भर्खरै :

ल्याटिन अमेरिका संरा अमेरिकाको ‘करेसाबारी’ होइन

कार्लोस अकिनो
व्यापार र लगानीमार्फत चीन र ल्याटिन अमेरिकी देशहरूको सम्बन्ध क्रमशः कसिलो बन्दैछ । संरा अमेरिका ल्याटिन अमेरिकाको सबभन्दा ठूलो व्यापार साझेदार देश हो भने चीन दोस्रो ठूलो साझेदार देश हो । तर, संरा अमेरिकासँग निकै ठूलो व्यापार भएको मेक्सिकोलाई एकक्षण बिर्सने हो भने चीन नै ल्याटिन अमेरिकाको सबभन्दा ठूलो व्यापार साझेदार देश हो ।
ल्याटिन अमेरिकाका विभिन्न देशहरूको लागि चीन नै सबभन्दा ठूलो अनुदानदाता र ऋणदाता देश पनि हो । ल्याटिन अमेरिकी देशमा घुम्न जाने चिनियाँ पर्यटकहरूको सङ्ख्या क्रमशः बढिरहेको छ ।
पूर्वाधार विकास
ल्याटिन अमेरिकामा मनग्य प्राकृतिक स्रोत छन् । तर, त्यहाँका अधिकांश देशहरू आफूसँग भएका स्रोत औद्योगिक विकासमा लगाउन सकेका छैनन् किनभने ल्याटिन अमेरिकी उत्पादन क्षेत्रले ती स्रोतलाई मूल्यवान वस्तुमा रुपान्तरण गर्न सकेका छैनन् । त्यस्तो क्षमता विकास गर्न ल्याटिन अमेरिकामा राजमार्ग, समुद्री बन्दरगाह, विमानस्थल, ऊर्जा केन्द्र र टेलिकम्युनिकेसन सञ्जालजस्ता विकासका पूर्वाधारको आवश्यकता छ । ल्याटिन अमेरिकाका अधिकांश देशमा उद्योग कलकारखाना स्थापनाको लागि सबभन्दा प्रमुख अवरोध भनेको विद्युत्को अभाव हो ।
ल्याटिन अमेरिकामा वस्तुको ढुवानी मूल्य निकै उच्च छ । देशभित्रै वस्तुको ढुवानीमात्र निकै महँगो होइन, निर्यातको लागत पनि त्यत्तिकै उच्च छ । त्यही भएर अन्तर्राष्ट्रिय बजारमा ल्याटिन अमेरिकी उत्पादन प्रतिस्पर्धामा पछाडि परेका हुन् । भौगोलिक कारणले एन्डियन र एमेजन क्षेत्रका देशहरूमा अझै पनि विस्तृत यातायातको सञ्जालको विकास हुन सकेको छैन ।
यस्तो अवस्थामा पूर्वाधारको विकास गर्ने चीनको प्रस्तावलाई ल्याटिन अमेरिकामा स्वागत गरिएको छ । चीनले ल्याटिन अमेरिकी देशहरूलाई ऋण सहायता दिन वित्तीय माध्यम भएकाले चीनले त्यहाँ पूर्वाधारको विकास गर्नसक्छ । चीनका कम्पनीहरूले त्यस्ता उदाहरणीय धेरै पूर्वाधार निर्माण पनि गरिसकेको छ । चीन अरू देशलाई सहयोग गर्न पनि तत्पर छ । उदाहरणको लागि संसारका सबभन्दा व्यस्त दस वटा समुद्री बन्दरगाहमध्ये छ वटा चीनमा छन् । चीनका साङ्घाई, सेनचेन, निङ्पो–चोशान, क्वानचाओ, छिनताओ र तेनचिन संसारका दस व्यस्त समुद्री बन्दरगाहमध्ये पर्छन् । चीनले २९ हजार किलोमिटरभन्दा बढी उच्च गतिवान रेलमार्ग पनि विकास गरिसकेको छ । संसारमा भएका कूल उच्च गतिवान रेलमार्गमध्ये यो आधाभन्दा बढी हो ।
बीआरआईको बढ्दो महत्व
ल्याटिन अमेरिकाका सत्र वटा देशहरू चीनको बेल्ट एन्ड रोड परियोजना (बीआरआई) का सदस्य भइसकेका छन् । जनवरीको अन्तिममा चीनको राजधानी पेइचिङमा हुने बेल्ट एन्ड रोड दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन संसारसमक्ष यो परियोजनाको बढ्दो महत्वबारे संसारसामु अझ पुष्टि हुनेछ किनभने धेरै देशका राज्य तथा सरकारप्रमुखहरू दुई वर्षअघि भएको पहिलो सम्मेलनको तुलनामा बढी सहभागी बन्दैछन् ।
चीन व्यापार र लगानीको लागि खुला वातावरणको पक्षधर हो भने विगतमा त्यस्तो पक्षधरता राख्ने संरा अमेरिका भने आजभोलि साँघुरो बनिरहेको छ । बहुपक्षीय सम्बन्धभन्दा पनि संरा अमेरिकाले एकपक्षीय सम्बन्धलाई जोड दिइरहेको छ । संरा अमेरिकाले मेक्सिकोसँगको सिमानामा पर्खाल बनाइरहेको छ । तर, चीनले ल्याटिन अमेरिकाका अरु देशहरूसँग स्वतन्त्र व्यापार सम्झौता गर्न आतुर बनेको छ । पेरु र चिलीसँग चीनले स्वतन्त्र व्यापार सम्झौता समेत गरिसकेको छ ।
ल्याटिन अमेरिकाको लागि अन्तर्राष्ट्रिय व्यापार र लगानी क्रमशः महत्वपूर्ण बनिरहेको छ । विकासका पूर्वाधारको निर्माणसँगै अन्तर्राष्ट्रिय लगानी र व्यापारको महत्व अझ विस्तार हुनेछ ।
विशेषतः खनिज, तेल, गहुँ र भटमासजस्ता ल्याटिन अमेरिकासँग भएका कच्चा पदार्थको चिनियाँ उद्योगमा बढ्दो मागबाट ल्याटिन अमेरिकी देशहरू लाभान्वित भएका छन् । चीनमा बढ्दै गरेको मध्यम आय समूहबीच वाइन, फलफुल र अन्य उत्पादनको माग बढिरहेको छ । ती वस्तुहरू ल्याटिन अमेरिकाले चीनलाई उपलब्ध गराउन सक्छ । त्यसकारण ल्याटिन अमेरिकाले ती वस्तुको उत्पादन क्षमता अझ विस्तार गर्नुपर्छ । त्यसो गर्न ल्याटिन अमेरिकी देशहरूले लगानी आकर्षण गर्नुपर्छ र लगानी टिकाउन आधुनिक पूर्वाधारको विकास गर्नुपर्छ ।
पूर्वाधार निर्माणमा चिनियाँ कम्पनीहरू
ल्याटिन अमेरिकी देशहरूमा पूर्वाधार परियोजनाहरूमा चिनियाँ कम्पनीहरूको सहभागिता उल्लेख्य मात्रामा बढिसकेको छ । उदाहरणको लागि, गएको वर्ष चीनको रेलमार्ग २० व्युरो समूहले उत्तरी पेरुको एउटा राजमार्ग सुधार, सम्भार र सञ्चालनको लागि अन्तर्राष्ट्रिय ठेकका जित्न सफल भएको थियो । एमेजन क्षेत्रका केही नदीहरूमा झण्डै ९ करोड ५० लाख अमेरिकी डलरले यात्रा गर्न सक्ने बनाउने केही चिनियाँ कम्पनीहरू लागिरहेका छन् । गएको जनवरीमा पेरुको राजधानी लिमाको उत्तरी सहर चान्केमा विशाल समुद्री बन्दरगाह निर्माण गर्न चीनको कोस्को सिपिङ कम्पनीले घोषणा गरेको थियो । सो बन्दरगाहको कूल लागत २ अर्ब अमेरिकी डलर हो ।
चीनको अर्को कम्पनी चाइना थ्री गर्जेज कर्पोरेशनले पेरुमै ३१ करोड ९० लाख अमेरिकी डलर लागतको एउटा जलविद्युत् केन्द्रमा लगानी गर्न सम्झौता गर्न खोजिरहेको छ । तर, पेरुले आधिकारिकरूपमा अहिलेसम्म पनि चीनको बेल्ट एन्ड रोड परियोजनामा हस्ताक्षर गरेको छै्रन ।
यदि संरा अमेरिकाले अनेकन अवरोध सिर्जना गरेर ल्याटिन अमेरिकासँग सम्बन्ध गहिरो बनाउन नचाहेको भए उसले अरु देशहरू जस्तै चीनलाई त्यस्तो सम्बन्ध विकास गर्न रोक्नुहुन्न । व्यापार र लगानी सम्बन्ध बढ्दै जाँदा चीन र ल्याटिन अमेरिका दुवैलाई फाइदा भएको छ । त्यसले विश्वकै अर्थतन्त्रलाई पनि फाइदा पु¥याइरहेको छ । ल्याटिन अमेरिकी देशहरूमा उत्तम खालका पूर्वाधारको विकासले अरु देशसँग पनि उनीहरूको व्यापार र लगानी सम्बन्ध विस्तारमा मद्दत पु¥याउनेछ । फलतः क्षेत्रीय अर्थतन्त्र नै विस्तार हुनेछ । त्यसले परिणामतः संरा अमेरिकालाई पनि फाइदा गर्नेछ । ल्याटिन अमेरिकी अर्थतन्त्र बिस्तार हुँदा संरा अमेरिकी कम्पनीहरूले पनि ल्याटिन अमेरिकामा आफ्ना उत्पादन निर्यात गर्न सक्छन् र लगानी पनि विस्तार गर्न सक्छन् ।
(लेखक पेरुको लिमास्थित सान मार्कोस राष्ट्रिय विश्वविद्यालयस्थित एसिया अध्ययन केन्द्रका निर्देशक हुनुहुन्छ ।)
स्रोतः चाइना डेली
नेपाली अनुवाद ः सुशिला

Leave a Reply

Your email address will not be published. Required fields are marked *