भर्खरै :

प्रजग कोरियाली नेता किम जङ उन रुसमा

भ्लादिभोस्तक, ११ वैशाख (एएफपी) । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको मैत्रीपूर्ण निमन्त्रणामा प्रजग कोरियाली नेता किम जङ उन बुधबार सीमा क्षेत्र पार गरी भ्लादिभोस्तक पुग्नु भएको छ ।
राष्ट्रपति पुटिन र नेता किमबीच रूसको सुदूरपूर्वी सहर भ्लादिभोस्तकमा भेटर्वार्ता हुने क्रेमलिनले यसअघि नै घोषणा गरिसकेको छ ।
यस भेटवार्तामा दुई नेताबीच कोरियाली प्रायःद्वीपमा आणविक निःशस्त्रीकरणका लागि राजनीतिक तथा कूटनीतिक समाधानको पहलको विषयमा छलफल हुने कार्यक्रम तय भएको क्रेमलिनका विदेश नीति हेर्ने युरी उसाकोभले पत्रकारलाई बताउनुभएको छ ।
गत फेबु्रअरीका भियतनामको हनोइमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भएको दोस्रो शिखर बैठकपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग प्रजग कोरियाली नेता किमको यो पहिलो भेटवार्ता हो ।
किमले बुधबार बिहान सबेरै निजी रेलबाट भ्लादिभोस्तकतर्फ लाग्नुभएको प्रजग कोरियाली समाचार समिति केसीएनएले जानकारी दिएको थियो ।
किमलाई रुसी सीमा सहर खसानमा स्थानीय नागरिकले परम्परागत शैलीमा भव्य स्वागत गरेको रुसी समाचार समितिले जानकारी दिएको छ । देशमाथि लागेका आर्थिक प्रतिबन्धका कारण सङ्कटमा परेका किमले गत वर्षदेखि कूटनीतिक गतिविधिलाई तिव्रता दिनुभएको छ । रुसी राष्ट्रपति पुटिनले नेता किमलाई रुस भ्रमणका लागि निम्ता गर्नुभएको थियो ।
नेता किमका हजुरबुबा किम इल सुङ र बुबा किम जोङ इलले पनि विगतमा रुस भ्रमणको क्रममा भ्लादिभोस्तकको भ्रमण गर्नुभएको थियो ।
रुसी राष्ट्रपति पुटिन चीनमा आयोजना हुने बीआरआई सहयोगसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलनमा भाग लिने सिलसिलामा रुसको पूर्वीक्षेत्र भ्लादिभोस्तक आउँदै हुनुहुन्छ ।
सन् २०१८ को मार्च महिनादेखि हालसम्म प्रजग कोरियाली नेता किमले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग चार पटक, दक्षिण कोरियाका राष्ट्रपति मून जाय–इनसँग तीन पटक, अमेरिकी राष्ट्रपति ट्रम्पसँग दुई पटक र भियतनामका राष्ट्रपतिसँग एक पटक भेटर्वार्ता गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *