भर्खरै :

कक्षा ८ को परीक्षामा भक्तपुर फरक

भक्तपुर, ७ वैशाख । देशभरका विद्यालयहरूलाई नै कक्षा ८ को ग्रेडवृद्धि परीक्षा सञ्चालन गर्ने जिम्मा दिइरहँदा भक्तपुर नगरपालिका फरकरूपमा प्रस्तुत भएको छ ।
देशभरका अधिकांश स्थानीय तहले उक्त परीक्षा सञ्चालन गर्ने जिम्मेवारी विद्यालयलाई नै प्रदान गर्दा सारा विद्यार्थीको न्यूनतम डी प्लस ग्रेड उक्लिएको छ । ई वा डी ग्रेड ल्याउनेहरू कक्षा ९ मा उक्लिन नपाउने व्यवस्था भएकोले ई वा डी ग्रेड ल्याएका विद्यार्थीको ग्रेडवृद्धिको परीक्षा लिने व्यवस्था गरिएको हो ।
हालसम्ममा अधिकांश स्थानीय तहले विद्यालयलाई नै कक्षा ८ को ग्रेडवृद्धि परीक्षा सञ्चालनको जिम्मा दिँदा शिक्षाको गुणस्तर झन् खस्किने डर भएको शिक्षा पत्रकार प्रकृति अधिकारीले टिप्पणी गर्नुभयो ।
यता भक्तपुर नगर शिक्षा शाखाले भने वैशाख १४ गतेमात्र केन्द्र तोकेर उक्त परीक्षा सञ्चालन गर्ने तयारी गरेको छ । भक्तपुरमा सबभन्दा बढी २४१ जना विद्यार्थीले गणित विषयमा ग्रेडवृद्धिको लागि परीक्षा तयारी गरिरहेको जनाइएको छ ।
बासु माध्यमिक विद्यालय, भक्तपुरका प्रधान अध्यापक अम्बिका न्याइच्याईले आफ्ना ५७ जना विद्यार्थीमध्ये ९ जनाले ग्रेडवृद्धिको तयारी गरिरहेको बताउनुभयो । विद्यालयले परीक्षाको निम्ति छुट्टै कोचिङ कक्षाको व्यवस्था गरिरहेको छ ।
वागीश्वरी मावि, भक्तपुरका प्रअ कृष्णप्रसाद धन्छाले गत सालमा पनि ग्रेडवृद्धि परीक्षामा भक्तपुर नगरका सबै विद्यार्थी ‘उत्तीर्ण’ नभएको उल्लेख गर्नुभयो । आफ्ना ६ जना विद्यार्थीमात्र विद्यार्थी परीक्षामा सामेल हुने भएकोले विद्यार्थीको निम्ति छुट्टै कक्षा सञ्चालन नगरे तापनि शिक्षकहरूको निर्देशनमै विद्यार्थीले अध्ययन गरिरहेको बताउनुभयो ।
गत चैतमा सम्पन्न कक्षा ८ को परीक्षामा भक्तपुर नगरपालिकामा दुई हजार चार सय विद्यार्थी सहभागी भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *