भर्खरै :

केराका परिकार खाद्यवस्तुको रूपमा प्रयोग

– दुर्गा देवकोटा
लम्की, १ वैशाख । केराका परिकार खाद्यवस्तुको रूपमा प्रयोग हुन थालेको छ । कैलालीको टीकापुरमा कृषि व्यवसायी कालु हमालले केराका परिकारलाई खाद्यवस्तुको रूपमा प्रयोग गर्ने वातावरण मिलाएका छन् । ‘बनाना किङ’ को परिचयसमेत बनाइसकेका केरा व्यवसायी हमालले अहिले केराका ४० परिकार उत्पादन गर्छन् ।
हमालले १३ वर्षअघि विगतमा फलफूलका रूपमा मात्रै प्रयोग गरिने केराखेती गर्न सुरु गरे । उनले केराखेतीसँगै केराका परिकार बनाएर बेच्न थाले । “सुरु सुरुमा उनलाई धेरैले विश्वास गरेनन्, केराको परिकार के मीठो होला र ? भन्थे,” हमाल भन्छन्– “टीकापुर नगरपालिकाको मनिकापुरमा केराका परिकारमात्रै पाइने बनाना रेस्टुराँ खोलें । यो रेस्टुराँको चर्चा टीकापुरमा मात्रै सीमित रहेन ।” उनी थप्छन् – “टीकापुर घुम्न आउने हरेकजसो पर्यटक रेस्टुराँमा पुग्न थाले । कोही कोही केराको परिकार खानकै लागि पुग्न थाले । केराका परिकार सबैले रुचाए । धेरै मानिस टीकापुर पार्क जानुभन्दा पनि केराका परिकार खानकै लागि आउँछन् ।”
हमालको रेस्टुराँमा अहिले ४० थरीका केराका परिकार बन्छन् । ती सबै काँचो र पाकेको केराबाट बन्छन् । हमालको रेष्टुराँमा बनाना चिप्स, अचार, पकौडा, फिङ्गर चिप्स, चिल्ली, सेकुवा, समोसा, अम्लेट, मःमः, खिर, पराठा (रोटी), वाइन, ब्राण्डीलगायतका परिकार पाइन्छन् । हमाल भन्छन् – “यहाँ आउनेहरूमा धेरैजसो सपरिवारै आउँछन् । केराका परिकारलाई खानाका रुपमा खाएर बेलुका घर फर्कने चलन पनि छ ।” धेरैले यसलाई खानाको रूपमा पनि प्रयोगमा ल्याउन थालेका छन् ।
हमाल भन्छन् – “बनाना चिप्स धेरैको रोजाइमा पर्छ । एक प्लेटको २० रुपैयाँ बेच्ने गरिएको छ । यसलाई प्याकेटमा लैजान मिल्छ । ४० र ६० रुपैयाँका दुई छुट्टाछुट्टै प्याकेटमा उपलब्ध छ । काँचो केरा पातलो गरेर काट्ने । मसला मिसाएर तेलमा तारेपछि तयार हुन्छ ।” त्यस्तै उनको रेष्टुराँमा आउनेहरू केराको अचार नखाएर फर्कदैनन् । केराको चार प्रकारको अचार यहाँ पाइन्छ– काँचो केरा उमालेर तयार हुने अचार, बुङ्गाको अचार, जराको अचार र काँचो केराको चट्नी
पकौडा चाहिँ काँचो केरा काटेर चनाको बेसनमा मिसाएर बनाइन्छ । यसमा नून र खुर्सानी पनि मिसाइन्छ । “पछिल्लो समय यसलाई पनि धेरैले रुचाएका छन् ।” उनी थप्छन्– “फिङ्गर चिप्स बाहिरी जिल्लाका मानिसले कोसेलीको रूपमा पनि लैजाने गर्दछन् ।” त्यस्तै, केराको वाइन र ब्राण्डी पनि निकै बिक्री हुने गरेको छ । केराको वाइन र ब्राण्डी टीकापुर आउने र जाने मानिसले कोसेलीको रूपमा दिने र लैजाने चलन पनि बढेको छ । ‘एग्रो टुरिजम’ को विस्तारमा सक्रिय हमाल केराका परिकारबाट खाद्य अभावलाई टार्न सकिने बताउँछन् । उनी केराका परिकारबाट भोकमरी अन्त्य गर्नेमात्रै नभई केराका रेशाबाट टोपी, चप्पल, कागजलगायतका सामग्री उत्पादन गर्ने योजना रहेको बताउँछन् ।
यहाँ केराका परिकार खान आउनेले रुचाएर खान्छन् । “नेपालमा गर्ने चाहना भएमा एउटै उत्पादनलाई अनेक थरी बनाएर बेच्न सकिन्छ ।” पर्यटन व्यवसायी थर्कबहादुर शाह भन्छन्– “कालु हमालकै कारण टीकापुर केरा पाइने ठाउँ भनेर चिनिएको छ । यसकै कारण केराखेतीमा कृषकको आकर्षण बढेको छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *