भर्खरै :

विभागीय टोलीको वर्चस्व

– कुमार चौलागाईं
काठमाडौँ, ३ वैशाख । प्रदेश नं ५ का विभिन्न जिल्लामा जारी आठौँ राष्ट्रिय खेलकुदअन्तर्गत मङ्गलबारसम्म २५४ पदकको छिनोफानो भइसकेको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अनुसार मङ्गलबार बिहानसम्म ६७ स्वर्ण, ६६ रजत र १२१ वटा कास्य गरी कूल २५४ वटा पदकको छिनोफानो भएको हो । प्रतियोगिताको औपचारिक उद्घाटन हुन अझै दुई दिन बाँकी छ । प्रतियोगितामा समावेश भएको खेल भने चैत २७ गतेदेखि नै खेलाउन सुरु गरिएको हो ।
खेल सुरु भएको सात दिन हुँदासम्म पदक तालिकामा विभागीय टोलीको वर्चस्व देखिएको छ । तालिकामा त्रिभुवन आर्मी क्लब पहिलो, नेपाल पुलिस दोस्रो र सशस्त्र प्रहरीको एपिएफ क्लब तेस्रो स्थानमा रहेका छन । तालिकामा त्रिभुवन आर्मी १८ स्वर्ण, २० रजत र १४ कास्यसहित कूल ५२ पदकका साथ पहिलो स्थानमा छ ।
दोस्रो स्थानको नेपाल पुलिसले १३ स्वर्ण, १० रजत र ११ कास्यसहित ३४ पदक तथा एपीएफले ११ स्वर्ण, ११ रजत र १६ कास्यसहित ३८ पदक जितेका छन् ।
तालिकाको चांैथो स्थानमा रहेका सुदूरपश्चिम प्रदेशले छ स्वर्ण, पाँच रजत तथा नौ कास्य गरी २० पदक जितेको छ । प्रदेश नंं २ ले छ स्वर्ण, तीन रजत र दुई कास्य गरी ११, प्रदेश नं ३ ले पाँच स्वर्ण, आठ रजत र २४ कास्य गरी ३७, प्रदेश नं ५ ले चार स्वर्ण, पाँच रजत र ११ कास्य गरी २०, गण्डकी प्रदेशले दुई स्वर्ण, तीन रजत र ११ कास्य गरी १६, प्रदेश नं १ ले एक स्वर्ण, एक रजत र १९ कास्य गरी २१, गैरआवासीय नेपाली सङ्घ (एनआरएन) एक स्वर्ण, दुई कास्य गरी तीन र कर्णाली प्रदेशले दुई कास्य जितेका छन् ।
वैशाख ११ गतेसम्म हुने प्रतियोगितामा १ हजार ३०७ पदकका लागि ५ हजार २११ खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगितामा समावेश गरिएका ३५ खेलमा ५ हजार २११ खेलाडीको सहभागिता रहेको छ । तीमध्ये २ हजार ८२५ पुरुष र २ हजार ३८६ महिला खेलाडीको सहभागिता रहेको छ । प्रतियोगितामा ३७२ स्वर्ण, ३७२ रजत र ५६३ कास्य पदकका लागि प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा फुटबल, एथलेटिक्स, बक्सिङ, भारोत्तोलन, टेबलटेनिस, क्रिकेट, लन टेनिस, पौडी, सुटिङ, भलिबल, स्क्वास, तेक्वान्दो, जुडो, आर्चरी, कबड्डी, खोखो, उसु, बास्केटबल, ब्याडमिन्टन, साइक्लिङ, कराते, कुस्ती, फेन्सिङ, ट्रायथलन, प्याराग्लाइडिङ, गल्फ, ह्याण्डबल, बुद्धिचाल, सफ्टटेनिस, आइटिएफ तेक्वान्दो, सेपाकताक्रो, जिम्न्याष्टिक, शारीरिक सुगठन, फुलकन्ट्याक्ट कराते र हक्कीसहित ३५ खेलहरू समावेश गरिएका छन् ।
प्रतियोगिताका लागि रु. ४३ करोड ८५ लाख ५१ हजार ६५० खर्च लाग्ने बताइएको छ । प्रतियोगिताको नेपालगञ्ज रङ्गशालामा वैशाख पाँच गते साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले भव्य समारोहबीच उद्घाटन गर्ने कार्यक्रम छ । प्रतियोगिताका खेलहरू बाँकेमा १७, दाङमा सात, रुपन्देहीमा चार, बर्दियामा चार, ललितपुर, कास्की, कपिलवस्तु र काठमाडौँमा एक÷एक खेल आयोजना हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *