भर्खरै :

लामो समयपछि असिनासँगै हिउँ

पाँचथर, ५ चैत । धेरै वर्षपछि यहाँ हिउँ परेको छ । धेरै वर्षपछि परेको हिउँ र असिनाका कारण स्थानीयवासीको जनजीवन प्रभावित बनेको छ । असिनाले आलु, तरकारी तथा मकै बालीमा क्षति पु¥याएको किसान वताउँछन् ।
शुक्रबार साँझ जिल्लाको माथिल्लो भेग मेमेङ, प्राङबुङ, पौवासारताप, रानीटार तथा तल्लो क्षेत्र सराङडाँडा, मौवालगायत स्थानमा असिना र हिउँ परेको याङ्नामका पूर्ण जबेगुले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिलेसम्म हिउँ परेको देखेको थिइन, उहिल्यै बाजेले मात्रै हिउँ पर्ने गरेको कुरा सुनाउँथे तर हिजो आफँैले देखेँ ।” उहाँले थप्नुभयो, “हिउँ मात्रै नभएर हावा हुन्डरीसँगै असिना पानीसमेत परेकाले आफूहरुले लगाएको आलु, मकै बालीसमेतमा क्षति पुगेको छ ।”
यस्तै लेकतिर मात्रै हिउँ पर्ने भनिए पनि शुक्रबार बेलुका भने बैंसीतिर पनि परेको छ । जिल्लाको दक्षिणी भेगका सराङडाँडा, मौवा, आङनालगायत क्षेत्रमा हिउँ परेको मौवाका बासिन्दा खड्ग थापाले बताउनुभयो । उहाँले भन्नुभयो, “सायद जलवायु परिवर्तनको असर हो कि के हो, पहिलो पटक हिउँ परेको थाहा पाइयो ।” हिउँ परेपछि त्यस क्षेत्रका बासिन्दा पौवाभन्ज्याङमा हिउँ खेल्न जान थालेका छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *