भर्खरै :

जनविरोधी योजनामा फसाएर सेनाको बदनाम गरिंदै

काठमाडौँ, १९ वैशाख । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले नेपाल सेनालाई बदनाम गर्न खोना र बोङ्गाजस्ता पुराना बस्ती उठाउने दु्रतमार्ग (फास्ट ट्रयाक) निर्माणमा सेनालाई जिम्मा दिएको बताउनुभएको छ ।
बिहीबार बिहान सगरमाथा टेलिभिजनका पत्रकार जीवराम भण्डारीसँग समसामयिक विषयमा कुराकानी गर्दै उहाँले दु्रतमार्गले नेपालमा भारतीय विस्तारवादको उपस्थिति अझ विस्तार गर्ने बताउनुभयो ।
“फास्ट ट्रयाक भारतीय विस्तारवाद पस्ने बाटो हो । भारतीय विस्तारवाद आउनु भनेको ऊ आफैं आउनु होइन, नेपालको अर्थतन्त्रमा भारतीय उपस्थिति अझ बलियो हुनु हो ।”, अध्यक्ष बिजुक्छेंले भन्नुभयो ।
नेपालको अर्थतन्त्रमा कुनै एउटै देशको बर्चस्व हुनुले देशलाई आर्थिक उपनिवेश बनाउने चर्चा गर्दै उहाँले भारतीय विस्तारवादले नेपाललाई आफ्नो बजार बनाइरहेको धारणा राख्नुभयो ।
कुराकानीमा बिजुक्छेँले चीनमाथि घेराबन्दी गर्न संरा अमेरिकाले भारतसँग मिलेर बनाएको हिन्द–प्रशान्त सैनिक गठबन्धनमा नेपाल सहभागी बन्नु गलत भएको चर्चा गर्दै भारतीय शासक वर्गको दबाबमा नेपालको सरकार सो गठबन्धनमा सहभागी बनेको बताउनुभयो ।
“संरा अमेरिकाले चीनविरुद्ध सैनिक पूर्व एसिया र दक्षिण एसियामा सैनिक गठबन्धन बनाउन खोजिरहेको छ । विसाखापटनममा अमेरिकी जलसेनाले आफ्नो अड्डा बनाउन सक्ने सम्झौता भएको छ । हिन्द प्रशान्त क्षेत्रको संरा अमेरिकी सेनाका प्रमुखले काठमाडौँ भ्रमण गरे । पाकिस्तानलाई अलग्ग बनाएर बिम्स्टेक सम्मेलनको पनि आयोजना गरियो । भारतीय शासक वर्गकै दबाबमा नेपाल सरकार यो चङ्गुलमा फसेको हो ।”, अध्यक्ष बिजुक्छेँले भन्नुभयो ।
भारतीय विस्तारवादले नेपालमा आप्mनो प्रभाव बलियो बनाइराख्न पुरानो घोडा नेपाली काङ्ग्रेसको ठाउँमा नेकपाको नयाँ घोडा प्रयोगमा ल्याएको भन्दै उहाँले भन्नुभयो, “मालिकले घोडामात्र फेरेको हो । पुरानो घोडालाई छेउ लगाएर नयाँ घोडाको रूपमा नेकपालाई सत्तामा ल्याएको हो ।”
देश आजको अवस्थासम्म आइपुग्नुमा बुद्धिजीवीको भूमिका प्रमुख भएको धारणा राख्दै बुद्धिजीवीहरूले जनतालाई सही र गलत भन्नुभन्दा पनि जात, भाषा, क्षेत्र, पैसा र पदको आधारमा धारणा बनाउनु गल्ती भएको बताउनुभयो ।
“देश डुब्न लाग्दा पनि बुद्धिजीवीहरू शासक दलको पछि पछि लागिरहेका छन् ।”, उहाँले भन्नुभयो ।
अध्यक्ष बिजुक्छेँले उत्पादनका साधनमाथि सामूहिक वा व्यापक जनताको स्वामित्व कायम नभएसम्म देशमा आमूल परिवर्तन आएको मान्न नसकिने बताउनुभयो ।
सत्तासीन नेकपाले ‘कम्युनिष्ट’ शब्द प्रयोग गरेर जनता र संसारलाई धोखा दिइरहेको धारणा राख्दै अध्यक्ष बिजुक्छेँले नेकपालाई कम्युनिष्ट मान्नु गल्ती हुने बताउनुभयो ।
उहाँले शासक दलहरूले संसदभित्र गुण्डा, अपराधी र भ्रष्टाचारीलाई हुल्दा संसद्भित्र बौद्धिक बहस र छलफल नै नभएको धारणा राख्नुभयो ।
“हत्यारा सावित भएको व्यक्तिलाई संसदमा ल्याउने अनैतिकता पनि देखियो ।”, बिजुक्छेँले भन्नुभयो ।
उहाँले व्यवस्था नबदली देशमा तमाम समस्या समाधान नहुने भन्दै व्यवस्था फेर्न बुद्धिजीवीहरू जिम्मेवार भएर प्रस्तुत हुन आवश्यक भएको बताउनुभयो ।
“बुद्धिजीवी सजग नभए या त हामीले विदेशीको जी हजुरी गर्नुपर्नेछ नभए मर्ने समयमा पछुताउनेछौँ ।”, उहाँले भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *