भर्खरै :

सहयोगीलाई कदरपत्र वितरण

मध्यपुर, २८ चैत । नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य तथा प्रदेश नं. ३ का सांसद सुरेन्द्रराज गोसाईले बोडेको महालक्ष्मीस्थानमा बिहीबार निःशुल्क स्वास्थ्य शिविरमा सहयोग गर्ने व्यक्ति तथा संस्थाका पदाधिकारीहरूलाई कदरपत्र वितरण गर्नुभएको छ ।
परम्परागत संस्कृति बचाउन पटक–पटक जिब्रो छेड्ने बुद्धिकृष्ण बाग श्रेष्ठलाई सम्मान गर्दै सांसद गोसाईले कला र संस्कृति क्षेत्रमा सरकार किँकर्तव्यविमूढ भइरहेको हुँदा संस्कृतिप्रेमीहरू सचेत हुनुपर्छ भन्नुभयो ।
सत्तासीन दलका नेता तथा उच्चपदस्थ व्यक्तिहरूको विदेशमा उपचार गर्न खर्च हुने तर सर्वसाधारण जनताको स्वास्थ्योपचारमा बेवास्ता गर्ने सरकार शोषित–पीडित जनताको पक्षमा नरहेको बताउनुभयो ।
प्रदेश नं. ३ का नेमकिपाका अर्का सांसद सृजना सैंजूले महिलाहरू राजनीतिक, सांस्कृतिक र सामाजिक क्षेत्रमा सक्रिय भए समाज परिवर्तन गर्न कठिन नहुने विचार व्यक्त गर्नुभयो ।
राजनीतिकरूपले सचेत नभएका महिलाहरू पदमा पुगे पनि समस्या समाधान नहुने विचार राख्दै उहाँले शिक्षित मानिसहरू पनि अन्धविश्वासमा लागेको हुँदा महिला समस्या विकराल भइरहेको बताउनुभयो ।
धर्मपुर महिला समूहका अध्यक्ष राजेश्वरी था श्रेष्ठको सभापतित्वमा भएको सो कार्यक्रममा मध्यपुर नपा वडा नं. ८ का वडाध्यक्ष देवकृष्ण मोय, भक्तपुर क्यान्सर अस्पतालका नर्सिङ विभाग प्रमुख लक्ष्मी श्रेष्ठ, नीलबाराही साकोसका सचिव केदार खड्का, बुद्धिकृष्ण बाग श्रेष्ठ र सुरेन्द्र था श्रेष्ठले पनि आ–आफ्नो विचार व्यक्त गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *