के ‘गाँसे गुसे एकै नासे’ हो ?
- असार १५, २०८३
काठमाडाँै, १६ वैशाख । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले प्रतिपक्ष दलहरूले उठाएका मुद्दालाई सरकारले बेवास्ता गरेको बताउनुभएको छ । आइतबार एभिन्युज टीभीको सकस राजनीति कार्यक्रममा सञ्चारकर्मी सुशील पाण्डेसँग समसामयिक राजनीतिक परिस्थितिबारे कुराकानी गर्दै उहाँले पशुलाई दाम्लोले बाँध्ने, मानिसलाई लाजले बाँध्नुपर्ने तर सरकारले लाजै पचाएर काम गरिरहेको धारणा राख्नुभयो ।
अध्यक्ष बिजुक्छेंले भागबण्डाको राजनीतिकै कारण प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसले प्रभावकारी भूमिका खेल्न नसकेको बताउनुभयो ।
उहाँले जात, भाषा, क्षेत्र र पैसाको बलमा चुनाव जित्ने शासक दलले जनताका समस्या समाधान गर्न नसक्ने विचार राख्नुभयो ।
उहाँले भन्नुभयो, “सत्तासीन नेकपा कम्युनिस्ट पार्टी होइन । कम्युनिस्ट पार्टीको सरकार नभएकैले वर्तमान सरकारले व्यापक मजदुर–किसानको हित हुने नीति ल्याउन नसकेको हो । उत्पादनका साधनको राष्ट्रियकरण गरेको छैन ।”
भ्रष्टाचारलाई पुँजीवादी व्यवस्थाको छायाको संज्ञा दिंदै उहाँले संविधानमा समाजवादउन्मुख भन्ने शब्द लेख्दैमा देशमा समाजवादी व्यवस्था नआउने धारणा राख्नुभयो । “भारतको संविधानमा पनि ‘शोषणमुक्त समाज बनाउने’ उल्लेख छ । तर, भारतमा शोषण अझै कम भएको छैन ।”, अध्यक्ष बिजुक्छेंले भन्नुभयो ।
खुलामञ्च, बालुवाटारलगायत स्थानमा भइरहेको सार्वजनिक जग्गाको अतिक्रमण सरकारको अकर्मण्यताको परिणाम भएको चर्चा गर्दै उहाँले खुला सिमानाकै कारण नेपालमा बरोबर चिनीकाण्ड दोहोरिने गरेको बताउनुभयो ।
अध्यक्ष बिजुक्छेंले नेकपा र नेका दुवै दलले चुनावको समयमा एनसेलसँग पैसा उठाएर कर मिनाहा गर्न सहमति गरेकैले आज एनसेल कर छली काण्ड भएको बताउनुभयो । “यसको जिम्मेवारी नेकपा र नेकाले नै लिनुपर्छ ।”, अध्यक्ष रोहितले भन्नुभयो ।
Leave a Reply