भर्खरै :

संरक्षणको पर्खाईमा चुपिंघाटको उमामहेश्वर

भक्तपुर, १ वैशाख । संरक्षणको अभावमा भक्तपुर नगरपालिका वडा नं ५ चुपिंघाटस्थित उमामहेश्वर मन्दिर र वरपरका सांस्कृतिक सम्पदा नष्ट हुने अवस्थामा पुगेका छन् । बिस्का जात्राअन्तर्गत आइतबार योसिंख्योमा मेला भर्न गएका अधिकांश सर्वसाधारणले उमामहेश्वरको जीर्ण मन्दिर र वरपरको लथालिङ अवस्थाप्रति चिन्ता व्यक्त गरे । भक्तपुरको राइठोर परिवारको संरक्षकत्वमा रहेको सो परिसरको उचित हेरचाह नगर्दा उमामहेश्वर मन्दिरको दक्षिणी मोहडाको कलात्मक ढुङ्गे ढोका चोरी भइसकेको छ । २०७२ को वैशाखमा आएको भूकम्पका कारण त्यहाँका सबै मन्दिर जीर्ण छन् । वरपर झाडीले ढाक्दा पूरै क्षेत्र फोहोर र अव्यवस्थित बनेको छ ।
सँगैको शिवालय भने धौभडेल परिवारले संरक्षण गर्दै आएको छ । केही वर्षअघि सम्म त्यहाँ काठमाडाँै विश्वविद्यालयको सङ्गीत विभाग सञ्चालनमा थियो । हाल सो विभाग त्यहाँबाट अन्यत्र सारिएको छ । जर्मनीका तत्कालीन राष्ट्रपति डा.रोमन हर्गोजले सो विभागको सन् १९९६ नोभेम्बर २९ मा उद्घाटन गर्नुभएको थियो ।
सङ्गीत विभाग अन्यत्र सारिएपछि सो सांस्कृतिक क्षेत्र उपेक्षित अवस्थामा छ । धौभडेल परिवारको संरक्षणमा रहेको परिसर तुलनात्मक रुपमा संरक्षित भए पनि सँगैको उमामहेश्वर मन्दिर परिसरको संरक्षण गर्न हतार भइसकेको देखिन्छ । सो क्षेत्रमा रहेका शिलालेख तत्कालै संरक्षण नगरिए अक्षर नै नदेखिने सम्भावना बढ्दो छ । उमामहेश्वर मन्दिरमा रहेको शिलाखेल विसं १९९२ को शिलालेख खुइलिंदै गएको छ । मन्दिरका इँटा र ढुङ्गा सबै असरल्ल छरिएका छन् । बटुवाहरूले त्यहाँ दिसा पिसाब गर्ने गरेको देखिन्छ ।
भक्तपुर नपाको अग्रसरता
नष्ट हुने अवस्थामा पुगेका सांस्कृतिक महत्वका मूर्ति र मन्दिरको संरक्षणको लागि भक्तपुर नगरपालिकाले प्रारम्भिक पहल थालेको छ । सो क्षेत्रका प्रस्तर मूर्ति र बहुमूल्य सम्पदामाथि कुनै प्रकारको क्षति नहोस् भनी जोगाउने प्रारम्भिक काम भइसकेको भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले बताउनुभयो । राइठोर परिवारको स्वामित्वको क्षेत्र भएकोले कानुनी रूपमा नगरपालिकालाई काम गर्न केही समस्या भएको तर संरक्षणको दायित्वबाट नगरपालिका पछि नहट्ने उहाँको भनाइ छ ।
“त्यो क्षेत्रको संरक्षणको सम्बन्धमा बिस्कापछि नै सम्बन्धित परिवारसँग हामी बस्न खोज्दैछौँ । उहाँहरूको सल्लाहमा हामी आगामी दिन संरक्षणको पाइला कसरी चाल्ने हो, निक्र्योल गर्नेछौँ ।”, जोशीले भन्नुभयो ।
उमामहेश्वर क्षेत्रको संरक्षणको लागि सम्बन्धित परिवारले भक्तपुर नपा वडा नं ५ मा औपचारिक निवेदन दिइसकेको सो वडाका वडाध्यक्ष प्रेमगोपाल कर्माचार्यले बताउनुभयो । सो क्षेत्रको नाममा रहेको जग्गाको मुद्दाका कारण पनि संरक्षणमा समस्या आइपरेको सम्बन्धित धनीले बताएको उहाँले भन्नुभयो ।
भक्तपुर नगर क्षेत्र हनुमन्ते खोला किनार रहेका विभिन्न घाटजस्तै पुरातात्विक र सांस्कृतिक विशिष्टता बोकेको चुपिंघाटका सम्पदाको संरक्षण हुन सके पुर्खाले बनाएका अति विशिष्ट कलाको संवद्र्धन हुने देखिन्छ । धौभडेल परिवारको संरक्षणमा रहेको शिवालय परिसरभित्र रहेका बगैँचा र सम्पदा क्षेत्र हरेक बिस्का जात्रामा जात्रालुको आकर्षणको थलो बन्दै आएको छ । आइतबार पनि सो क्षेत्रमा हजारौँ मानिस तस्वीर खिच्न व्यस्त थिए । उमामहेश्वर क्षेत्रको समेत संरक्षण गर्न सके सो क्षेत्र धेरै मानिसको आकर्षणको केन्द्र बन्न सक्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *