गरिसकेको छ,’ ट्वीटमा भनिएको छ ।
आईएनए–पेपर्स इक्वेडरका एक सांसदलाई लिक भएको कागजातको सङ्ग्रहलाई जनाउन प्रयोग शब्द हो । ती दस्तावेजले हालका इक्वेडरका राष्ट्रपति लेनिन मोरेनोले ठूलै भ्रष्टाचार गरेको देखाएको छ । इक्वेडरका राष्ट्रपति मोरेनोले एक अन्तर्वार्तामा असान्जले शरणका सर्तहरू बारम्बार तोडेको आरोप लगाएको दुई दिनपछि विकिलिक्सको ट्वीट आएको छ । उनले सो क्रममा आफ्नो सरकारले असान्जलाई दूतावास छोडाउने विषयमा ब्रिटिशहरूसँग सम्झौताको प्रयासमा रहेको बताएका थिए ।
इक्वेडरका कयांै रेडियोले एक साथ प्रशारण गरेको अन्तर्वार्तामा मोरेनोले भनेका थिए, ‘असान्जले धेरै पटक हामीले उनको कानुनी समूहसँग गरेको सम्झौता उलघङ्न गरेका छन् ।’ उनले सो अन्तर्वार्तामा असान्जको शरण रद्द गर्ने नगर्ने कुनै कुरा उल्लेख गरेका थिएनन् ।
‘उनले स्वतन्त्र रुपमा बोल्न पाउँदैनन् भन्ने होइन तर उनले शरण लिने बेला गरेको सहमति अनुसार एकाउन्ट ह्याक गर्ने र व्यक्तिगत फोन कलहरू सुन्ने त परको कुरा झुट पनि बोल्न पाउँदैनन्,’ मोरेनोले भने ।
इक्वेडरका अधिकारीहरूले मोरेनोको समाजिक सञ्जालमा पछिल्लो समय अज्ञात स्रोतबाट अपलोड भएका यक्तिगत फोटोहरूका लागि विकिलिक्स जिम्मेवार भएको बताएको छ ।
असान्ज सन् २०१२ देखि इक्वेडर दूतावासभित्र बसिरहेका छन् । स्वीडेन भ्रमणको क्रममा दुई महिलाले असान्जले बलात्कार गरेको आरोप लगाएपछि स्वीडेनले उनलाई सुपुर्दगी गर्न माग गरेपछि उनी लण्डनमा रहेको इक्वेडर दूतावास पसेका हुन् । उनले सो मुद्दा आफूलाई अमेरिका सुपुर्दगी गर्न लगाइएको आरोप लगाउने गरेका छन् ।
स्वीडेनका न्यायालयले सो आरोपमा अनुसन्धान रोकिसकेको छ । तर, ब्रिटिस अधिकारीहरूले भने उनी दूतावास बाहिर निस्केमा पक्राउ गर्ने बताएका छन् । बेलायतमा मुद्दा लागेको अवस्थामा भागेमा छुट्टै कानुनी सजाय हुन्छ ।
असान्ज भने अमेरिका सुपुर्दगी गरिए आफूलाई अफगानिस्तान र इराक युद्धका अमेरिकी सरकारी दस्तावेजहरू ह्याक गरेर प्रकाशित गरेको आरोपमा मुद्दा चलाइने भन्दै आएका छन् । अक्टोबरमा असान्जले आफूलाई दूतावासभित्र इन्टरनेट र मोबाइल सम्पर्क ब्लक गरेर उनको ‘आधारभूत अधिकार’ हनन् गरेको मा मुद्दा दायर गरेको थियो ।
इक्वेडरले भने असान्जले इक्वेडरको विदेश नीतिमा हस्तक्षेप नगर्ने ‘लिखित प्रतिबद्धता’ तोडेको आरोप लगाएको थियो ।
सन् २०१२ अगष्टमा इक्वेडरका वामपन्थी सरकारको विदेश मन्त्री रिकार्डो पेटिनोले इक्वेडरले असान्जलाई लण्डनमा रहेको आफ्नो देशको दूतावासमा शरण दिएका थिए । तर, सन् २०१७ मा इक्वेडरमा भएको निर्वाचनबाट निर्वाचित राष्ट्रपति लेनिन मोरेनोले आफ्नो विचार फेरेर संरा अमेरिकासित नजिक भएसँगै इक्वेडर र असान्जको सम्बन्ध बिग्रेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *