भर्खरै :

वर्षा र असिनाले बगायो मिहिनेत

भक्तपुर, ४ बैशाख । नयाँ वर्ष २०७६ को पहिलो दिन बैशाख १ गते भक्तपुर जिल्लाको पूर्वभेगमा परेका भारी वर्षा र असिनापातका कारण चाँगुनारायण नपा वडा नं ८ सुडालका विभिन्न क्षेत्र प्रभावित बनेका छन् । सुडालको रातोपाटी क्ष्ोत्रमा करिब एक सय रोपनी जग्गामा लगाइएको आलु र गहुँबाली लगभग नष्ट भएको छ । गुबुँ खोलाको गहिराई कम हुँदा वर्षाका कारण बगेको भेल खेतमा पस्दा बालीनाली नष्ट भएको हो । भेलले खोलाको डिल भत्काएको छ । खोलाको नजिक पनि ईटा पार्ने र ईटा भट्टा सञ्चालन गरिनु र जथाभावी माटो निकाल्नु र प्लटिङका कारण पनि बाढी खेतबारीमा पसेको स्थानीयको भनाइ छ ।
हेलबहादुर प्रजापतिले आफ्नो ६ रोपनी जग्गामा लगाएको आलु पूरै पुरिएको छ । अघिल्लो साल दुई ट्र्याक्टर आलु फलाएका उहाँले यस वर्ष भने बाढीमा पुरिएको खेतमा आलु खन्ने नखन्ने दोधारमा पर्नुभएको छ ।
वर्षाको पानीले आलुबारी जलमग्न भएकाले तत्कालै आलु नखन्दा पनि आलु कुहिने सम्भावना हुन्छ भने खनिहाले पनि केही दिनमा आलु कुहिने पीरमा किसानहरू परेका छन् ।
स्थानीय बुद्धिराम रञ्जितकारलाई पनि यो वर्षको पहिलो दिन सुखद् बनेन । उहाँले दुई रोपनीमा लगाउनुभएको आलु खेतमा अघिल्लो वर्ष ३५ बोरा आलु फलेको थियो । यो वर्ष भने उहाँले जसोतसो दस बोरा आलु जुटाउनुभएको छ । त्यही आलु पनि केही दिनमै कुहिनेमा उहाँ चिन्तित हुनुहुन्छ ।
रातोपाटीका मदन गिरीका आलु र गहुँ खेती पूर्ण रुपमा नष्ट भएको छ । उहाँले आफ्नो मात्र कम्तीमा एक लाख बराबरको नोक्सानी भएको सुनाउनुभयो ।
खोला साँघुरो बन्दा आगाामी दिनमा पनि यस्ता समस्या आउन सक्नेमा स्थानीय चिन्तित छन् ।
रातोपाटीकै किरण गिरीले पनि घर भित्र्याउने समयमा यसरी बाली सखाप बन्दा दुःख लागेको सुनाउनुभयो ।
मल, बीउविजन र ज्यालामा गरेको लगानी सबै खोलाले बगाएको भन्दै उहाँले आफ्नो मिहिनेत यसरी खेर जाँदा चिन्ता लागेको बताउनुभयो ।
बैशाख १ गतेको ठूलो पानी र असिनाका कारण चाँगुनारायण नपा वडा नं ७ बागीश्वरी, वडा नं ८ सुडाल र वडा नं ९ ताथलीका अधिकांश खोला छेउछाउका खेतमा लगाइएको बाली पूर्णरूपमा नष्ट भएको छ । गहुँ, जौलगायत अन्य मौसमी बालीमा पनि क्षति पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *