भर्खरै :

शिक्षिका आमरण अनसनमा

काठमाडाँै, २० वैशाख । शिक्षा सेवा आयोगले सञ्चालन गरेको आन्तरिक परीक्षामा छनोट नपरेका अस्थायी शिक्षकहरूको पेशागत सुनिश्चितताको माग गर्दै शुक्रबारबाट दुई जना शिक्षिकाहरूले आमरण अनसन थाल्नुभएको छ ।
जुम्लाका राधा रावत र पर्साका निनु सिम्हाले काठमाडाँै शान्तिबाटिकामा आमरण अनसन थाल्नुभएको हो । सो क्रममा आयोजित कार्यक्रममा बोल्दै अस्थायी शिक्षक आन्दोलन परिचालन समितिका संयोजक होमनाथ चौलागाईले स्थायी शिक्षकहरूको दरबन्दीमा हालसम्म कुनै विज्ञापन नभएकोले सो स्थानमा अस्थायी नियुक्ति दिन र सरुवा प्रक्रिया थालिएको प्रति गम्भीर आपत्ति जनाउनुभयो ।
उहाँले सर्वोच्च अदालतमा अस्थायी शिक्षकहरूको मुद्दा अझै विचाराधीन रहेको अवस्थामा शिक्षकलाई अवकाश नदिन र यथास्थानमा काममा लगाउनुपर्नेमा जोड दिनुभयो ।
आन्दोलन परिचालन समितिका सहसंयोजक तथा शिक्षक सङ्घर्ष समिति भक्तपुरका संयोजक जीवन सुवालले १७ वर्षसम्म शिक्षक सेवा आयोग नखोली तीनघण्टे परीक्षाको नतिजाको आधारमा सेवाबाट निकाल्नु गलत भएको धारणा राख्नुभयो ।
“ऐनमा आन्तरिकबाट ७५ प्रतिशत र खुलाबाट २५ प्रतिशत परिपूर्ति गर्ने भनिए तापनि आन्तरिकबाट ७५ प्रतिशत स्थान नदिनु शिक्षकप्रति विश्वासघात हो ।”, सुवालले भन्नुभयो । कार्यक्रममा समितिका वरिष्ठ उपाध्यक्ष गोपाल बस्नेतले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *