भर्खरै :

राष्ट्रिय खेलकुदको सेरोफेरो

प्रदेश नं ५ का विभिन्न स्थानमा आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता चालू छ । नहुनुभन्दा भएको वेश भनेझैँ लामो समयको अन्योल र अलमलपछि तराईको उखरमौलो गर्मीमा राष्ट्रिय खेलकूद प्रतियोगिता हुनु सकारात्मक कुरा हो । खेलाडी र खेलकुद प्रशिक्षकहरूमा त्यसले ऊर्जा थपेको हुनुपर्छ । प्रतियोगितामा पहिलोपटक गैरआवासीय नेपालीहरूको टोलीलाई पनि समावेश गरिएको छ । अधिकांश खेलमा नेपाल सेनाको विभागीय टोलीले जीत हासिल गरेको छ । राष्ट्रिय प्रतियोगिताले भविष्यमा हुने अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपालको प्रस्तुतिमा सुधार ल्याउने आशा गरौँ ।
तर, नेपालगञ्जको चर्को गर्मीमा भएको प्रतियोगिताको व्यवस्थापनमा कमी कमजोरी यो पटक पनि आलोचना र चर्चाकै विषय बन्यो । पौडीको लागि बनाइएको पोखरी नै मापदण्डविपरीत भएको, प्रतियोगितास्थल भद्रगोल अवस्थाका कारण आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको व्यवस्थापनमा खासै सुधार नभएको पुष्टि गर्छ । अधिकांश खेलमा नेपाली सेनाको विभागीय टोलीकै अग्रताले खेलकूदको विकासमा समानुपातिक विकास हुन नसकेको देखाएको छ । विशेषतः प्रदेश स्तरका खेलाडीहरूको उचित व्यवस्था र प्रोत्साहन नहुँदा खेलाडीहरू पछाडि परेको देखियो । सबै प्रदेश र विभागीय समूहमा खेलाडीको विकासका लागि समान अवसर बनाउन युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्ले ध्यान दिन जरुरी छ ।
आजसम्मका सरकार र मन्त्रीहरूले खेलकुदको विकासबारे अनेकन भाषण र सस्तो लोकप्रियताका कार्यक्रम अघि सारे । तर, अनेक प्रतिकूलताबीच आफ्नै मिहिनेतबाट खेलाडीहरूले हासिल गर्ने सफलतामा खुसी हुनेबाहेक सरकारले खेलकुदको विकासलाई कहिल्यै प्राथमिकतामा राखेको छैन । राष्ट्रिय खेलकुद परिषद् सरकारमा जाने हरेक शासक दलको भर्तीकेन्द्र बनाइएको छ । खेलको सङ्घमै आवश्यकताभन्दा बढी कर्मचारी रहेको समाचार आइरहेका छन् । राजनीतिक पूर्वाग्रहको आधारमा खेलाडीमाथि विभेद हुने गरेको छ । कतिपय खेलाडीलाई शासक दलले आफ्नो राजनीतिक कार्यक्रममा गुण्डाको रूपमा प्रयोग गरिएको अवस्था छ । यसप्रकारको विभेदका कारण खेलकुद क्षेत्र बदनाममात्र भएको छैन । अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रस्तुति क्रमशः खस्किंदै गएको छ ।
राम्रो सम्भावना भएका खेलाडीहरू खेल क्षेत्रप्रति सरकारको उदासिनता र सामाजिकरूपमा अपहेलित हुनुपर्दा खेलकुद क्षत्रबाट अलग हुँदै गएका छन् । कुनै बेला देशको लागि पदक जितेका खेलाडीहरूले कष्टप्रद उत्तर्राद्र्ध जीवन भोगिरहनुले खेलकुदप्रति युवाहरूको उमेरगत आकर्षण भएर पनि कालान्तरमा आफ्नै बाटो लाग्नुपर्ने बाध्यता छ ।
युवा तथा खेलकुदमन्त्री जगत सुनार जहाँ गएर पनि खेलमैदान बनाउने आश्वासन दिने गर्छन् । खेलकुद क्षेत्रको विकास खेलमैदानबाट मात्र हुने होइन । खेलाडीहरूले सरकार र समाजबाट पाउने इज्जत र सम्मानले पनि खेल क्षेत्रको विकास निर्भर हुने गर्छ । राष्ट्रिय खेलकुद प्रतियोगिता हुनु सकारात्मक भए पनि प्रतियोगिता हुनुअघिका झेल्तानले भने नेपालको खेलकुद क्षेत्रको उद्देकलाग्दो तस्वीर सतहमा आएको छ ।
खेलकुदलाई विद्यालय शिक्षासँग जोडेर लानु नै खेलकुद विकासको आधार हो । त्यसको निम्ति रङ्गशालाका ठूलठूला सपनामात्र देखेर हुन्न । विद्यालयहरूलाई भौतिक पूर्वाधारका हिसाबमा सबल बनाउन सके खेलकुद क्षेत्रको विकास गर्ने आधार बन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *