भर्खरै :

टोखामा जात्रा शुरु भक्तजनको घुइँचो

काठमाडौँ, १ वैशाख (रासस) ःटोखाको सपन तीर्थ पोखरीमा स्नान गर्न भक्तजनको आज घुइँचो लागेको छ । काठमाडौँको उत्तरतर्फ रहेको टोखामा प्रत्येक वर्ष वैशाख १ गते हुने उक्त जात्रामा सहभागी हुन काठमाडौँ तथा आसपासका भक्तजन सहभागी भएका हुन् । सपन तीर्थ कुण्डमा स्नान गरेमा कुनै पनि छालासम्बन्धी रोग तथा अन्यब्याधीबाट मुक्त भई परिवारमा सुख, शान्ति तथा समृद्धि कायम हुने जनविश्वास छ । टोखामा प्रत्येक नयाँ वर्षमा बिस्केट जात्रा गरिने हुँदा पोखरीमा स्नान गरेपछि उक्त जात्रामा समेत भक्तजन सहभागी हुने परम्परा छ । जात्रामा स्थानीय कुमारी र गणेशलाई खटमा राखेर नगर परिक्रमा गराउने गरिन्छ । विद्याकी देवी सरस्वती, दरबारमा पुजिने कोथु गणेशलगायत सात देवी देवतालाई विशेष रूपमा मान्ने परम्परा छ । स्थानीयवासीले खटलाई स्नान गराएपछि पोखरीमा गहना खोज्ने गरिन्छ । लिच्छवीकालदेखि नै यो जात्रा मनाउने परम्परा रहेको स्थानीयवासी मनिराज डङ्गोलले जानकारी दिनुभयो । सांस्कृतिक सम्पदाले भरिएको टोखामा विभिन्न जात्रा पर्व प्रचलनमा छन् । जीवित देवी कुमारी र गणेशलाई पनि बिस्केट जात्रामा सहभागी गराइन्छ । जात्राका लागि स्थानीय गणेश मन्दिर नजिकैको ठनेलाक्षी चोकमा घोडेजात्राको अघिल्लो दिन लिङ्गो ठड्याइएको थियो । उक्त टोलमा गणेश, चण्डेश्वरीलगायत देवी देवतालाई सिन्दूर हालेर जात्रा निकालिनुका साथै स्थानीय विभिन्न देवदेवीको पूजाजात्रा अवधिभर गरिन्छ । यहाँको बिस्केट जात्रामा भक्तपुरको जस्तो जिब्रो छेड्ने परम्परा छैन । प्राचीन समयमा यहाँको बस्तीमा विभिन्न खराब शक्तिले सर्वसाधारण जनतालाई दुःख दिन थालेपछि उनीहरुलाई सुरक्षित बनाउन जात्राको प्रचलन शुरु गरिएको मान्यता स्थानीयवासीमा रहेको जात्रा व्यवस्थापन समितिका अध्यक्ष गणेशमान श्रेष्ठले बताउनुभयो । जात्रालाई व्यवस्थित र भव्य बनाउन त्यहाँ आउने भक्तजन तथा पर्यटकको सुरक्षाका साथै जात्राका बारे जानकारी दिने व्यवस्था मिलाइएको छ । जात्रास्थलको वरपर क्षेत्रमा रक्सी, मादकपदार्थ तथा मदिराजन्य वस्तु खरीद बिक्रीमा प्रतिबन्ध लगाइएको जनाइएको छ । यहाँको बिस्केट जात्रा दुई चरणमा मनाइन्छ । लिङ्गो ठडाएपछि तीन दिनसम्म गरिने धार्मिक गतिविधि पहिलो चरणमा पर्छ भने चैत मसान्तदेखि पाँच दिनसम्म गरिने पूजा तथा जात्रालाई दोस्रो चरणमा लिइएको छ । यही वैशाख ५ गते विभिन्न ध्वजाले सिङ्गारिएको उक्त लिङ्गोलाई विधिपूर्वक पूजाआजा गरी ढालिन्छ र भोजभतेर गरी जात्रा समापन गरिन्छ । यस अवधिमा मुस्कानेश्वर महादेव, गणेश, सरस्वती, मसानकाली, सपन तीर्थ गणेश, कोथु गणेश र चण्डेश्वरीको मूर्तिलाई प्यागोडा शैलीको खटमा राखेर सिन्दूर जात्रा गर्दै नगर परिक्रमा गराइन्छ । जात्राको अवधिमा सिन्दूर जात्रा गरेर विभिन्न देवीदेवताका खट गुठियारले बोकेर नागको प्रतीकका रूपमा ठड्याइएको लिङ्गो परिक्रमा गराइन्छ । नारायण मन्दिरको पनि तीनपटक परिक्रममा गराइन्छ । स्थानीयवासीको सुरक्षाका लागि चण्डेश्वरी देवीको महत्वपूर्ण भूमिका रहेको विश्वासका साथ पूजा गरिन्छ । चोकमा विभिन्न देवी देवताका मुखुण्डो लगाएर नाच गरिने जात्रामा सर्वसाधारणको घरघरबाट फूल, अक्षता र सिन्दूर चढाउने गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *