भर्खरै :

संरा अमेरिकासँग भारतको सैनिक गठबन्धन भारतको लागि रणनीतिक पासो

राजासिमन सुन्दरम
अन्तर्राष्ट्रिय मामिलामा भारतले राख्ने गरेको रणनीतिक स्वायत्तताको चाहनालाई हेर्दा उसको विदेश नीति असंलग्न हो कि जस्तो देखिन्छ । तथापि हालैका वर्षमा भारतले संरा अमेरिकासँग बढाएको राजनीतिक–सैनिक सम्बन्धलाई नियाल्दा भने उसले आफ्नो विदेश नीतिमा फेरबदल ल्याएको हो कि जस्तो देखिएको छ ।
गत साता संरा अमेरिकी काङ्ग्रेस (संसद्) सदस्य जो विल्सनले संरा अमेरिका–भारत सहकार्य प्रवद्र्धन ऐन (एचआर २१२३) फेरि पनि संसदमा दर्ता गरेर संरा अमेरिकी हतियार निर्यात नियन्त्रण ऐनमा संशोधन गर्ने मनसाय देखाएका छन् । उक्त ऐनले भारतलाई पनि उत्तर एटलान्टिक सन्धि सङ्गठन (नाटो) कै सदस्य बराबरको हैसियत दिन मार्गप्रशस्त गर्नेछ । सन् २०१७ मा संरा अमेरिकी रक्षा प्राधिकार ऐन (एनडीएए) ले भारतलाई आफ्नो प्रमुख रक्षा साझेदारको मान्यता प्रदान गरेको थियो ।
सन् २००८ को अक्टोबर १० मा भारत र संरा अमेरिकाबीच पहिलोपटक आणविक सहकार्य सम्झौता भएको थियो । सो सम्झौता भएपछि भारत र संरा अमेरिकाबीच अन्य उच्चस्तरीय सैनिक सुरक्षा सम्झौताहरू पनि क्रमशः भए । संरा अमेरिकासँगको आणविक सम्झौतापश्चात् भारत आणविक रङ्गभेदबाट मुक्त भयो । भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंह नेतृत्वको युनाइटेड प्रोग्रेसिभ एलाइन्स (२००४–२०१४) को आफ्नो सरकारले हासिल गरेको महत्वपूर्ण उपलब्धिको रूपमा सो सम्झौताको प्रचार ग¥यो ।
दुई देशबीचको सैनिक व्यापार मात्रात्मक र गुणात्मक रूपमा वृद्धि भएसँगै हिन्द–प्रशान्त रणनीतिअन्तर्गत भारत–संरा अमेरिकी सैनिक सम्बन्धले भारतको रणनीतिक स्वायत्ततालाई चुनौती दिएको छ ।
संरा अमेरिकाले भारतलाई दिएको सहयोगको एउटा उद्देश्य भारतीय जलसैनिक शक्तिलाई बलियो बनाउनु हो । संरा अमेरिका भारतीय जलसेनालाई हिन्दमहासागरमा सबभन्दा बलियो शक्तिको रूपमा विकास गर्न चाहन्छ । संरा अमेरिकी हिन्द–प्रशान्त कमान्डका कमान्डर एडमिरल फिलिप डेभिडसनका अनुसार भारतले संरा अमेरिकाबाट प्राप्त हतियार जस्तै पी–८, सी–१३० जी, सी–१७, एएच–६४, सीएच–४७ र मी ७७७ होविट्जर प्रयोग गर्नसक्दछ । भारत सरकारले एमएच–६० आर बहुआयामिक समुद्री हेलिकप्टरसहित सैनिक सामग्री खरिद गर्न २ अर्ब ६० करोड अमेरिकी डलर बराबरको सम्झौता गरेको छ । साथै भारतले मानवरहित समुद्री हवाई सवारी साधनसहित थप संरा अमेरिकी रक्षा प्रविधि पनि खरिद गर्न खोजिरहेको छ ।
संरा अमेरिकाको गृह सशस्त्र सेवा समितिका अध्यक्ष एडम स्मिथले गएको मार्चमा संरा अमेरिकी प्रशान्त कमान्डको नाम सन् २०१८ मा संरा अमेरिकी हिन्द–प्रशान्त कमान्ड भनी बदल्नुले ‘हिन्द प्रशान्त क्षेत्रमा संरा अमेरिकाको भूमिकामा भारतको महत्व अझ बढेको’ प्रस्ट भएको बताएका थिए ।
भारत र संरा अमेरिकाबीच सन् १९९२ देखि नै दुईपक्षीय जलसैनिक अभ्यास हुँदै आएको थियो । परिवर्तित भूराजनीतिक अवस्थाको प्रतिबिम्बको रूपमा भारत र संरा अमेरिकाले त्यसयता केही वर्षभित्र चारवटा महत्वपूर्ण सम्झौताहरू गरे । ती सम्झौताहरू बन्दोबस्ती आदानप्रदान सम्झौता, सञ्चार सहजता र सुरक्षा सम्झौता, सैनिक सूचना सुरक्षा तथा आदानप्रदान सम्झौता र भूराजनीतिक सहकार्य सम्झौता हुन् ।
गएको सेप्टेम्बर महिनामा दुई देशबीच दुई प्लस दुई मन्त्रीस्तरीय बैठकले बहराइनस्थित संरा अमेरिकी जलसैनिक केन्द्रीय कमान्डमा भारतीय जलसेनाका एकजना प्रतिनिधि राख्ने सहमति भयो । अमेरिकी कवि वाल्ट विट्समको कवितांश “सामूहिक गानमा मनग्य बाजा बजिरहेका छन्, लट्ठीले त्यसको सड्ढेत गरेको छ ।” उद्धृत गर्दै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले झण्डै तीन वर्षअघि संरा अमेरिकी काङ्ग्रेसमा भाषण दिँदा प्रस्ट भनेका थिए,“एउटा नयाँ धुन बजिरहेको छ ।” उनले अगाडि भनेका थिए,“हिजोका बन्देजहरू हामीले पछाडि छोडिसकेका छौँ र भविष्यको बलियो आधार बनाइरहेका छौँ ।”
भारत र संरा अमेरिकी रक्षा सम्बन्धमा आएको परिवर्तनले धेरै क्षेत्रमा प्रभाव पारेको छ र संरा अमेरिकासँग भारतको सैनिक निकटतालाई भारतको रणनीतिक वृत्तमा व्यापक आलोचना भइरहेको छ । नयाँ दिल्लीको केन्द्रीय नीति अनुसन्धान प्रतिष्ठानका अनुसन्धान प्राध्यापक भरत कर्नाडले संरा अमेरिका विगतदेखि नै विश्वास गर्न अयोग्य साझेदार भएको बताए । संरा अमेरिकासँग निकटको साझेदारीले दीर्घकालीनरूपमा भारतको वास्तविक सैनिक क्षमतालाई सीमित बनाउने उनको भनाइ छ । भारत र संरा अमेरिकाबीचको वर्तमान सैनिक साझेदारका तीन प्रमुख पक्षहरू छन् ।
पहिलो, खुला र स्वतन्त्र हिन्द–प्रशान्त क्षेत्रको आफ्नो अवधारणासँग मिल्ने संरा अमेरिकालाई एउटा प्रमुख जलसैनिक साझेदार शक्तिको आवश्यकता परेको छ जसको जलसैनिक प्रतिरोध क्षमता उल्लेखनीय होस् । जलसैनिक शक्तिको रूपमा विश्वभर त्रास फैलाउने संरा अमेरिकालाई यसको आवश्यकता परेको हो ।
संरा अमेरिकी जलसेनाका प्रमुख जोन रिचर्डसनले गृह सशस्त्र सेवा समितिसमक्ष आफ्नो संसदीय सुनुवाइको क्रममा “चीनले संसारकै सबभन्दा आक्रामक जलसैनिक शक्तिको विकास गर्ने प्रयास गरिरहेको छ” भनेका थिए ।
दोस्रो, भारतको वरपर रहेका देशहरूसँग चीनले बिस्तार गरेका सैनिक सम्बन्धले पनि भारतको निद्रा बिथोलेको हो ।
तेस्रो, पाकिस्तान र चीनसँग संरा अमेरिकाको एकसाथ बिग्रेको सम्बन्धले पनि दक्षिण एसियामा संरा अमेरिकाले रणनीतिक भूमिकामा भारतलाई अघि सारेको हो ।
यस अवस्थामा एकातिर विगतको भारत–संरा अमेरिकाबीचको सम्बन्धका परिधि तोडिएको देखिन्छ भने भारतको अल्पकालिक र दीर्घकालिक रणनीतिक स्वायत्तता अनिश्चित बनेको छ । टाढाको शक्तिसँग सैनिक सम्बन्ध बलियो बनाउने तर आफ्नै वरपरका देशसँगको सम्बन्धलाई उपेक्षा गर्नुले भारतको रणनीतिक अवस्थालाई दिगो बनाउने छैन ।
सन् २०१७ मा भएका दुई घटना–चीन र भारतको दोक्लाम द्वन्द्व र बङ्गाल खाडीमा संरा अमेरिका–भारत–जापानबीचको हालसम्मकै सबभन्दा ठूलो त्रिपक्षीय मालाबार जलसैनिक अभ्यासले निकट र दूर भविष्यमा भारतले सामना गर्नुपर्ने रणनीतिक पासोको स्मरण गराइरहेको छ ।
(लेखक जिलिन विश्वविद्यालयका विद्यावारिधिका अध्येता र नयाँ दिल्लीको राष्ट्रिय सुरक्षा अनुसन्धान प्रतिष्ठानका पूर्वअध्येता हुन् ।)
स्रोतः ग्लोबल टाइम्स

Leave a Reply

Your email address will not be published. Required fields are marked *