भर्खरै :

लगानी सम्मेलन र रोजगारी

भैरव रिसाल
गएको शुक्रबार र शनिबार नेपाल लगानी सम्मेलन काठमाडौँमा भयो । थाहा भएसम्म यो तेस्रो नेपाल लगानी सम्मेलन हो । गएका दुईटा सम्मेलन ठूलो कुँडेमा आधाभन्दा पनि थोरै दूध राखेर तताउँदा दूध र आगोको उष्णताको रसायन मिलेर दूध उम्लन्छ र कुँडेभरि हुन्छ । आगोको राप मत्थर नगराए दूध उम्लेर पोखिन्छ, आगो नै निभ्न पनि सक्छ । दूध तताउने मान्छे बुद्धिमान रहेनछ भने त्यो उम्लिएको दूधदेखि उत्साहित भै यति दूध भइहाल्यो अब खीर पकाउँछु भनी त्यहीअनुसार चामल हाल्यो भने खीर त बन्ने कुरै भएन चामल दूधमा ढाडिन पनि सक्दैन । परिणाम दूध पनि खेर जान्छ चामल पनि खेर जान्छ । साधारण मान्छेले एक थोक नोक्सान गर्छ भने मूर्ख मान्छेले दुवै थोक नोक्सान गर्छ । यही सोचका आधारमा मैले चेतावनीको लयमा भनेको थिएँ यो लगानी सम्मेलन कुँडेमा उम्लिएको दूध होला ? तर, सम्मेलनको अन्तमा जुन खालका प्रतिबद्धताअनुसार केही आयोजनामा संयुक्त हस्ताक्षर भए, त्यो हेर्दा यस अघिका दुईटा लगानी सम्मेलन भन्दा फरक नतिजा सामुन्ने आयो । अब, लगानीकर्ताहरूलाई रत्याउन सकिएन भने लगानी नहुन पनि सक्छ । रत्याउन कहिले त आफ्नो राष्ट्रिय हित र राष्ट्रिय स्वार्थ नै तिरोहित हुन जान्छ । यस्ता दुर्घटना संसारमा कति भएका छन् कति ? नेपाल पनि यस्तोमा धेरैपल्ट ठगिएको छ । तत्कालीन शाही नेपाल वायुसेवा निगम एकपल्ट नराम्ररी ठगिएको सम्झना छ ।
यो अन्त होइन प्रारम्भ
संसारमा ठगी धन्दा धेरैतिर भइरहेका छन् । अन्तर्राष्ट्रिय ठगहरू यस्तै धन्दाबाट वित्पातका धनी भएका धेरै छन् । लगानीकर्ताहरू स्वयम् सेवा गर्न आएका हुँदैनन्, न त आएका हुन्छन् परोपकार गर्न नै । नाफाका निम्ति, अझ कुन देशमा लगानी गर्दा बढी मुनाफा हात पार्न सकिन्छ भन्ने सूक्ष्म हिसाब गरी जहाँ, जेमा लगानी गर्दा बढीभन्दा बढी लाभ हात पर्छ त्यहीँ त्यसैमा लगानी गर्छन् । यो गाँठी कुरा लगानी गर्नेलाई त पूराका पूरा अवगत हुने नै भो, लगानी खोज्ने पक्षलाई पनि थाहा हुन्छ । तथापि उसको पनि लगानी भएन भने सम्पत्ति बढ्ने भएन । दिनदिनै धनको मूल्याङ्कन ऋणात्मक भइरहने यथार्थमा पैसाको खेलो नगर्ने हो भने सुतेको पैसो, आराम गरेको पैसो अङ्कमा मात्र कायम रहन्छ, मूल्यमा ¥हास भइनै रहन्छ । पैसो भनेको अङ्कमा मूल्यवान हुँदैन मूल्यमा नै मूल्यवान हुनुपर्छ । अर्थशास्त्रको यो साधारण फर्मुला हो, तसर्थ जुनकुनै पनि पैसावाललाई यो सूत्र कण्ठस्थ नै हुन्छ । यो पक्षमा बरु लगानी खोज्ने पक्ष कमजोर हुन्छ । यो भूमिकामा अस्ति शनिबार सम्पन्न तेस्रो लगानी सम्मेलनको मूल्याङ्कनको औचित्य हुन्छ भन्ने लाग्छ । सरसर्ती हेर्दा जो भयो त्यो सानु प्रयास र प्रयत्नबाट मात्र सम्भव थिएन, सानु परिश्रमले हुँदैनथ्यो । समग्रमा विचार गर्दा वा सूक्ष्म समीक्षा गर्दा यो जो भो त्यो लरतरो अवश्य नै होइन । तर, यो अन्त होइन प्रारम्भमात्र हो । मार्च त अब सुरू हुन्छ । यो तथ्य आत्मसात् गरिएन भने फेरि दिग्भ्रम हुन थाल्छ अनि कहीँ पुगिन्न ।
आकर्षक १३ आयोजना
अस्ति सम्पन्न लगानी सम्मेलनको दृश्य पनि कम रोचक कहाँ छ र ! सहभागी मुलुक नै ४० ! विदेशी पाहुना ७३५, स्वदेशी सहभागी ६००, विदेशी कम्पनी ३००, स्वदेशी कम्पनी १००, द्विपक्षीय वार्ता ६९, संयुक्त लगानीमा सम्झौता ६, लगानीका सम्झौता ४, लगानी घोषणा ३, लगानी प्रतिबद्धता १, सहकार्यको समझदारी २ कति विचित्रको छ यो स्वरूप र आकृति ! सम्मेलनमा विदेशी लगानीकर्ताहरूले लगानीका लागि गरेको आवेदन हौस्याउने खालको छ । परियोजना र अनुमानित लगानी पनि चानचुने कहाँ छ र ? निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि ३ अर्ब अमेरिकी डलरका दुईवटा आवेदन परेछन् । काठमाडौँ बाहिरी चक्रपथका लागि १ अर्ब, ८७ करोड, १० लाख डलरको दुई आवेदन । अब अर्ब डलरको काठमाडौँ मेट्रो रेल, १४ करोड १५ लाख डलरको बस, ¥यापिड ट्रान्जिट (वीआरटी), टमोर जलाशय परियोजनाका लागि दुईवटा निवेदन जसको बजेट १ अर्ब ३ करोड डलरको छ, कम आकर्षक छ र ? यस्तै पश्चिम सेती जलविद्युत् आयोजना, बजेट १ अर्ब ४८ करोड डलर ! ५४ लाख ५० हजार खर्च हुने एकीकृत कृषि परियोजना, उर्लाबारी, बनेपा र चितवनमा भनिएको एकीकृत कृषि परियोजना रकम ४४ लाख ३० हजार डलर ! ५६ लाख ३० हजार डलर खर्च गरिने हेम्जा पोखरा अर्को एकीकृत कृषि परियोजना । त्यस्तै धुलिखेल मेडिसिटी ७ करोड ४० डलरको । १ करोड ४० लाख डलर खर्चिने अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका लागि दुई आवेदन, ५५० मेगावाट सोलार (सो केस बाहिरको) लगानी नखुलेको लजिष्टिक टर्मिनल सोके बाहिरको (लगानी नखुेलको) समेत ।
हेर्नु छ के के आयात रोक्छ
पैसाको आँखाले हेर्दा यी आयोजनाको कुल लगानी १२ खर्ब १५ अर्ब हुँदो रहेछ । अहिलेको सटही दरमा १० अर्ब १५ करोड अमेरिकी डलर । सो लगानी सम्मेलनमा नेपाल सरकारका तर्फबाट ५० वटा र निजी क्षेत्रका तर्फबाट १७ वटा परियोजना प्रस्तुत गरिएका थिए । तर, लगानीका लागि १७ परियोजनामात्र छानिएका छन् गत शनिबारसम्म । लगानी बोर्डका प्रमुख बाँकी परियोजनाका लागि थप आवेदन आउनेमा ढुक्क छन् । किनकी आवेदन दिने अन्तिम दिन २० अप्रिल हो नि त ! भन्छन् । कतिपय परियोजनामा एउटा मात्र कम्पनीले होइन दुई वा दुईभन्दा बढी कम्पनी मिलेर पनि आवेदन दिएका छन् । नेपालको विकास प्रयासको योजनाबद्ध थालनी २०१३ सालदेखि भएको हो । जुनबेला प्रथम पञ्चवर्षीय योजना लागू भयो । त्यसपछि पनि निकै वर्षसम्म नेपाल धान–चामल निर्यात गथ्र्यो आफूलाई खान पुगेर । नेपाल खाद्यान्नमा आत्मनिर्भर थियो । खाद्यान्न नेपाललाई पर्याप्त थियो । त्यसैले धान–चामल कम्पनी खोलेर निर्यात गथ्र्यो नेपाल । तर, विडम्बना क्रमशः खाद्यान्न आफैलाई पर्याप्त हुन छाड्यो । हुँदा हुँदा अहिले नेपाल चामलमात्र आयात गर्दैन, खाद्यपदार्थ झण्डै झण्डै सबै थोक आयात गर्छ । हो, अदुवा निर्यात गर्छ तर अदुवा आयात पनि गर्दो रहेछ नेपाल । जिम्मु त आयात गर्छ गर्छ किनकि नेपालमा जिम्मु खेती गरिँदैन तर कागती, बेसार, खुर्सानी, सूप, धनियाँ, लसून, प्याज, दूध, तरकारी, गेडागुडीसमेत मनग्गे आयात गर्छ । कोदो आयात गर्छ, जौ, मकै, भटमासजस्ता वस्तु करोडौँको होइन अरबौँको आयात गर्छ । कुखुरा र कुखुराको फूल आयात नगरे पनि कुखुराको दानाका लागि मकै र भटमास, सिद्रा, हाडको धूलो, दर्शनढु·ाको धूलोसमेत आयात गर्छ । लगानी सम्मेलनले के के आयात रोक्छ, हेर्नुछ !
उनीहरू नै भाले होलान् ?
लगानीकर्ताहरू विछट्टै बाठा हुन्छन् । दुनियाँभर लगानी गरेर बटुलेको अनुभव हुन्छ उनीहरूसँग । यसो भनेर नेपालजस्तो आर्थिक अवस्थामा कमजोर तथा अल्पविकसित राष्ट्रका सामु वैदेशिक लगानीको खाँचो भने छ । यस्तो घुमाउरो अवस्थाको कसरी उपयोग गर्ने त्यो मुख्य कुरा हो । विदेशी लगानीको आकर्षणका लागि आफ्नो देशको अमूल्य प्राकृतिक स्रोत तथा साधन विदेशीको कब्जामा पर्ला र पछिल्लो पुस्ताले झन् दुःख पाउला । नेपालको विगत कठोर छ । सरकारमा गएका पार्टीहरूले नेपालका सार्वजनिक उद्योग, कलकारखाना नगण्य मूल्यमा निजी क्षेत्रलाई बेचे । जसले गर्दा मुलुकको अर्थतन्त्र ध्वस्त भयो । त्यसरी नाममात्रको मूल्यमा बेचिएका कलकारखाना मित्र राष्ट्रहरूको आर्थिक एवम् प्राविधिक सहयोगमा स्थापित र विकसित भएका थिए । यस्ता कैयाँै उद्योगधन्दा बन्द गरिए । वीरगञ्जको चिनी कारखाना, कृषि औजार कारखाना, काठमाडौँ बाँसबारीको छाला जुत्ता कारखाना, जनकपुरको चुरोट कारखाना, हेटौँडा औद्योगिक क्षेत्रको कपडा कारखाना, गोर्खाको टायर कारखानाजस्ता उद्योगधन्दा कौडीको मूल्यमा बेचे पार्टीहरूको सरकारले या बन्द गर्नुपर्ने अवस्थामा पुग्ने वातावरण निर्माण गरे । इँटा टायल कारखानाको पनि यही हालत गराए । अब अहिले लगानी सम्मेलनले विदेशी लगानीलाई आह्वान गरेको छ । लगानीकर्ताहरूको हात पर्ला स्रोत र साधन । यसमा सारै सूक्ष्म दृष्टि आवश्यक छ । कतै उनीहरू नै भाले होलान् !
थाङ्नामा सुताउलान् !
नेपाल विकासको भोको छ । भोकाएको व्यक्ति धेरै धैर्य गर्न सक्दैन । त्यस्तै नेपाल पनि भोको छ । भोकाएको व्यक्तिले धैर्य टुटाएझैँ राष्ट्रले धैर्य टुटाउला र देश ध्वस्त होला । यसो भनेर विदेशी लगानी निषेध गर्ने भनेको होइन । विदेशी लगानीको नितान्त खाँचो छ । खाँचो टार्ने नाममा हाम्रा अगणित एवम् दुर्लभ प्राकृतिक स्रोत र साधनको विदेशी लगानीकर्ताहरू मालिक होलान् । निकै होशियारीको जरूरत छ । यस मामिलामा पनि संसारले दंगल खाइसकेको छ । अफ्रिकाका कैयौँ राष्ट्रका हिराखानीका मालिक विदेशी लगानीकर्ता छन् । त्यस्तै अरू अरू दुर्लभ एवम् बहुमूल्य पत्थर, धातु, तेल, कोइलाजस्ता स्रोतका मालिक विदेशी लगानीकर्ता छन् । स्वदेशी खाँटी नागरिकले स्रोत–साधनको स्वामित्व त कता हो कता रोजगारीसमेत पाउँदैनन् । यो यथार्थ वस्तुस्थितिको चित्र कविता होइन जो परिकल्पनाका आधारमा तयार पारिन्छ वा सिर्जना गरिन्छ । ल्याटिन अमेरिकाको स्थिति पनि धेरै फरक छैन । यसर्थ वैदेशिक लगानी आमन्त्रण गर्दा दीर्घकालीन दृष्टिबाट अद्योपान्त, छेउ–पुच्छरसम्मको अध्ययनपश्चात् मात्र सही धस्काउनुपर्छ । हामी यस मामिलामा निकै कच्चा छौँ, अनुभव छैन । लगानीकर्ताहरूले परिआउँदा संसारका महँगा कानुन व्यवसायी प्रयोग गरी हामीलाई थाङ्नामा सुताउलान् । यसमा अधिकतम सतर्कता जरूरी छ ।
रोजगारी किन नगाँसिएको ?
तेस्रो लगानी सम्मेलन भव्यताका साथ समापन भएको भनी सरकार फुरू· छ । प्रधानमन्त्री केपी शर्मा ओली त अति अझ अति नै द· भएको देखिन्छ हाउभाउ र अभिनयले । हो प्रारम्भिक चरणमा लगानी सम्मेलन विफल भएन बरु सफल भयो । यसो हुँदा सरोकारवालाहरू प्रसन्न हुनु, सन्तुष्ट हुनु अस्वाभाविक कहाँ हो र ? हो त, सो लगानी सम्मेलनमा झण्डै झण्डै १७ खर्ब ३० अर्ब रूपैया लगानी गर्ने प्रस्तावहरू आएका छन् । यसरी प्रस्ताव गर्नेहरूमा स्वदेशी एवम् विदेशी दुवै थरि छन् । लगानीका निम्ति प्रस्ताव पेश गर्ने समय अझै बाँकी भएकाले थप लगानी प्रस्ताव आउने आशामा छन् आयोजकहरू । लगानी सँगसँगै स्वदेशमा नै रोजगारीको ढोका कति र कत्रा कत्रा खुल्छन् । सोको प्रक्षेपण पनि समवेत गरेको भए अरू राम्रो हुने थियो । त्यसतर्फ ध्यान नपुगेको हो वा प्राथमिकता नदिएको हो स्पष्ट भएको छैन । स्वदेशमा भनेजस्तो रोजगारी नपाउँदा बर्सेनि लाखौँ लाख नेपाली युवाशक्ति बाहिरिँदै छ वैदेशिक रोजगारीको लागि । परराष्ट्र मन्त्रालयबाट राहदानी लिएर विमानबाट विदेश जानेहरूको अभिलेख पाइन्छ । यसमा पनि अवैध बाटोबाट दलालहरूको फास्ल्याङ फुस्लुङमा विदेश जानेहरूको सङ्ख्या पनि ६ अङ्क नाघ्यो होला । यस अतिरिक्त खुला सिमानाका कारण बिना अभिलेख छिमेकी भारत झर्नेहरू पनि केही लाख छन् । यी मौसम र ऋतुअनुसारका हुन्छन् । त्यस्तै परिवार यता काम गर्न आउनेहरूको सङ्ख्या पनि सानो छैन ।
तोरी लाहुरेको देश होला ?
नेपाली युवा अब अलि बढी सचेत भएको छ । शिक्षा अपेक्षाकृत नभए पनि व्यापक हुँदैछ । युवावय सपना साना देख्दैन । परिकल्पना पनि चानचुने गर्दैन । जस्तै भए पनि सुकिला लाउन खोज्छ । तर, हामीकहाँ खेती गर्दा सुकिलो बस्न कठिन छ । खेती गर्नेले प्रायः पशुपालन पनि गर्छ । यद्यपि काठमाडौँ खाल्डो र त्यसको प्रभावमा परेका खाल्डोबाहिरका गाउँमा पनि गाई–भैँसी पाल्ने चलन क्रमशः विस्थापित हुँदैछ । गाई–भैँसीको भकारो सोहोर्ने र मल बोक्ने घरमा बुहारी भएर जान नमान्ने छोरीहरू प्रशस्त भइसके । यसो भएपछि जनता–कृषकको घर परिवारको अर्थतन्त्र नै बरबाद भइरहेको छ । घरमूली कृषकको पुरानो कृषि र पशुपालनको संयुक्त अर्थतन्त्र क्रमशः ¥हास भइरहेको छ । यो पृष्ठभूमिमा लगानी सम्मेलनको उपलब्धिस्वरूप हुने लगानीको अरू परियोजनाभन्दा एकीकृत कृषि परियोजनाले बढी रोजगारी सिर्जना गर्नुपर्ने हो, के हुन्छ हेर्न बाँकी नै छ । अहिलेसम्म एकीकृत कृषि परियोजना तीन वटामा लगानीले रूची देखाएको छ । त्यसमा पनि यन्त्रप्रधान पद्धति भयो भने रोजगारी अत्यन्त कम सिर्जना हुने भो । आयप्रधान कृषि शैली भयो भनेमात्र स्वदेशमै रोजगारी सिर्जना हुने भो । अहिलेको कक्षा १०, १२ र १४ मा अध्ययन गरेका युवा आकर्षित हुने पद्धति अवलम्बन गर्नु चुनौती हुनेछ । अब लगानी हुने परियोजनाले आकर्षक रोजगारी सिर्जना गर्न सक्नुप¥यो अन्यथा नेपाल लाहुरेको देश, अझ तोरीलाहुरेको देश हुनेछ । यस दिशातिर पनि गम्भीर ध्यान जावस् ।
२०७५ चैत १

Leave a Reply

Your email address will not be published. Required fields are marked *