भर्खरै :

गोकर्णेश्वरले पनि बनायो, स्थानीय पाठ्यक्रममा बिपीदेखि विकलसम्म

–पूर्णप्रसाद मिश्र
काठमाडौँ, २७ चैत । शैक्षिक सत्र २०७६ देखि नै लागू गर्ने गरी गोकर्णेश्वर नगरपालिकाले स्थानीय पाठ्यक्रम पारित गरेको छ ।
नगरपालिकाका आधारभूत तहका शिक्षण संस्थामा लागू गर्नेगरी कार्यपालिकाको बैठकले पाठ्यक्रम स्वीकृत गरेको प्रवक्ता एवं वडाध्यक्ष मनोजकुमार ढुङ्गानाले जानकारी दिनुभयो ।
नगरपालिकाभरका सबै विद्यालयले एउटा विषय स्थानीय पाठ्यक्रमका पाठ्यपुस्तक समावेश गर्नुपर्नेछ । पाठ्यक्रम पारित गरी पाठ्यपुस्तक छाप्न दिइएको नगरपालिकाले जनाएको छ । पाठ्यक्रममा नगरपालिकाको भौगोलिक तथा प्राकृतिकस्वरुपको पहिचान, नगरपालिकाभित्र रहेका ऐतिहासिक, धार्मिक तथा पर्यटकीयस्थलको जानकारी, स्थानीय जात्रा, चाडपर्व, मेला, स्थानीय तहमा सञ्चालित उद्योगधन्दा, पेशा व्यवसायको परिचयलगायत विषयवस्तु समावेश गरिएको
स्थानीय विषयको पाठ्यक्रम निर्माण समितिका संयोजक कृष्णप्रसाद नेपालले बताउनुभयो ।
राजधानीको उत्तरपूर्वी भागमा रहेको नगरपालिकामा ऐतिहासिक तथा धार्मिक हिसाबले महत्वपूर्ण शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको केही क्षेत्र,सुन्दरीजल, तारेभीर जस्ता मनमोहक पर्यटकीय क्षेत्र छन् । वाग्मती नदीको मुहान बागद्वार, गोकर्णेश्वर महादेव मन्दिर पनि यसै नगरपालिकामा रहेको छ ।उपत्यकाको सभ्यताको स्रोतका रुपमा बग्ने वाग्मतीको शिरोभाग गोकर्णेश्वर नगरक्षेत्र भएर पशुपतिनाथ मन्दिर क्षेत्रमा प्रवेश हुन्छ ।
पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालालाई करीब १० वर्ष बन्दी बनाइएको सुन्दरीजल बन्दी गृह हालको बिपी सङ्ग्रहालय पनि नगरपालिकाको वडा नं १ वडामा पर्छ ।
प्रगतिशील साहित्यकार विकलको जन्मस्थान समेत यसै नगरपालिका– ९ स्थित आरुबारीमा पर्छ । हाल उहाँको जन्मघरमा विकल साहित्य प्रतिष्ठान र सङ्ग्रहालय निर्माण गरिएको छ । विसं २००७ मा प्रजातन्त्र स्थापनाका लागि शहादत प्राप्त गर्नेदेखि तराई–मधेश आन्दोलसम्मको परिवर्तनका लागि योगदान गरी
सरकारले शहीद घोषणा गरेकाको स्मृतिमा निर्माण भइरहेको राष्ट्रिय शहीद तथा शान्ति स्मारक (पार्क) का विषय पनि पाठ्यक्रम एवं पाठ्यपुस्तकमा समावेशगरिएको छ ।
यसैगरी योग अभ्यासको विषय पनि पाठ्यक्रममा समावेश गरिएको छ । मेलम्ची खानेपानी आयोजनाको उपत्यका प्रवेशद्वार, पानी सञ्चय गरी प्रशोधन गर्ने अत्याधुनिक पोखरी जस्ता महत्त्वपूर्ण धरोहर पनि यहीँ छन् । यहाँको धार्मिक धरोहर, कला संस्कृति र सभ्यता, सामाजिक मूल्यमान्यता आधुनिक विकासले ओझेलमा पार्दै जान थालेका थिए ।
पश्चिमा सभ्यता र संस्कृतिले यहाँका मौलिकतालाई पाखा लगाउँदै जान थालेकामा आधारभूत तहकै पाठ्यक्रममा समावेश गरी अध्ययन अध्यापन शुरुगरेपछि संरक्षण हुने विश्वास लिइएको छ । नगरपालिकाभित्र बस्ने नागरिकलाई गोकर्णकै परिचय नहुने अवस्था सिर्जना हुन थालिसकेकाले यहाँको मौलिक र संस्कृतिक धरोहरलाई भोलिका पुस्ताले इतिहासका पानामा खोज्नुपर्ने अवस्था आउन नदिन आधारभूत तह (कक्षा १ देखि ८) को पाठ्यक्रमले भूमिका खेल्ने उहाँकोविश्वास छ ।
पाठ्यक्रम राष्ट्रिय पाठ्यक्रम पारुप २०६३ तथा आधारभूत शिक्षा (कक्षा ६–८) पाठ्यक्रम २०६९ मा गरिएको व्यवस्थाको अधिनमा रही तयार पारिएकोजनाइएको छ । यसमा १०० पूर्णाङ्कको मातृभाषा वा स्थानीय विषय वा संस्कृत वा अन्य विषय राख्न सकिने भनी व्यवस्था गरिएको छ ।
यसैलाई आधार मानी यो पाठ्यक्रम तयार पारिएको समितिले जनाएको छ । गत मङ्सिरदेखि विभिन्न चरण पूरा गरी पाठ्यक्रम निर्माण गरिएको हो ।
सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापक, स्थानीय शिक्षाप्रेमी, बुद्धिजीवीहरुको भेला बोलाई प्रस्तुत मस्यौदामाथि समूहगत रुपमा छलफल गराई सुझाव सङ्कलन गरिएको थियो । प्राप्त सुझाव समेतका आधारमा परिमार्जन गरी पाठ्यक्रम विकास केन्द«का विज्ञसँग पनि परामर्श गरी यसलाई अन्तिमरुप दिइएको हो ।
स्थानीय विषयको पाठ्यक्रमलाई तीन खण्डमा विभाजन गरिएको छ । पहिलो खण्डमा पाठ्यक्रमका सैद्धान्तिक पक्ष छ । सैद्धान्तिक पक्षका लागि पूर्णाङ्क ५० र प्रयोगात्मक पक्षका लागि पूर्णाङ्क ५० निर्धारण गरिएको जनाइएको छ । (रासस) ः

Leave a Reply

Your email address will not be published. Required fields are marked *