भर्खरै :

पर्यटन विकासका लागि ‘वृत्तचित्र’

काठमाडौँ, १ वैशाख (रासस) ः गोरखाको उत्तरी क्षेत्रस्थित धार्चे गाउँपालिकालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नका लागि त्यहाँको वृत्तचित्र तयार गरिएको छ । समुद्र सतहदेखि तीन हजार १०० मिटर उचाइमा रहेको धार्चे गाउँपालिकालाई स्वदेश तथा विदेशी पर्यटकमाझ चिनाउन तयार पारिएको वृत्तचित्र आज यहाँ आयोजित समारोहमा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं राष्ट्रियसभाका प्रमुख प्रतिपक्षी दलका नेता सुरेन्द्र पाण्डेले विमोचन गर्नुभयो । सो अवसरमा नेता पाण्डेले प्राकृतिक रुपमा धनी भए पनि भौगोलिक रुपमा धार्चे गाउँपालिका पछाडि परेकाले यसको विकासका लागि तीनै तहका सरकारले विशेष सहयोग गर्नुपर्ने बताउनुभयो । “पर्यटकका लागि मोटरबाटोसँगै पदमार्ग निर्माणमा समेत गाउँपालिकाले महत्वपूर्ण भूमिका खेल्नुपर्छ,” उहाँले भन्नुभयो, “धार्चेमा उत्पादित जडीबुटीलाई विश्वमाझ पु¥याउनुपर्छ ।” काङ्ग्रेस केन्द्रीय सदस्य चीनकाजी श्रेष्ठले १० वर्षे जनयुद्धका कारण गोरखाको विकास पछाडि परेको बताउँदै दुर्गम गाउँको विकासका लागि सरकारले विशेष योजना बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । गोरखाका पूर्व सांसद छमबहादुर गुरुङले धार्चे गाउँपालिकालाई गोरखाको नमूना गाउँपालिकाको रुपमा विकास गर्नुपर्ने बताउनुभयो । नेपाली काङ्ग्रेस गोरखाका प्रदेशसभा सदस्य मनकुमारी गुरुङले धार्चे गाउँपालिकालाई पर्यटकीय गाउँपालिकाको रुपमा विकास गर्नुपर्ने बताउनुभयो । पर्यटन पत्रकार सङ्घका अध्यक्ष नारायण भण्डारीले धार्चेभित्रको संस्कृति, कला र पर्यटकीय स्थललाई विश्वमाझ चिनाउन पत्रकार सङ्घले सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । साविकको केरौजा, उहिया, लाप्राक, गुम्दा, काशीगाउँ र लापु गाविस मिलेर बनेको धार्चे गाउँपालिकाको पर्यटन विकासका लागि रु पाँच लाख खर्च गरेर वृत्तचित्र निर्माण गरिएको गाउँपालिका अध्यक्ष सन्तबहादुर गुरुङले जानकारी दिनुभयो । धार्चे गाउँपालिकामा विसं २०६८ को तथ्याङ्कअनुसार तीन हजार १२८ घरधुरी तथा १३ हजार २२९ जनसङ्ख्या रहेको छ । विसं २०७२ को भूकम्पको केन्द्रविन्दु जुगान डाँडालाई लक्षित गरी चार दिनको ‘इपिसेन्टर ट्रेकिङ ट्रेल’ भ्रमण तालिका तयार पारेको छ । अधिकाशं गुरुङ बस्ती रहेको गाउँपालिकामा आलु महोत्सव र मकैविवाह महत्वपूर्ण सांस्कृतिक पर्वहरु मनाउने गरिएको गाउँपालिकाका उपाध्यक्ष फुलमाया गुरुङले जानकारी दिनुभयो । गाउँपालिकाले गाउँका जनताको सेवाका लागि ‘हेलो गाउँले प्रमुख’ निःशुल्क टोल फ्रि नम्बर समेत चलाएको छ । सोही अवसरमा धार्चे गाउँपालिकाभित्र रहेका सांस्कृतिक पर्व, प्राकृतिक सम्पदा, रहनसहन, वेशभूषालगायतका तस्बिर समेत प्रदर्शन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *