भर्खरै :

विकिलिक्स, असान्ज र प्रेस स्वतन्त्रता

हरि रोका
(गोप्य सरकारी सूचना चुहाएको आरोपमा लामो समयदेखि संरा अमेरिकाले गिरफ्तार गर्न खोजिरहेको जुलियान असान्जलाई बेलायती प्रहरीले इक्वेडरको लन्डनस्थित दुतावासबाट पक्राउ ग¥यो । उनी इक्वेडरको दुतावासमा शरणार्थी थिए । यस विषयमा नेपालका ब्रोर्डसिट मिडियाले त्यत्ति बोल्न चाहेको देखिएन । नेपालको बौद्धिक वृत्तबीच असान्ज कमैमात्र छलफलको विषय बने । लेखक हरि रोकाले असाज्नको गिरफ्तारी र विगतको घटनाक्रमबारे लेख्नुभएको लेख १० वैशाखको नागरिक दैनिकमा प्रकाशित भएको छ । लेख पठनीय भएकोले मजदुर दैनिकमा साभार गरिएको छ ।)
लेखक रोकाले लेखमा नेपालका कुनै पनि अखबारले असान्जको गिरफ्तारीबारे सम्पादकीय कलम नचलाएको लेख्नुभएको छ । लेखकको यो कुरा सत्य होइन । असान्जको गिरफ्तारीको विरोधमा मजदुर दैनिकले २९ चैतमा सम्पादकीय कलम चलाएको थियो । त्यसबाहेक असान्जबारे मजदुर दैनिकले धेरै अघिदेखि नै असान्जबारे मौलिक तथा अनुदित लेख प्रकाशित गर्दै आएको पाठकलाई विदित्तै छ । –सम्पादक)
तपाईँ–हामी र हामीलाई पछ्याइरहेको नयाँ पुस्तास बैले आफूलाई ‘कस्मोपोलिस’, ‘ग्लोबल–सिटी’, ‘ग्लोबल–भिलेज’ का बासिन्दा हौँ भन्ने दाबी गर्दै आएका छौँ । यसको अर्थ– हामी कोही टाढा छैनौँ, चाहेको खण्डमा कसैबारे बेखबर हुदैनौँ भन्ने लाग्ला । हुन पनि यो पृथ्वीका आधाभन्दा बढी मानिस ‘अन्त र सञ्जाल’ अर्थात् ‘इन्टरनेट’ सँग आबद्ध छन् । केही वर्ष अघिसम्म एकोहोरो सञ्चार गर्ने बाह्य वा आन्तरिक सूचना स्रोत हुने गर्थे जस्तोः रेडियो, टेलिभिजन, अखबार आदि । केही दसक यता अधिकतर मानिस गुगल, याहु, हटमेल, वि–च्याट, फेसबुक, ट्विटर, इस्टाग्राम र युट्युबसँग जोडिन पुगेका छन् । यी माध्यममार्फत मानिस आफ्ना आचार–विचार, तस्बिर, कार्यक्रम, भिडियो, निमन्त्रणा, प्रेम तथा समय कार्यतालिका एकअर्कालाई सम्प्रेषण गर्छन् ।
केही वर्ष अघिसम्म असम्भवजस्ता लाग्ने यी क्रियाकलाप अहिले अचम्म लाग्ने गरी सम्भव भएका छन् । सञ्चारका यी नयाँ माध्यमले सूचना सम्प्रेषण गर्ने विधि र प्रक्रियामा परिवर्तन ल्याइदिएका छन् । तर, यो सुुविधासँगै चुनौती पनि थपिएका छन् । सूचना र सञ्चारको दुरूपयोगले ठूल्ठूला समस्या खडा गरेका छन् । जस्तोः अपहरण, चन्दा, फिरौती, डकैती, आगजनी, बलात्कार, हत्याका धम्की दिने तथा यस्ता अपराध गर्ने । त्यसैले सूचनाका आधुनिक माध्यमका कारण आजको विश्व जति सुगम र सहज बनेको छ त्यति नै जटिल र खतरनाक पनि हुँदै छ । यस्ता अवाञ्छित क्रियाकलाप नियन्त्रण गर्न राज्य (सरकार) लाई थप चुनौती खडा भएको छ ।
असान्जलाई अमेरिका सुपुर्दगी गर्नुपर्छ र गर्नुहुन्न भन्नेबारे नयाँ विवाद सुरु भएको छ ।
तर, जब प्रेस स्वतन्त्रता तथा सुशासनको दुहाइ दिने र दिइरहेका तथा उदार प्रजातन्त्रको लामो अभ्यास गरेको दाबी गर्ने मुलुकहरू सूचना लुकाउन, बङ्ग्याउन तथा खोज–अनुसन्धान गरी सही सूचना सम्प्रेषण गर्ने सञ्चारकर्मीलाई दण्डित गर्न थाल्छन् तब खुला बहस र स्वतन्त्र सूचना प्रवाह कुण्ठित हुन्छन्, साँच्चै भन्ने हो भने लोकतन्त्रको हत्या हुन पुग्छ । यो आलेखमा अमेरिकामा सुपुर्दगी (डिपोर्ट) गर्न भनेर इक्वेडरस्थित राजदूतावासबाट बेलायत सरकारले कब्जामा लिएका पत्रकार जुलियन असान्ज तथा उनीसँग जोडिएका पात्रहरूले पत्रकारिता क्षेत्रमा निर्वाह गरेका भूमिका, भोगाइ तथा सञ्चार सम्बन्धमा उदारवादी र कथित दक्षिणपन्थी पपुलिस्टहरूको सोच र व्यवहारमाथि प्रकाश पार्ने कोसिस गरिएको छ ।
अमेरिका र तेल उत्पादक
विषय, इराकी तानाशाह सद्दामहुसेनको सत्ता पल्टाउने विषयसँग सम्बन्धित छ । सन् २००१ मा न्युयोर्कको ट्विन टावर विस्फोटनपछि तत्कालीन रिपब्लिकन पार्टीका अमेरिकी राष्ट्रपति जुनियर जर्ज डब्लु बुसले मुस्लिम राष्ट्रहरूलाई प्रत्यक्ष पाठ पढाउने सोच बनाए । पहिलो नम्बरमा प–यो– इराक । तत्कालीन इराक, इरान र साउदी अरबबीच क्षेत्रीय शक्ति को हुने भन्ने नजानिँदो प्रतिस्पर्धा थियो । खनिज तेलले भरिभराउ यी मुलुकबीच अन्तरविरोध खडा गरेर अमेरिका, बेलायत तथा युरोपजस्ता पुँजीवादी मुलुकका बहुराष्ट्रिय कम्पनीहरूले लाभ लिइरहेका थिए । तर, इरानी क्रान्तिमार्फत अमेरिका पक्षधर शाह रेजा पहलवीको शासन सत्ता ढलेपछि अमेरिका–इरान सम्बन्ध बिग्रियो । क्रान्तिको प्रभाव पश्चिम एसिया र उत्तर अफ्रिकामा नपरोस् भनेर साउदी अरब र अमेरिकाको सहयोगमा सद्दाम हुसेन इरानसँग युद्धै गर्न पुगे । आठ वर्ष लामो लडाइँ थामिएपछि इराकले पश्चिम एसिया तथा उत्तर अफ्रिका भूमध्य सागर तटीय राष्ट्रहरूबीच आफूलाई शक्तिशाली शक्ति ठान्न थाल्यो र केही समयपछि आक्रमण गरी सीमा जोडिएको कुवेत कब्जामा लियो । यो साउदी अरबका राजघरानालाई पच्ने कुरै भएन । यसपछि अमेरिका, इजरायल र साउदी अरबबीचको गोप्य साठगाँठमा इराकलाई तह लगाउने निष्कर्ष निकालियो ।
सिनियर जर्ज डब्लु बुस अमेरिकी नेतृत्वको नाटो गठबन्धनले इराकमा आक्रमण गरी कुवेत पुनःस्थापना ग¥यो र अमेरिकी–युरोपेली गठबन्धनले इराकविरुद्ध आर्थिक प्रतिबन्ध लगाइदियो । सद्दाम हुसेनको इराक एक्लियो । तर, बहुराष्ट्रिय कम्पनीहरूका आँखा इराकको विशाल तेल तथा ग्यास भण्डारमा थियो । जसको लाभ लिन हुसेनको पतनबेगर सम्भव थिएन । सन् २००३ अगाडि इराकमा विश्व ध्वस्त पार्ने हतियार भण्डारण (वैपन अफ मास डिस्ट्रक्सन) रहेको प्रचार गरियो । कर्पोरेट मिडियाले ‘क्षेत्रीय मुलुकहरूलाई इराकद्वारा आक्रमणको खतरा’ रहेको हुँदा ‘दण्डित गर्नलायक’ समाचार संसारभर फिँजाएपछि आ–आफ्ना मुलुकका संसदलाई समेत अन्धकारमा राखेर इराकविरुद्ध सङ्गठित हमला गरियो र सद्दाम अपदस्थ भए । तर, सद्दामको सत्ताविरुद्ध वैपन अफ मास डिस्ट्रक्सन (डब्लुएमडी) तथा ‘छिमेकमा आक्रमण’ का जे जति आरोप फैलाइएका थिए ती मात्र इराक आक्रमण गर्ने योजनाअनुरूप बुनिएका षडयन्त्र थिए भन्ने खुलासा भयो (न्युयोर्क टाइम्समा ६ जुलाई, २०१६ मा प्रकाशित स्टेभन एरलङ्गर तथा डभिड सेन्डरद्वारा लिखित ‘चिलकोट रिपोर्ट अन इराक वार अफर्स डिभास्टेटिङ क्रिटिक अफ टोनी ब्लेयर’) । तर, सद्दामसँगै इराकको कथा टुङ्गिएन । सुन्नी, सिया र कुर्द समुदायको सामूहिक थलोइराकमा राजनीतिक, सामाजिक तथा सांस्कृतिक सद्भाव र सन्तुलन कायम गर्नु कठिन काम थियो । त्यसमाथि अमेरिका तथा नाटो गठबन्धनको आक्रमणविरुद्ध सङ्गठित प्रतिरोध हुनु पनि अस्वाभाविक थिएन । सद्दामपछिको इराकमा गृहयुद्धको ठूलो सम्भावना थियो र यो नियन्त्रणका नाममा अमेरिका र उसका गठबन्धन राष्ट्रका सेना, आफ्नो राजनीतिक वर्चस्व कायम नहुञ्जेल परिचालन हुनु पनि अनौठो थिएन ।
चेल्सी म्यानिङको ‘ह्विसलब्लइङ’
इराक युद्धका समय यूएस आर्मी अफिसर थिइन् चेल्सी म्यानिङ । सद्दाम अपदस्थ भएपछि उनलाई इराक खटाइयो । जहाँ उनका आँखा अगाडि अमेरिकी गठबन्धन सेनाले सयौँ यस्ता दर्दनाक घटना गराए जुन सैनिक आचरण र मानवताविपरीत थिए । तर, नागरिकविरुद्ध भइरहेका यस्ता बर्बर तथा अमानवीय आक्रमणका सत्य तथ्य लुकाइन्थे र झूटा समाचार सम्प्रेषण गरिन्थे । सत्य सूचना फेडरल फ्रिडम अफ इन्फर्मल एक्ट (एफओआइए) अन्तर्गत प्राप्त गर्ने प्रावधान अमेरिकी कानुनमा नभएको भने होइन तर म्यानिङको सहयोगमा विकिलिक्सले प्रकाशमा नल्याउञ्जेल सद्दामपछिको इराक र गठबन्धन हस्तक्षेपपछिको अफगानिस्तानबारे संसार अनभिज्ञ थियो ।
पछि म्यानिङको पोस्टिङ सैनिक मुख्यालय ‘पेन्टागन’ मा भयो । जहाँ उनलाई इराक र अफगान द्वन्द्वमा भइरहेका नागरिक हत्या, छानबिनको नाममा थानामा गरिने ज्यादती, ठेकेदारमार्फत भाडाका सैन्य (जसलाई मर्सिनरी भनिन्छ जुन अन्तर्राष्ट्रिय स्तरमै गैरकानुनी मानिन्छ) प्रयोग गरी नागरिकको कत्लेआम, अफगानी तालिवानलाई पु¥याइएको ‘भित्री सहयोग’ आदिबारे रिपोर्टहरू दस्तावेजीकरण र व्यवस्थित गर्ने जिम्मेवारी मिल्यो । कतिपय घटनाको त उनी आफै साक्षी भइन् । उनले मानवताविरोधी सबै हर्कत खुलासा गर्ने सङ्कल्प लिइन् र भएभरका सूचना विकिलिक्सको केवल बक्समा जम्मा गरिदिइन् । तीमध्ये १२ जुलाई, २००७ मा अमेरिकी अवाचे हेलिकोप्टरबाट बग्दादमा गरिएको एयर–स्ट्राइक, मानवताविरुद्ध सबैभन्दा डरलाग्दो प्रमाण ठह¥याइयो । जसलाई विकिलिक्सले ‘कोल्याटरल मर्डर’ शीर्षकमा सार्वजनिक ग¥यो । उक्त घटनामा मारिएका १२ जनामध्ये समाचार संस्था ‘रोयटर्स’ का दुई संवाददाता पनि थिए जसलाई ‘मुठभेडमा मारिएका विद्रोही’ भनिएको थियो । मृतकमा दुई साना बच्चा पनि थिए ।
नेपालका सम्पादक कसैले असान्ज प्रकरणका पक्ष वा विपक्षमा सम्पादकीय लेखेनन् । हाम्रोजस्ता मुलुकका सत्ताधारीहरू इक्वेडरका राष्ट्रपति मोरेनोको भूमिकामा देखापर्दा ऐक्यबद्धता चाहिन्छ भन्ने पनि ठान्दैनन् कि ?
म्यानिङले ‘विकिलिक्स’ अनलाइन केबलमा युद्ध योजना वा रणनीतिबारे सरकार र सेनापक्षीय महत्वपूर्ण छलफलको रेकर्ड (यूएस वारलग्स) तथा कूटनीतिक संवादसम्बन्धी सूचना सञ्जाल (डिप्लोमेटिक केबल) मा राखेकी थिइन् । म्यानिङ वास्तवमा अमेरिकी परराष्ट्रनीति तथा पेन्टागनमार्फत गरिएका युद्ध अपराधबारे अमेरिकी सैन्य मुख्यालय पेन्टागनले नै जम्मा पारेका दस्तावेज र तिनमा सङ्कलित नग्न–सत्य (न्याकेड–टुथ) सारा संसारले थाहा पाऊन् र साम्राज्यवाद के हो, यो कसरी टिकेको छ र टिक्ने प्रयत्न गरिरहेको छ भन्ने उजागर गर्न चाहन्थिन् । यस्तो सूचनाप्रवाह गर्ने कामलाई ह्विसल ब्लइङ भनिन्छ भने यो काम गर्ने व्यक्तिलाई ‘ह्विसल–ब्लवर’ भनिन्छ । यस्तो सत्यकथा बाहिर ल्याउन ठूलो हिम्मत र साहस चाहिन्छ । जुन प्रमाणित भए जासुसी अभियोगमा अमेरिकी जासुसी ऐनअनुसार आजीवन जेल सजाय हुन्छ । हाल म्यानिङलाई २० वर्ष सजाय माग गरिएको छ । उनी न पहिलो ‘हिवसल–ब्लवर्स’ हुन् न त अन्तिम नै । उनको यो घटना सार्वजनिक भएपछि संसारमा आफ्नो ज्यानदाउमा राखेर ह्विसल–ब्लवर्सहरू निस्किएका छन् ।
सन् २०११ मा खासगरी ट्युनिसिया विद्रोहको आगो उत्तर अफ्रिकाका अन्य मुलुक हुँदै पश्चिम एसियाली मुलुकमा पनि फैलियो । जसलाई ‘अरब–स्प्रिङ’ भन्ने गरिन्छ । आन्दोलन आफ्नो पक्षमा पार्न धनाढ्य मुलुकले आन्दोलन कसरी ‘बङ्ग्याउँछन्’, कसरी स्थानीय नेताहरूसँग ‘अँध्यारोमा व्यवहार गर्छन्’ र कसरी मूल मुद्दाहरूलाई पाखा पार्दै लान्छन् र प्रतिक्रान्ति गराउन सफल हुन्छन् भन्ने रहस्य संसारले थाहा पायो । अफगानिस्तान हस्तक्षेपका लागि कसरी ‘अलकायदा’ अस्तित्वमा ल्याइयो भन्ने सीआइएको पुरानो कथा पनि बाहिर आयो । तर, इराक र सिरियामा हस्तक्षेप गर्न साउदी अरब र कतारले फुल पारेको ‘आइएसआइएस’ अन्डालाई तत्कालीन बाराक ओबामा सरकारको विदेशमन्त्री रहेकी लिबरल डेमोक्र्राट महामहिम हिलारी क्लिन्टनले ओथारा दिइन् र ‘आइएसआइएस आतङ्ककारी’ का चल्ला कोरलिन् । सिरिया र इराकमा ती कसरी फैलिए भन्ने उजागर भयो । अरब स्प्रिङअघि लिबियाली तानाशाहबाट फ्रान्सका तत्कालीन शासक निकोलास सार्कोजी र बेलायती शैक्षिक संस्थाहरूले करोडौँ डलर लिएका थिए । पछि यी सबैको मिलेमतो र षड्यन्त्र तथा हिलारीको अगुवाइमा गद्दाफीको शासनसत्ता पल्टियो, उनी मारिए र लिबिया आज पर्यन्त गृहयुद्ध खेपिरहेको छ । हिलारीकै नेतृत्वमा सिरियामा सशस्त्र विपक्षी खडा भयो र गृहयुद्ध भयो ।
दसौँ लाख सिरियाली मारिए, लाखौँ नागरिक आज पनि देश बाहिर शरणार्थी जीवन जिउन बाध्य छन् । लाखौँ समुद्रमा डुबे । मध्यम आय भएको सुन्दर देश सिरिया अझै युद्ध रापमा छ । सिरिया कब्जापछि इरान हुँदै अझै पनि रसियाली प्रभावमा रहेको सेन्ट्रल एसियाली खजानासम्म पुग्ने ‘हिलारी चाहना’ त्यही विकिलिक्सले उदाङग्याएको थियो । सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा हिलारी पराजित हुनु पछाडि विकिलिक्सको खुलासा पनि एक कारण थियो भनेर आकलन गरिएको छ ।
यही सत्य उजागर गरेबापत चेल्सी एलिजावेथ म्यानिङलाई ३५ वर्ष जेल सजाय सुनाइएको थियो । उनले ७ वर्ष अन्य मानिसका साथमा र २ वर्ष एकान्त गरी ९ वर्ष जेल जीवन बिताइसकेकी थिइन् । १७ जनवरी, २०१७ का दिन राष्ट्रपति बाराक ओबामाले बाँकी सजाय मिनाहा गरेपछि उनी जेलमुक्त भएकी थिइन् । तर, वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि मुद्दा उल्टाए र अन्तर्राष्ट्रिय महिला दिवस अर्थात् ८ मार्चका दिन उनलाई पुनः हिरासतमा लिइयो । अहिले उनी हिरासतमै दिन बिताइरहेकी छन् ।
विकिलिक्स, असान्ज र ऐक्यबद्धता
विकिलिक्स ‘डिजिटल मेलबक्स’ का रूपमा स्थापना गरिएको थियो जहाँ आम जनताका पक्षमा ह्विसल–ब्लवर्सहरूले सार्वजनिक सूचना जम्मा गर्ने गर्छन् । म्यानिङद्वारा सङ्कलित, संयुक्त राज्य अमेरिकाले इराक र अफगानिस्तानमा गरेका ‘युद्ध–अपराध’ का सूचना जुलियन असान्ज नेतृत्वको विकिलिक्सले सन् २०१० मा पहिलो पटक सार्वजनिक ग¥यो । सन् २०१६ को राष्ट्रपतीय चुनाव प्रचारका बेला डेमोक्रेटिक नेसनल कमिटीसँग भएको हिलारी–पत्राचार (इमेल) पनि यसले बाहिर ल्यायो । अनि निर्वाचनको अन्तिम महिना हिलारीका प्रमुख क्याम्पियन म्यानेजर जोन पोदेस्ताका इमेलहरूको भेद पनि यसले खोलिदियो । कसले के सूचना विकिलिक्सको मेलबक्समा चुहाउँछ (लिक), कसैले पनि नियन्त्रण गर्नसक्तैन, यसमा जडान गरिएको विशेष प्रविधिका कारण ।
विकिलिक्सका संस्थापक जुलियन असान्ज सन् २०१२ देखि लन्डनको इक्वेडर दूतावासमा शरण लिइरहेका थिए । इक्वेडरका वर्तमान राष्ट्रपति लेनिन मोरेनोले असान्जविरुद्ध ‘अन्तर्राष्ट्रिय नियम उल्लङ्घन गरेको’ आरोप लगाएर त्यहाँबाट निकाल्ने सूचना जारी गरेपछि यही अप्रिल ११ का दिन उनलाई बेलायती प्रहरीले हिरासतमा लिएको छ । मोरेनोेअघि राफेल कोरिया (२००७–१७) राष्ट्रपति थिए । यूएस वार–क्राइम बाहिर ल्याएबापत अमेरिकामा सुपुर्दगी हुनबाट बचाउने वचनसहित उनलाई शरण दिइएको थियो । असान्जलाई सुपुर्दगीको तरबार तेस्र्याएको यो समयमा दूतावासबाट निकाल्ने निर्णय किन लिए इक्वेडरका राष्ट्रपतिले ? किन ‘अन्तर्राष्ट्रिय बेइमान’ को पगरी गुथ्न तयार भए भन्ने प्रश्नको उत्तर पनि भेटिएको छ ।
‘रसियागेट’ अर्थात् चुनावमा धाँधली गरेको आरोपबारे छानबिन गरिरहेका रोबर्ट एस मुलरको ४ सय पृष्ठ लामो प्रतिवेदन केही महिनापछि सार्वजनिक हुँदैछ र त्यो रिपोर्टले आफूविरुद्ध कुनै अप्ठेरो परिस्थिति उत्पन्न हुनसक्छ भन्ने भय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा उनको समूहलाई भइरहेको थियो । त्यसबाट ध्यान अर्को ठूलो विषयमा कसरी केन्द्रित गर्न सकिन्छ भनेर ट्रम्प प्रशासन लागिरहेको थियो । यसैबीच सन् २०१७ पछि वामपन्थी व्यानरमा इक्वेडरका राष्ट्रपति बन्न सफल लेनिन मोरेनोे कुटिल दक्षिणपन्थी हुन् । आफ्नो शासन कालको २ वर्ष नबित्दै उनी र उनका परिवारले भ्रष्टाचार तथा वैदेशिक मुद्रा अपचलन (मनी लाउन्ड्रिङ) गरेका समाचारहरू सार्वजनिक हुन थाले । वामपन्थी राष्ट्रपति राफेल कोरियाले गरेका सुधारका कार्यक्रम उनले धमाधम उल्ट्याइरहेका थिए । ठूला बहुराष्ट्रिय कर्पोरेसनहरूले सञ्चालन गरेका हाइड्रोपावर प्रोजेक्ट तथा खानी उत्खनन कम्पनीबाट नगद उठाउने काम पनि यिनैबाट भइरहेको कुरा लुकेको थिएन । बिस्तारै–बिस्तारै उनी नवउदारवादी बजारको पक्षपोषण गर्न थालिरहेका थिए ।
जनता र आफ्नै पार्टी पङ्क्तिबाट अलग हुँदै गएका मोरेनोेका विषयमा गत मार्च २७ मा पानामा अफसोर बैङ्क डिमा इक्वेडरको संसद नेसनल एसेम्बलीले छानबिन गर्न सहमति जनाएपछि उनलाई तत्काल अन्तर्राष्ट्रिय सुरक्षाकवच चाहिएको थियो ।
बिस्तारै उनी आइएमएफ र वल्र्ड बैङ्कसँग नजिकिँदै गए, अनि आफ्ना कूटनीतिज्ञमार्फत अमेरिकी उपराष्ट्रपति माइक पेन्सकहाँ पुग्न सफल भए । ट्रम्प प्रशासन यही अवसरकोे खोजीमा थियो । सम्बन्ध बलियो बनाउन आइएमएफको कार्यकारी बोर्डले मोरेनो सरकारसँग ४.२ अर्ब अमेरिकी डलर ऋण प्याकेजको स्वीकृति दिएको छ । मोरेनोकोे सैद्धान्तिक–राजनीतिक टाटपल्टाइ उनका आफ्नै पार्टी पङ्क्ति र जनमतविरुद्ध हुन पुग्यो । यी सबै सूचना बाहिरिनुको दोष उनले विकिलिक्स र असान्जलाई लगाए ।
असान्जलाई अमेरिका सुपुर्दगी गर्नुपर्छ र गर्नुहुन्न भन्नेबारे नयाँ विवाद सुरु भएको छ । कन्जरेटिभ टोरी, हिलारी क्लिन्टनतर्फका अमेरिकी डेमोक्र्राट र युद्धको पक्षपोषण गर्दै आएको ट्रम्प प्रशासन एकै ठाउँ आइपुगेका छन् र उनीहरूलाई दि इकोनोमिस्टलगायत दक्षिणपन्थी कर्पोरेट मिडियाले साथ दिइरहेका छन् । अर्कातर्फ प्रगतिशील खेमाका खासगरी लेबोर, सोसियल डेमोक्र्राट वामपन्थी पार्टी तथा गार्जियनजस्ता तटस्थ मिडियाहरू असान्ज सुपुर्दगीको विपक्षमा देखिएका छन् । असान्जलाई पक्राउ गर्नु आफैमा एउटा अपराध हो । उनले त ह्विसल–ब्लवरले मेलबक्समा जम्मा गरिदिएका समाचार प्रकाशमा ल्याएका मात्र हुन् । तिनै समाचार न्युयोर्क टाइम्स, गार्जियन, इन्डेपेन्डेन्ट, वासिङटन पोस्टले आवश्यकताअनुसार छापेर बाहिर ल्याएका थिए । यसो भन्नेहरूको सङ्ख्या बढ्दै गएको छ । उनको पक्राउलाई प्रेस स्वतन्त्रताको अँध्यारो क्षण भनेर चित्रण गर्दैछन् । विश्वका नेतृत्वकारी चिन्तक भनेर चिनिने नोम चोम्स्की भन्छन्– ‘असान्जको गिरफ्तारी सबै हिसाबले निन्दनीय छ । विकिलिक्सले शक्तिमा रहेका शासकहरूले के उत्पादन गर्छन् भनेर जनतालाई थाहा दिएको थियो । तर, तिनलाई यो मनपरेन । यसो भन्दैमा हामी पनि चुप लाग्न मिल्छ ?’
तर, अर्का अमेरिकी लेखक गोर भिदालले सन् २००९ मा दि इन्डेपेन्डेन्ट अखबारलाई दिएको अन्तर्वार्तामा बेलायतलाई लक्ष्य गर्दै भनेका छन्, “यो एउटा स्वतन्त्र देश होइन, अमेरिकन एयरक्र्राफ्ट क्ररियर हो ।” तर, नेपालका सम्पादकहरूले असान्जका पक्ष वा विपक्षमा कुनै सम्पादकीय लेखेनन् । थाहा छैन, हाम्रो जस्ता मुलुकका सत्ताधारीहरू इक्वेडरका मोरेनोको भूमिकामा देखापर्दा ऐक्यबद्धता चाहिन्छ भन्ने पनि ठान्दैनन् कि यिनीहरू ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *