भर्खरै :

कालोपत्र भएको दुई हप्तामै सडक जीर्ण

– पूर्णप्रसाद मिश्र
काठमाडौँ, १३ वैशाख । चाबहिल–बौद्ध–जोरपाटी–साँखु सडकअन्तर्गत जोरपाटी ओरालोबाट नारायणटार पुलसम्मको करीब एक किलोमिटर खण्ड कालोपत्र भएको दुई हप्तामै जीर्ण बनेको छ ।
यो सडक गत चैतको अन्तिम सातामा कालोपत्र भएको थियो । निर्माण कम्पनी युनाइटेड विल्डर्सले यो सडक कालोपत्र गरेको हो । कालोपत्र भएकै बेला सम्झौतामा तोकिएभन्दा कम निर्माण सामग्री प्रयोग भएको भन्दै स्थानीयवासीले विरोध जनाएका थिए ।
यो सडक निर्माण सुरु भएको लामो समयसम्म दायाँबायाँका घर नभत्काएकोले ‘साइड क्लियर’ नभएको भन्दै बन्न सकेको थिएन । सर्वोच्च अदालतले मुआब्जा दिएरमात्र घर भत्काउने फैसला सुनाएपछि सरकारले अहिले भएकै चौडाइमा कालोपत्र गर्ने निर्णय गरेको थियो ।
सरकारले निर्णय गरेको वर्ष बितिसक्दा पनि निर्माण व्यवसायीले काम गरेका छैनन् । करीब ११ किमिको यो सडकको धेरै ठाउँमा अझै कालोपत्र भएको छैन । एक दिन काम गरे हप्ता दिनसम्म काम रोकिने, करोडौँको ठेक्का लिएर चार पाँच जना मजदुरमात्र काममा उतार्ने गरेको स्थानीयवासी श्याम बरालले गुनासो गर्नुभयो ।
दुई साताअघि गरिएको कालोपत्रको गिट्टी निस्किएर पहिलेकै अवस्थामा सडक फर्किएको छ । कालोपत्र गरेको दुई सातामा फेरि सडकमा पानी जम्न थालेको छ । गोकर्णेश्वर नगरपालिकाले कालोपत्र भइरहेका बेला कामको अनुगमन गरेको थियो । नगर उपप्रमुख शान्ति नेपाल वर्षौंपछि बनेको सडक खुसीले अनुगमन गर्ने बताउनुहुन्छ ।
“सङ्घीय सरकारले लगाएको ठेक्का भएकोले अनुगमन गर्ने स्थानीय सरकारको काम त होइन तर नगरभित्रै भएकोले गएका थियौँ, त्यसैबेला गुणस्तरीय काम नभएको स्थानीयवासीको गुनासो थियो, सम्झौताअनुसार काम गराउन नगरपालिकाले पहल गर्छ”, नगरपालिकाको अनुगमन प्रमुखसमेत रहनुभएकी उहाँले भन्नुभयो । दुई सातामै सडक जीर्ण भएको सम्बन्धमा प्रतिक्रिया लिन युनाइटेड विल्डर्सका अधिकारीसँग पटकपटक सम्पर्क गर्दा पनि सम्पर्क हुन सकेन ।
जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक मर्मत गरिने
यसैबीच जीर्ण बनेको जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक वैशाख १६ गतेदेखि मर्मतसम्भार हुने भएको छ । सडक विभागले यो सडक मर्मत गर्न लागेको नगर प्रमुख सन्तोष चालिसेले जानकारी दिनुभयो ।
बिस्तारका लागि ठेक्का भइसकेको सात किमिको यो सडक चार वर्षदेखि दायाँबायाँका घर नभत्किएकै कारण अलपत्र बनेको छ । धेरै ठाउँमा खाल्डाखुल्डी भएकोले सवारी पल्टिनेलगायत दुर्घटना हुने गरेको छ । मर्मतसम्भारमा सहयोग गर्न नगरपालिकाले सार्वजनिक सूचना जारी नगरवासीसँग आह्वान गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *