भर्खरै :

यार्सा टिप्न नजान शैक्षिक अभियान

खलङ्गा, १२ वैशाख । यार्सा टिप्ने याम सुरू भएपछि यहाँका बालबालिकालाई पाटनतिर लैजाने क्रम रोक्नाका लागि जुम्लाको पातारासी गाउँपालिकाले शैक्षिक अभियान सुरू गरेको छ ।
बालबालिकालाई विद्यालय नछाड्न उक्त गाउँपालिकाले विद्यालयमै पुगेर यार्सा टिप्न भन्दा शैक्षिक भविष्य सुनिश्चित गर्नाका लागि अभिभावकलाई आग्रह गरेको छ ।
गाउँपालिकाले तल्फीस्थित सरस्वती मावि, लोठचौरस्थित मालिका मावि, डिल्लीचौरस्थित ऋणमोक्ष माविलगायतमा जनचेतनामूलक नाटकसहित शैक्षिक अभियान सञ्चालन गरेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले जानकारी दिनुभयो । उहाँका अनुसार हरेक वर्ष बालबालिका विद्यालय छोडेर यार्सा टिप्न जाने गरेकोले यस वर्ष सो प्रयास गरिएको हो ।
गाउँपालिका अध्यक्ष लक्ष्मण बोहराले शिक्षाको गुणस्तर बढाउन स्थानीय सरकार लागिपरेको र यसमा अभिभावकले सहयोग गरे सम्भव हुने बताउनुभयो । अध्यक्ष बोहरा, उपाध्यक्ष पुन्नकली महतारासहितका पदाधिकारी अहिले पातारासी गाउँपालिका विद्यालय र गाउँलेसँगको भेटघाटमा यार्सा टिप्ने समय भए पनि विद्यार्थीलाई विद्यालयमै निरन्तरता दिन विशेष शैक्षिक अभियान थालेका हुन् । स्थानीयवासी कालीबहादुर बोहराले जनचेतनामूलक कार्यक्रमले केही सुधार आउने बताउनुभयो । अधिकांश विद्यार्थी आमाबुबासँगै यार्सा टिप्न पाटनतिर लाग्ने भएकाले विद्यालयको त्रैमासिक परीक्षा प्रभावित हुने गर्दछन् ।
गत वर्ष डिल्लीचौरस्थित ऋणमोक्ष माविमा ६० प्रतिशत विद्यार्थी जडीबुटी टिप्न गएकोले विद्यालयको परीक्षा सार्नुपरेको शिक्षक जगतबहादुर शाहीले बताउनुभयो । उक्त विद्यालयमा गत वर्षको हाजिरीमा कक्षा १० मा अध्ययनरत ६१ मध्ये ३८, कक्षा ९ मा ११८ मध्ये ८७, कक्षा ८ मा ८०, कक्षा ७ मा ७६ मध्ये ४३ र कक्षा ६ मा ४४ मध्ये २८ विद्यार्थी अनुपस्थित भएका थिए ।
यसैगरी पातारासी र गोठीचौरका माध्यमिक तथा निम्न माध्यमिक विद्यालयका विद्यार्थी पनि बर्सेनि यार्सा टिप्न अभिभावकसँग पाटन जाने गरेका थिए । जेठ महिनामै परीक्षा सकिनुपर्नेमा विद्यार्थी नफर्किएपछि असार अन्तिममा परीक्षा सारेको थियो । यस क्षेत्रमा अहिले यार्सासँगै वनलसुन, कटुको, भुल्तेलगायत जडीबुटी टिप्न विद्यार्थीसमेत जाने गरेका स्थानीयवासीले बताए ।
यार्सा टिप्न गएर कहिले बालबालिका मर्ने र कहिले बिरामी हुने गरेकोे छ । विसं २०७३ मा डिल्लीचौर विद्यालयका कक्षा ६ मा अध्ययनरत एक छात्रको ज्यान गएको उक्त विद्यालयले जनाएको छ । यार्सा टिप्न बालबालिका जाँदा धेरै पढाइ छुट्ने भएकाले शैक्षिक गुणस्तर वृद्धि हुन नसकेको शिक्षक कृष्ण बुढाले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *