भर्खरै :

चीनमा मे ४ आन्दोलनको शतवार्षिकी

पेइचिङ, १७ वैशाख (४ मे) । चीनमा मे–४ आन्दोलनको शतवार्षिकी देशभर विभिन्न कार्यक्रमको आयोजना गरी भव्यरूपमा मनाइएको छ ।
सोही उपलक्ष्यमा राजधानी पेइचिङमा मङ्गलबार एक भव्य समारोह एवं विचार गोष्ठी आयोजना भयो ।
ग्रेट हल अफ द पिपुल्समा आयोजित समारोहमा चिनियाँ राष्ट्रपति सि चिनफिङले चीनका युवाहरूलाई देशभक्तिको भावना बोक्न र राष्ट्रिय पुनरुत्थानको चम्किलो पक्षका लागि अथक भइलाग्न आह्वान गर्नुभयो ।
चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव एवं केन्द्रीय सैन्य आयोगका अध्यक्षसमेत रहनुभएका राष्ट्रपति सिले मे ४ को आन्दोलन चिनियाँ राष्ट्रको पुनरुत्थानको आरम्भ भएको बताउनुभयो ।
प्रथम विश्वयुद्धको समाप्तिपछि साम्राज्यवादी देशहरूले चीनलाई टुक्रा टुक्रा गरी भाग लगाउने अन्यायपूर्ण प्रावधानसहितको भर्साइल्स सन्धि थोपरेको विरोधमा देशको अखण्डता र सार्वभौमिकता रक्षाको निम्ति मे ४, १९१९ देखि चीनमा देशभक्तिपूर्ण जनआन्दोलन सुरु भएको थियो । त्यही आन्दोलनले पछि पुरानो सामन्ती समाज उखेलेर फाल्न, नयाँ विचार, प्रजातन्त्र र माक्र्सवाद भित्याउन महत्वपूर्ण भूमिका खेलेको थियो ।
राष्ट्रपति सिले भन्नुभयो – “मे –४ को आन्दोलन बुद्धिजीवीहरू र विद्यार्थीहरूले भर्साइल्सको सन्धिप्रति तत्कालीन सरकारको प्रतिक्रियाविरुद्ध थालनी गरेको देशभक्तिपूर्ण आन्दोलन थियो र पछि साम्राज्यवाद र सामन्तवादसित अडिग भई लड्न सबै क्षेत्र र पेशाका जनता सहभागी भएका थिए ।”
उक्त आन्दोलनले चिनियाँ जनताको आकाङ्क्षा र विश्वासलाई जबरदस्त रुपमा देखाएको थियो र देशको पुनरुत्थानको वास्तविक पाइला चाल्न सुरु भएको थियो ।
समारोहमा चिनियाँ कम्युनिष्ट पार्टीका अरु मुख्य नेताहरू लि खछ्याङ, लि झाङशु, वाङ याङ, झाओ लेइजी, हान झेङ र वाङ किशानको पनि उपस्थिति थियो ।
सो अवसरमा राष्ट्रपति सिले चिनियाँ देशभक्तिको अर्थ देश, पार्टी र समाजवादप्रतिको एकीकृत प्रेम भएको बताउँदै चिनियाँ युवाहरूलाई चिकपाको मार्गनिर्देशन र नीति निर्णय अनुसरण गर्न तथा देश र जनताको हितमा समर्पित हुन आग्रह गर्नुभयो ।
उहाँले युवाहरूलाई माक्र्सवादप्रति र चिनियाँ विशेषताको समाजवादप्रति विश्वास स्थापित गर्न साथै राष्ट्रिय पुनरुत्थानको चिनियाँ सपनाप्रति विश्वस्त हुन आग्रह गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *