भर्खरै :

गणतन्त्रमा पनि पञ्चायतकालमा झैँ भ्रष्टाचार

भक्तपुर, वैशाख ११ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले गणतन्त्रमा पनि पञ्चायतकालमा झैँ भ्रष्टाचार र पक्षपात कायम रहेको उल्लेख गर्दै सरकारमा गएका पार्टीहरुकै नेताहरु राणा र राजाको हुकुमी र निरङ्कुश छाँटमा देखिएको बताउनुभयो ।
स्थानीय चाँगुनारायण नगरपालिका वडा नं. २ दुवाकोट दोखाचिलाको जनभेलालाई सम्बोधन गर्दै सांसद सुवालले निर्वाचनमा पैसा र सामान बाँडेका र भोज खुवाएका पार्टीहरुको सरकारबाट देश र जनताको हित नहुने स्पष्ट गर्नुभयो ।
“सिंहदरबारको बजेट स्थानीय तह र वडामार्फत खर्च गर्नु आवश्यक छ । १८४८ ठेक्का सम्झौताको रु. १ खर्ब १८ अर्ब बजेट सदुपयोग नभएको र रु. २४ अर्ब बराबर परिचालन पेश्की लिएका ठेक्काको काम नै सुरु नभएको अख्तियारको छानबिनले सरकारमा गएकाहरु भ्रष्ट नै भएको पुष्टि गर्छ ।” सांसद सुवालले औँल्याउनुभयो ।
सरकारमा गएकाहरुले देश र जनताको हितविपरीत नागरिकता ऐन संशोधन गर्ने तयारी गरेको उल्लेख गर्दै उहाँले नेमकिपा एक्लैले भए पनि देशघाती नागरिकता विधेयकको विरोध गर्ने स्पष्ट गर्नुभयो ।
पुँजीवादी सरकारको लुछाचुँडीमा लागेका एमाले र माओवादीलगायत माक्र्सवादी–लेनिनवादी दाबी गरेका पार्टीहरु कम्युनिष्ट नहुने उल्लेख गर्दै सांसद सुवालले कम्युनिष्टहरुले भ्रष्टाचार र पक्षपात गर्दैनन्, गुण्डा र अपराधीहरुलाई संरक्षण गर्दैनन् भन्नुभयो ।
भक्तपुर नगरपालिकाले सञ्चालन गरेको कलेजहरुमा चाँगुनारायण, मध्यपुर थिमी र सूर्यविनायक नगरपालिकाका सर्वसाधारण जनताका सन्तानहरुले निजीभन्दा कम शुल्कमा उच्च शिक्षा अध्ययनको अवसर प्राप्त गरेको उल्लेख गर्दै सांसद सुवालले नेमकिपाले भ्रष्टाचार र पक्षपातको सधैँ विरोध गर्ने बताउनुभयो ।
सांसद सुवालले वैशाख १६ गते सुरु हुने प्रतिनिधिसभाको चौथो अधिवेशनअघि देश र जनताको हितमा आवाज राख्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *