भर्खरै :

मेरो अन्तिम इच्छा

भिक्षु अश्वघोष
(लेखक भिक्षु अश्वघोषको लेखन र प्रकाशनमा विसं २०६९ मा प्रकाशित नेपालभाषाको पुस्तक ‘धर्म मसीनि’ (धर्म मरेको छैन) को भूमिका सान्दर्भिक भएकोले नेपाली भाषामा अनुवाद गरी प्रकाशन गरिएको छ । २०६९ भाद्र १५ गते लेखिएको यो भूमिकाको नेपाली अनुवाद नीरजले गर्नुभएको हो । भिक्षु अश्वघोषको २०७५ चैत २३ गते शनिबार निधन भएको थियो ।)
जीवनको केही ठेगान छैन । श्वास बन्द भएपछि त सकियो । म अहिले ८६ वर्षको भएँ । मसँग अरु कुनै रोग त छैन । तर, एकै घण्टा पुस्तक पढ्दा पनि सा¥है थकान महसुस गर्छु । लेख्दा पनि दुई घण्टा त आराम गर्नुपर्ने भएको छ । अहिले लेख्न खोजेको कुरा–मेरो पहिलेदेखिको इच्छा हो–म जहाँ प्राण त्याग गर्छु, त्यहीं मेरो दाहसंस्कार गरियोस् । अहिले म धेरैजसो सङ्घाराम (सङ्घाराम विहार, ढल्को, काठमाडौँ) मा बस्दै आएको छु । कदाचित मैले सङ्घाराममै प्राणत्याग गरेँ भने मलाई विष्णुमती नदी किनारामा लगेर जलाइयोस् । म कहिलेकाहीँ बनेपामा पनि बस्ने गर्छु । त्यहीं मरेँ भने मेरो त्यहीं दाहसंस्कार गरियोस् । कतिबेला म लुम्बिनीमा जाने गर्छु । त्यहीं रहँदा मरेँ भने मेरो त्यहीं दाहसंस्कार होस् । मेरो यो अन्तिम इच्छा पत्र लेखेर भिक्षु महासङ्घलाई मैले एक लाख रुपैंया प्रदान गरेको छु । मैले जहाँ प्राण त्याग गरे पनि दाह संस्कार गर्न र मलामी आउने भन्ते गुरुमा (अनागरिका) हरूलाई दक्षिणा दिन त्यही पैसा प्रयोग गरियोस् भन्ने मेरो इच्छा हो । एक लाख रुपैंया प्रदान गरेको दुई वर्ष बितिसकेको छ । कुनै प्रकारको तामझाम गरिरहन जरुरी छैन । यही मेरो अन्तिम इच्छा हो ।
मेरो र सङ्घारामको बारेमा अरू एकदुई कुरा भन्न चाहन्छु । आजभोलि म प्रायशः सङ्घाराममै बस्ने गर्दै आएको छु । सङ्घाराम पछिसम्म अस्तित्वमा रहोस् भन्ने इच्छा छ । विसं २०३८ सालमा द्वारिकादास श्रेष्ठ र रत्नमाया शाक्यको दायकत्वमा भिक्षु मैत्रीको सहयोगबाट भिक्षु तालिम केन्द्र स्थापना भएको थियो । कालान्तरमा रत्नमाया शाक्य स्वयम् गुरुमा बन्नुभयो । चार–पाँच वर्षपछि मेरै अयोग्यताका कारण त्यो तालिम केन्द्र सञ्चालन हुनसकेन । सङ्घाराम भिक्षु तालिम केन्द्रबाट प्रब्रजित दस जना कुलपुत्रहरूमध्ये सबभन्दा ज्येष्ठ भिक्षु भद्दिय हुन् । अरु दुई जना भिक्षु उपतिस्स र आनन्द आजभोलि सङ्घाराममै छन् । उपतिस्स उत्तराधिकारीझैं गरी काम गरिरहेका छन् । अर्का भिक्षु आनन्द निवर्तमान सभासद् हुन् । भिक्षु आनन्दमार्फत सरकारबाट प्राप्त पाँच लाख रकम अनुदानबाट सङ्घाराम धम्महल र भान्छाघर मर्मत र निर्माण कार्य सम्पन्न भयो । दुवै भवन राम्रो पनि देखिए र सुविधाजनक पनि भए । सङ्घाराममा प्रौढ बौद्ध कक्षा सुरु गरी प्रत्येक शनिबार मज्झिम निकायको कक्षा सञ्चालन भइरहेको छ । कहिलेकाहीँ म आफैं पनि कक्षा लिन जाने गरेको छु । कक्षामा धेरै सङ्ख्यामा विद्यार्थी त छैनन् । तर, विद्यार्थीहरूमध्ये कोही पीएचडी गरेका र केही बुद्धिजीवीहरू पनि छन् ।
भिक्षु तालिम केन्द्रबाट तयार भएका सबभन्दा ज्येष्ठ भिक्षु भद्दिय पाटनको यम्पि बिहारको प्रमुख भई गएपछि त्यहाँ उन्नति भएको छ । कथा सुनाई पाठ गरी धर्म प्रचार गरिरहेका छन् । भिक्षु मङ्गल ताइवानमा बसी संस्कृत र पाली भाषा सिकाइरहेका छन् । हरेक पटक नेपाल आउँदा गुरुलाई औषधि उपचार गर्न भनी दस हजार रकम दिएर जान्छन् । साथै मातातीर्थमा जग्गा किनी बिहार स्थापना गरेका छन् । बौद्ध परियत्तिको कक्षा सञ्चालन गर्ने पनि तयारी भइरहेको कुरा सुनेको छु । दसजनामध्ये सद्धातिस्स र कोलित टोखामा विश्वभूमि नामको बिहार बनाई धर्म प्रचार गरिरहेका छन् ।
दस जना प्रव्रजितमध्ये भिक्षु सोभित गणमहाविहारका प्रमुख भएर ज्येष्ठ नागरिकको सम्मान गर्ने, स्कुलका गरिब विद्यार्थीहरूलाई छात्रवृत्ति दिने, निधन भएका भिक्षु श्रामणेरहरूको गुण अनुस्मरण गर्नेजस्ता गतिविधि गरी धर्म प्रचार गरिरहेका छन् । यो सन्तोषजनक गतिविधि हो । सोभितले हरेक महिना सङ्घाराममा आई दक्षिणा दान गरी गुरु पूजा गर्ने गर्छन् । त्यसबाट मेरो हौसला बढेको छ ।
सङ्घारामबाट पछि प्रवजित भएका भिक्षुमध्ये भिक्षु कोण्डन्य भृकुटीमण्डपसामुन्ने बुद्ध विहारको प्रमुख भई शिशु सिद्धार्थ स्कूल सञ्चालन गरिरहेका छन् । उनले पुस्तकहरू प्रकाशन गर्दै आएका छन् । उनले ‘आनन्दभूमि’ पत्रिकाको सम्पादन पनि गर्दै आएका छन् । कोण्डन्यले म बिरामी भई ओम नर्सिङ अस्पताल, थाइल्यान्डको अस्पताल र काठमाडौँ मोडेल अस्पतालमा उपचार गराइरहँदा चौबिसै घण्टा मसँगै बसी मेरो सेवा गरेको म कहिल्यै पनि बिर्सन सक्दिनँ । उनलाई कुनै रोगव्याधीले नसताओस्, दीर्घायुको शुभकामना दिन चाहन्छु ।
सङ्घारामबाट दीक्षित भएका अर्का भिक्षु सङ्घरक्षित आनन्द भुवन बिहारका प्रमुख भई दर्जन जति संस्था सञ्चालन गरिरहेका छन् । उनले धर्मबारे आफैं लेखी चार दर्जन जति पुस्तक प्रकाशन गरी धर्म प्रचार गरिरहेका छन् । सबभन्दा राम्रो काम त बुद्ध धर्मबारे आधारभूत शिक्षा समिति गठन गरी युवा–युवतीहरूलाई धर्मबारे शिक्षा दिइरहेका छन् । मकहाँ बरोबर आई केही गर्नुपर्ने काम छ कि भनी सोधिरहेका हुन्छन् । मैले पुस्तक राख्न दराजको आवश्यकता परेको छ भन्दा स्टीलका दुई वटा दराज ल्याइदिए । कति पैसा पर्ने हो भनी सोध्दा गुरुप्रतिको सम्मान हो, पैसा पर्दैन भने । सङ्घरक्षितको अर्को राम्रो काम भनेको ‘अमृतोपदेश’ मासिक पत्रिका प्रकाशन गरी धर्म प्रचार गरिरहेका छन् ।
सङ्घारामबाट तयार भएका अर्का भिक्षु हुन् अशोक । उनी आजभोलि थानकोट जेतवन विहारमा प्रमुख भई ज्येष्ठ नागरिकहरूलाई अस्थायी प्रव्रजित गरी धर्म प्रचार गरिरहेका छन् । श्रीलङ्काबाट आएका भिक्षुहरूलाई बस्न बास र खानपिनको बन्दोबस्त गरी सेवा गरिरहेका छन् । उनीसँगै प्रवजित भएका अर्का भिक्षु हुन्, त्रिरत्न । उनी पिपरहवामा भारतले बनाएको कपिलवस्तुमा बसी श्रीलङ्काका तीर्थयात्रीहरूको सेवा गरी धर्मप्रचार गरिरहेका छन् । सङ्घारामबाट प्रवजित भएका अर्का भिक्षु विशुद्धानन्दले समयान्तरमा आफ्नो नाम सम्यक सम्बोधि प्राण पुत्र राखे । उनको कुनै बिहार छैन । उनले पश्चिम बेनी, बाग्लुङ, तानसेन, बुटवल, पूर्व धरान, स्वयम्भु बिहारलाई धर्म प्रचारको केन्द्र बनाएका छन् । उनी निकै जिद्दी स्वभावका भएकाले कतिले उनलाई मनपराउँदैनन् भन्ने कुरा सुनेको छु । २०६९ सालमा पूर्वको उर्लाबारीमा उनी वर्षावास बसे । उनका दुई वटा प्रसिद्ध पुस्तकहरू छन्, सम्यक संस्कार र सम्यक शिक्षा । आफ्नै तालका पुस्तकहरू । बेनीका युवाहरूले ती पुस्तकहरू निकै रुचाए ।
यी त भए–मेरा अन्तिम इच्छा र मेरा शिष्यहरूको परिचय । यसलाई कसैले तपार्इँ नभन्दा पनि मपार्इँ भनेको भन्दा पनि भयो । मेरो अहङ्कारको अंशभन्दा पनि भयो । मेरो सबभन्दा सुरुको शिष्य बनेपा ध्यानकुटीमा तयार भएका भिक्षु राहुल हुन् । ध्यानकुटीको उत्तराधिकार बनी उनले सबै जिम्मेवारी आफैंले सोचविचारी गरिरहेका छन् । ध्यानकुटीको मैत्री केन्द्र बालआश्रम पनि उनकै जिम्मामा छ । उनले सबै जिम्मेवारी बहन गरिरहेको हुनाले मलाई कुनै पीर छैन । उनलाई सहयोग गर्ने गौरीशंकर उपासक भएकाले पनि धेरै सहज भएको छ ।
सबभन्दा कान्छो चेला हुन्, श्रीघ बिहारमा बस्दा तयार भएका भिक्षु गौतम (मगः) हुन् । म श्रीघ बिहार छोडी गएयता उपहार दिने र प्रमाणपत्र दिने काममा सोभित र संघरक्षितहरूको हाराहारीमा पुगेका छन् । सङ्घारामबाट तयार भएका अर्का भिक्षु मिलिन्द आजभोलि चितवनमा बिहार बनाई धर्म प्रचार गरिरहेका छन् ।
अब सङ्घाराम बिहारको छोटो कुराकानी राख्न उपयुक्त मानेको छु । धर्मरक्षिता गुरूमा सङ्घाराम बिहारका दाता हुनुहुन्छ । भिक्षु तालिम केन्द्रका सुरुका घरहरू सबै जीर्ण भइसकेका थिए । ती सबै भवन भत्काएर तीन तल्लाका नयाँ पक्की आकर्षक घर बनाएर आफ्नो नाम अमर बनाएर उहाँ सदाको लागि बिदा भएर जानुभयो । बीस फुट अग्लो भगवान बुद्ध उभिएको सालिक राखी अलग्गै बिहार बनाउने कीर्ति राख्नुभयो । म सङ्घारामबाट श्रीघलमा बस्दै गर्दा धर्मरक्षिता गुरुमाले बोलाउनुभयो । बिहारमा कोही पनि भन्तेहरू नहुँदा त्यहाँको वातावरण रुखो भएको र उपासक उपासिकाहरू पनि नआएको भन्दै सङ्घारामलाई पछिसम्म टिकाउन गुरुमाले आग्रह गर्नुभयो । गुरुमाको निधन हुन तीन चार महिना पहिलेको कुरा हो यो । सङ्घारामको मायाले तानिएर म यहाँ बस्न थालेँ । गुरुमाका बहिनीहरू कुमारीलक्ष्मी, धर्मलक्ष्मीहरूले धर्मरक्षिता गुरुमा बितिसकेपछि त्यो ठाउँ हामीले छोड्न नहुने भन्नुभयो । जे गरेर पनि सङ्घाराम बिहारलाई दीर्घकालसम्म टिकाउने काम गर्नुपर्ने उहाँहरूको भनाइ थियो । यो कुरा उहाँहरूले भान्छा कोठामा भन्नुभएको सम्झना छ । मलाई उहाँहरूको कुरा चित्त बुझ्यो ।
धर्मरक्षिता गुरुमाको निधन भएपछि नयाँ भवनका पूरा हुन बाँकी कामलाई उहाँहरूले नै पूर्णता दिनुभयो । निर्माण कार्यलाई पूर्णता दिन गुरुमाका भतिजा वीरेन्द्र शाक्यले मिहिनेत गर्नुभयो । रङ्गरोगन गरी कामलाई पूर्णता दिनुभयो । पानीको समस्या थियो । वीरेन्द्र शाक्यले ट्युबेलको पम्प व्यवस्था गरिदिएर त्यो समस्या पनि समाधान भयो । उहाँले आफ्नो कर्तव्यपालना गर्नुभएकोमा म आभारी छु । पछि पनि उहाँहरूबाट सहयोग प्राप्त भइरहने आशा गर्छु । सङ्घाराम पछिसम्म पनि सञ्चालनमा रहने आशा गर्छु । उपासक उपासिकाहरू बढेजस्तै सबैको अधिस्थान सङ्घारामलाई टिकाउन भन्तेहरू पनि प्रतिबद्ध हुनेछन् । सङ्घाराममा भन्तेहरू खाली नहुने आशा गर्छु ।
अब म फेरि केही आफ्नै बारेमा केही भन्न चाहन्छु । सङ्घाराममा मलाई सहयोग गरिरहेका दुई जना भिक्षुहरू छन् । उनीहरू भिक्षु धम्मानन्द र भिक्षु दीपङ्कर हुन् । उनीहरूलाई मैले अभिभावक भई उपसम्पदा गरिदिएको हुँ । भिक्षु धम्मानन्दले ग¥हुँगा सामान ओसारिदिन्छन् । ग¥हुँगा सामान र पुस्तकका पोकाहरू बनेपा पु¥याइदिन्छन् । मेरो कोठा सफा गरिदिन्छन् । भिक्षु दीपङ्करले मेरा चिवर तन्ना धोइदिन्छन् । मेरो कोठा र शौचालय सफा गरिदिन्छन् । सङ्घारामको टेलिफोन, बिजुलीको महसुल पनि तिर्न जान्छन् । ‘धर्मकीर्ति’ पत्रिका कहाँ कहाँ पु¥याउनुपर्ने हो, पु¥याइदिन्छन् । सम्पादकीय, समाचार आदि सम्पादक वीर्यवती गुरुमाकहाँ पु¥याइदिन्छन् । पत्रिकाको प्रुफ प्रेसमा पु¥याइदिन्छन् । मलाई निकै सजिलो भएको छ ।
सङ्घाराममा हरेक दिन साँझ ६ः३० देखि ७ः३० बजेसम्म बुद्ध बन्दना, परित्राण पाठ र ध्यान भावना कार्यक्रम हुन्छ । जाडो याममा साँझ ६ बजेदेखि ७ बजेसम्म सञ्चालन हुन्छ । कार्यक्रम सामूहिक भनिए पनि ६ जनामध्ये चार जना भिक्षुले मात्र कार्यक्रममा भाग लिइरहेका छन् । हुन त बुद्ध शिक्षाअनुसार भिक्षुहरूलाई बुद्ध पुजामा बस्न अनिवार्य होइन । बुद्धको कथनअनुसार पुजा गर्नुभन्दा आचरण र व्यवहार राम्रो बनाउनु नै बुद्ध पुजा हो । लोभी नहुनु र मन सफा राख्नु नै बुद्ध पुजा हो । करणीय मैत्री सूत्र पाठ गर्दा मन निकै आनन्दित हुन्छ । भूतप्रेत र बिध्न बाधा पन्छिएको आभास हुन्छ । सङ्घाराम स्थापना भएको ठाउँ कुनै बेला नाबालकहरू मर्दा पुर्ने ठाउँ भनिन्छ । त्यो ठाउँ पहिले निकै डरलाग्दो थियो भनी सुनाइन्छ । हामी भिक्षुहरू बस्न थाल्दादेखि कुनै प्रकारको डरभय महसुस भएको छैन । यो करणीय मैत्री सूत्र पाठकै परिणाम हो । करणीय मैत्री सूत्र पाठ गर्दा डरलाग्दो सपना कम भएको छ । हरेक दिन सुत्नुअघि यो सूत्र पाठ गरे राति डरलाग्दो सपना देख्ने, सपनामा बाघ–भालुले तर्साउने जस्ता घटना कम भएको महसुस भयो, अनि निद्राबाट चाँडै व्युँझने गर्छु । जो कोहीले पनि यो सूत्र पाठ गर्दा हुन्छ । यो पनि मेरो अन्तिम इच्छा हो ।
भवतु सब्ब मङ्गल !

Leave a Reply

Your email address will not be published. Required fields are marked *