भर्खरै :

उत्तर कोरियाद्वारा शक्तिशाली रकेट इन्जिन परीक्षण

टोक्यो, ६ चैत्र । उत्तर कोरियाले नवीनतम प्रविधियुक्त, आगोको अत्यन्त ठूलो मुस्लो फाली (हाई थ्रस्ट) अति तीब्र गतिमा उड्न सक्ने रकेट इन्जिनको आज सफल भूमि–परीक्षण गरेको तथ्य कोरियन सेन्ट्रल न्यूज एजेन्सि (केसिएनए)ले जनाएको छ ।
उत्तर कोरियाली नेता किम जोङ्ग उनले यस परीक्षणलाई अन्तरिक्ष अनुसन्धान कार्यक्रमतर्फ राष्ट्र कै उल्लेखनीय क्रान्तिकारी उपलब्धिको संज्ञा दिनुभएको छ ।
उत्तर कोरियाको सोहाए प्रक्षेपणस्थलको भूमिमा उक्त इन्जिनको सफल परीक्षण गरिएको र नेता किम जोङ्ग उन पनि उक्त परीक्षण कार्यक्रममा उपस्थित रहनुभएको थियो ।
उत्तर कोरियाद्वारा निर्मित अत्यन्त नवीन प्रकृतिको सो रकेट इन्जिनको क्षमता, आगोको ठूलो मुस्लो फाल्न सक्ने शक्ति (थ्रस्ट पावर), सञ्चालन प्रणालीद्वारा नियन्त्रण हुनेमा विश्वसनीयता र संरचनात्मक सुरक्षा इत्यादि मूलभूत प्रणाली मापन र पुष्टिका लागि भूमि–परीक्षण गरिएको जनाइएको छ ।
नितान्त आफ्नै प्रविधि र मौलिक प्रयासमा उत्तर कोरियाले अन्तरिक्ष तथा ग्रहहरुको अनुसन्धान गरिरहेकोमा यस्तो परियोजनालाई थप बलिष्ठ र सफल बनाउने दिशामा यस परीक्षण ऐतिहासिक महत्वको एक ठूलो फड्को साबित भएको भनी नेता उनले उत्तर कोरियाली रकेट उद्योगको बिकासमा हासिल भएको यस क्रान्तिकारी उपलब्धिलाई मार्च १८ रिभोल्युसनू भन्ने नामकरण गर्नु उपयुक्त हुने बताउनुभयो ।
अबदेखि उत्तर कोरियाद्वारा सञ्चालित अन्तरिक्ष अनुसन्धान कार्यक्रम अन्तर्गत प्रक्षेपण गरिने रकेट, भू–उपग्रह इत्यादिमा यस्तै इन्जिन जडान गरिने पनि केसिएनएद्वारा प्रकाशित प्रतिवेदनले जनाएको छ ।
लामा दूरीका क्षेप्यास्त्र परीक्षण गर्नबाट संयुक्त राष्ट्र सङ्घले उत्तर कोरियामाथि लगाएको प्रतिबन्ध अझै कायमै छ ।
तर, आफ्नो अन्तरिक्ष अनुसन्धान र भू–उपग्रह प्रक्षेपण परियोजना शान्तिपूर्ण प्रयोगका लागि भनी उत्तर कोरियाले जिकिर गरेता पनि अमेरिकालगायत अन्य राष्ट्र भने उक्त रकेट इन्जिनको परीक्षण पश्चात् सशंकित नै रहेका छन् । रासस÷एपी

Leave a Reply

Your email address will not be published. Required fields are marked *