भर्खरै :

“दुईतिहाइको शासनमा किन बढ्दै छ भ्रष्टाचार ?”

काठमाडाँै, २४ चैत । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव तथा प्रतिनिधिसभा सदस्य प्रेम सुवालले राष्ट्रिय अर्थतन्त्रको ५५ प्रतिशत निजी क्षेत्रलाई दिने सरकारको योजना देशलाई आर्थिक रूपमा विदेशीको पराधीन बनाउने सोच भएको बताउनुभएको छ ।
इन्द्रचोकमा आइतबार आयोजित ‘जनतासँग सांसद’ कार्यक्रममा उहाँले दुईतिहाइ बहुमत प्राप्त सरकारलाई विकास निर्माणको काम गर्न कुनै प्रकारको अवरोध नभए पनि देशमा भ्रष्टाचार नियन्त्रण हुन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “बरु देशमा दिनानुदिन भ्रष्टाचार बढिरहेको छ । सरकारले भ्रष्टाचारकै संरक्षण गरिरहेको छ । वाइडबडी खरिद, तेत्तीस किलो सुन आदि भ्रष्टाचार काण्डमा दोषीलाई सरकारले अझै समात्न सकेको छैन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगकै प्रतिवेदनअनुसार देशभर १ हजार ८ सय ४८ जना ठेकेदारहरूले ११८ अर्ब रुपैयाँ बराबरको निर्माण कार्य अपुरो राखेको र २४ अर्ब बराबरको पेश्की फस्र्यौट गरेका छैनन् । तिनीहरूमध्ये एक जना शैलुङ कन्स्ट्रक्सनका मालिक पनि हुन् । उनी नेकपा अध्यक्ष पुष्पकमल दाहालका घरबेती हुन् ।”
जन्मको आधारमा नागरिकता पाएका नागरिकका सन्तानलाई वंशजको आधारमा नागरिकता दिन गृहमन्त्रीले दिएको निर्देशन गलत भएको धारणा राख्दै उहाँले उक्त निर्देशन तत्काल बदर गर्नुपर्ने बताउनुभयो ।
सांसद सुवालले देश हितविपरीतको नागरिकता विधेयक पारित गर्न नै भारतीय शासक वर्गको योजनामा एमाले र माओवादीबीच एकता भएको र उनीहरूलाई निर्वाचनसँगै लड्न दिएर दुईतिहाइको सरकार बनाउन दिएको बताउनुभयो ।
“यो सरकार गठन गर्न भारतीय विदेशमन्त्री सुस्मा स्वराज नेपालमा आएर आशीर्वाद दिएकी थिइन् ।”, उहाँले भन्नुभयो ।
भेनेजुयलामा संरा अमेरिकी साम्राज्यवादले गरेको हस्तक्षेपको विरोध नेमकिपाले गरेको चर्चा गर्दै सांसद सुवालले नेपाल सरकारलाई ५६ अर्ब सहयोग गर्ने नाममा नेपालले प्रजग कोरियामाथि संरा अमेरिकी नाकाबन्दीलाई समर्थन गर्नुपर्ने र चीनबाट भागेका तिब्बतीलाई भारतमा जान दिनुपर्ने अमेरिकी पूर्वसर्त नेपालको आन्तरिक र वैदेशिक मामिलामा हस्तक्षेप भएको बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टीका वैकल्पिक केन्द्रीय सदस्य तथा प्रदेश नं ३ का प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले प्रदेशसभामा नेमकिपाले व्यापक नेपाली जनताको पक्षमा सङ्घर्ष गरिरहेको चर्चा गर्नुभयो । उहाँले काठमाडौँ उपत्यकामा सङ्घीय राजधानी हुँदा नै जनताको जीवन अस्तव्यस्त भएको अवस्थामा प्रदेशको राजधानीसमेत यहीं राख्नु उचित नहुने धारणा राख्नुभयो ।
उहाँले सङ्घीयताको भावनाअनुसार विकेन्द्रिकृत विकासको लागि प्रदेश राजधानी काठमाडाँै उपत्यकाबाहिर राख्नु ठीक हुने बताउनुभयो ।
“नेकपाले कम्युनिष्ट सिद्धान्त र आचरणअनुसार शासन गरिरहेका छैनन् । उसको लागि कम्युनिष्ट शब्द देखाउने खोलमात्र भएको छ ।” उहाँले भन्नुभयो ।
नेमकिपा काठमाडाँै महानगरपालिका समितिका कुलनारायण डंगोलको सभापतित्वमा भएको कार्यक्रममा नेमकिपा काठमाडाँै जिल्ला समितिका अध्यक्ष नारायण महर्जन, राजवीर डंगोललगायतले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *