भर्खरै :

क्रान्तिकारी युवा–विद्यार्थीको कोणसभा

भक्तपुर, १९ वैशाख । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ र नेपाल क्रान्तिकारी युवा सङ्घले वर्तमान राजनीतिक अवस्थाबारे जनतालाई सचेत गराउने उद्देश्यले बिहीबार चाँगुनारायण नगरपालिकाको खरिपाटी चोकमा कोण सभा गरे ।
सभामा नेक्राविसङ्घका केन्द्रीय अध्यक्ष सविन ख्याजूले विश्व व्यापार सङ्गठनको सदस्यता लिनु आफ्नो बगैँचामा साँढे पठाउनु हो भनी विरोध गर्दा तत्कालीन शासक दलले बुझ्न नसकेको र दूरदर्शिताको कमीले देशको अर्थतन्त्र दिनप्रतिदिन परनिर्भर हुँदै गएको बताउनुभयो ।
देशमा स्वदेशी उत्पादन घटिरहेको र विदेशी सामानको आयात १४ गुणाले बढेको तथ्य प्रस्तुत गर्दै उहाँले चीनसितको व्यापारमा ७ सय विलियन अमेरिकी डलर बराबरको फाइदा अमेरिकालाई भइरहेको हँुदा व्यापार युद्धले अमेरिकालाई नै बढी घाटा हुन्छ भन्नुभयो ।
संसारमा सबभन्दा बढी सुन खानी र पेट्रोल खानी भएको सार्वभौम देश भेनेजुयलामाथि अमेरिकी साम्राज्यवादले गरेको हस्तक्षेपविरूद्ध राष्ट्रपति निकोलास माडुरो सरकार सङ्घर्षरत रहेको बताउँदै उहाँले साम्राज्यवादी देशका सञ्चारमाध्यमहरूले भेनेजुयलाबारे झूटा समाचार दिइरहेको प्रति सचेत रहनुपर्ने खाँचो औँल्याउनुभयो ।
नेक्रायुसङ्घ भक्तपुर जिल्ला समिति अध्यक्ष मिनबहादुर बाटाले नागरिकता विधेयकको कारण देशको सार्वभौमिकता र स्वाधीनता धरापमा परेको बताउँदै जन्मको आधारमा नागरिकता पाएका विदेशी नागरिकहरूले भविष्यमा देशको मुख्य मुख्य कार्यकारिणी अधिकार हातमा लिनसक्ने खतराबारे सचेत रहनुपर्छ भन्नुभयो ।
सी.के. राउटजस्ता विखण्डनकारी व्यक्तिहरूसित काँध मिलाउने सरकार प्रमुख अपराधी सावित भएको चर्चा गर्दै उहाँले नेकपाको सरकार साँच्चिकै कम्युनिष्टको हो भने शिक्षा, स्वास्थ्य निःशुल्क गर्नुपर्ने र रोजगारीको ग्यारेन्टी दिनुपर्ने धारणा राख्नु भयो ।
नेक्रायुसङ्घ भजिसका अर्जुन काफ्लेले नगरकोटको बाटो ठेक्का लिने सैलुङ्ग कन्स्ट्रकसनका मालिक प्रचण्डको घरपति भएकै हुनाले सरकारले कुनै कारबाही नगरिनु निर्लज्ताको हड हो भन्नुभयो ।
सभामा नेक्राविसङ्घ भजिस अध्यक्ष अनिल फोजू, नेक्रायुसङ्घ चानपा अध्यक्ष राजेन्द्र शाखलगायतले बोल्नुभएको थियो ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *