भर्खरै :

बालबालिका र निर्दोष मारिनुमा संरा अमेरिका, युरोप दोषी ः पोप

भ्याटिकन, ७ अप्रिल (एपी) । रोमन क्याथोलिक धर्मका सर्वोच्च धर्मगुरु तथा भ्याटिकन सिटीका प्रमुख पोप फ्रान्सिसले यमन, सिरिया, अफगानिस्तानलगायत युद्धक्षेत्र बनिरहेका देशमा बालबालिकासहित निर्दोष मानिसहरु मारिनुमा संरा अमेरिका र यूरोपका शक्तिशाली देशहरु दोषी रहेको बताएका छन् ।
मिलानको सान कार्लो प्रतिष्ठानमा विद्यार्थी र शिक्षकहरुलाई सम्बोधन गर्दै पोप फ्रान्सिसले भने –“युरोप र संरा अमेरिकाका धनीहरुले अत्याधुनिक हतियार बेचिरहेका छन् र ती हतियारले युद्ध क्षेत्र बनेका देशमा बालबालिका र हजारौँ निर्दोष मानिसहरु मारिएका छन् ।”
“हिंसा फैलिएका देशहरु यमन, सिरिया र अफगानिस्तानमा युद्ध भइरहने थिएन यदि हतियार नबेचिएका भए । त्यसैले हतियार उत्पादन गर्ने र विवेकरहित तवरले बेच्ने प्रत्येक देश बालबालिका र निर्दोष मानिसहरुको मृत्युका निम्ति दोषी छन् ।” पोपले भने ।
संरा अमेरिका र बेलायत, फ्रान्स, जर्मनी, टर्कीजस्ता मुख्य युरोपेली देशहरुले साउदी अरेविया, त्यसका पक्षधर देशहरु तथा इस्लामिक स्टेटजस्तो कट्टरपन्थी इस्लामिक आतङ्कवादी समूहलाई समेत हतियार बेचेका छन् ।
गएको मार्चमा मात्र लण्डनमा मुख्यालय रहेको बालअधिकार एड्भोकेसी समूहले यमनमा हरेक महिना ३७ बालबालिका संरा अमेरिका–साउदी गठबन्धन सेनाले गर्ने हवाई बम हमलामा परी मर्ने गरेको तथ्य सार्वजनिक गरेको थियो ।
सिरियामा सरकारविरुद्ध लडिरहेका विभिन्न कट्टरपन्थी तथा आतङ्कवादी लडाकू समूहहरुसित संरा अमेरिका र युरोपमा बनेका हतियारहरुको देखिएका र बरामद गरिएका छन् । बेलायतमा रहेको सिरियन अब्जरभेटरी फर ह्युमन राइटसले सन् २०११ मा देश हिंसामा फसेदेखि २१ हजारभन्दा बढी निर्दोष बालबालिकाको ज्यान गएको बताएको छ ।
आतङ्कवादविरुद्ध युद्धको नाममा संरा अमेरिकाले २००१ मा अफगानिस्तानमा युद्ध र कब्जा गर्दा हरेक वर्ष हजारौँ निर्दोष नागरिक र केटाकेटीहरुको ज्यान गइरहेको छ ।
पोप फ्रान्सिसले विभिन्न देशबाट दुःख पाएर शरण माग्न आएका आप्रवासीलाई स्वागत गर्न आह्वान गर्दै आप्रवासीहरुको वृद्धि र अपराधका घटनाका वृद्धिमा कुनै प्रत्यक्ष सम्बन्ध नभएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *