भर्खरै :

पश्चाताप

राजकुमार श्रेष्ठ
देउराङ सानो बस्ती भएको एउटा गाउँको नाम हो । त्यस गाउँका मानिसहरू एक आपसमा मिलेर सानोदेखि लिएर ठूला कामसम्म सम्पन्न गर्दछन् । गाउँमा मुख्य खेती पेशा भएकोले अर्म पर्म चल्दछ । हुर्के बढेका केटाकेटीदेखि लिएर बल भएसम्मका मानीसहरू खेतीपातीमै व्यस्त देखिन्छन् । त्यसै गाउँमा कुमार भन्ने एक केटा छ । गाउँमा साथी भाइसँग ऊ पटक्कै मिल्दैनथ्यो । मेलापातमा होस् या खेल खेल्दा कुमारको झगडा नभएको रेकर्ड नै हुँदैनथ्यो । कुमारसँग साथीहरू नजिक हुुन पनि रुचाउँदैनथे । उसको बोलीचाली, ढङ्ग, व्यवहार साथीहरूलाई मनपर्दैनथ्यो । घमण्डी कुमार अरुको काम, कुरा पटक्कै मन नपर्ने स्वभावको थियो । विद्यालयमा पनि साथीहरूसँग झगडा भइरहन्थ्यो । शिक्षकहरूले भनेको पनि नमान्ने, कक्षा कोठामा सधैँजसो साथीहरूसँग होहल्ला गर्ने गर्दथ्यो । विद्यालय जानभन्दा पनि त्यस्तै साथी सङ्गतमा दिन बिताउने गर्दथ्यो । ऊ बेलुका घर फर्कन्थ्यो । आमाले स्कूल किन नगएको भनी सम्झाउँदा, बुझाउँदा उल्टै आमालाई थर्काउँदथ्यो । ९ कक्षा पढ्दै गर्दा अन्तमा उसले पढाइ छाड्यो ।
कुमारको घरमा दुई दिदी, दाइ र आमा छन् । उनको बुबा दोस्रो बिहे गरेर घर बाहिर बस्दै आइरहेका छन् । घरको रेखदेख पूर्णरूपमा कुमारको आमाले गर्नुपर्दछ । कुमार भने आमाले भनेको कुरा कति पनि मान्दैनथ्यो । दाइ दिदीहरूसँग पनि झगडा नै गरिरहन्थ्यो । मोबाइल हातमा भएदेखि त सानो तिनो काम पनि कुमारले सघाउन छोड्यो । मोबाइलमा केटी साथीहरूसँग व्यस्त हुने र गेम खेल्ने गर्दथ्यो । कुमारको केटी साथीहरूसँग भेटघाट बढ्दै जान थाल्यो । मोबाइलमा केटीसाथीसँग माया प्रेम बस्न पुगेछ । एक दिन घरमा बिहे गर्नुप¥यो भनी उसले घरमा जिद्धी गर्न थाल्यो । बिहे गरेपछि म घरको काम समालिन्छु, घर परिवारले भनेको काम कुरा मान्छु भनी घरमा फकाउन थाल्यो । बिहे गरेपछि छोरा ठीक ठाउँमा आउने आशा आमाको थियो । हेर्दा हेर्दै १७ वर्षको उमेरमा कुमारले बिहे ग¥यो ।
दुई चार दिन श्रीमान् श्रीमती मिलेर घरमा काम गर्ने, आमाले भनेका केही कुुराहरू मान्ने गर्दथ्यो । कुमारको बिहे भएको हप्ता, महिना बित्दै थियो । केही महिना भएपछि पहिलेकै व्यवहार कुमारमा देखापर्न थाल्यो । कुमारको श्रीमती भने घर परिवारमा मिलेरै बस्दथे । विस्तारै मन पराएर ल्याएको श्रीमतीप्रति पनि कुमारको मन टाढिंदै गयो । मोबाइलमा कुरा गरेका कुमारका धेरै साथीहरू थिए । एक दिन जात्रामा कुमारको भेट पुरानो केटी साथीसँग भएछ । भेटमा केटाकेटीको सम्बन्ध यौन क्रियाकलापसम्म हुन पुगेछ ।
कुमार गाउँ घरमै रहँदै आइरहेको थियो । एक दिन कुमारको घर परिवारलाई जात्रामा भेट भएको केटीले थर्काउन र धम्काउन पुगी । कुमारको दुई महिना गर्भ भएको पुरानो केटीले, १५ लाख पैसा तिर्ने भए तिर नत्र बलात्कार मुद्दा हालिदिन्छु भन्यो । घमण्डी हुनाले कुमारले पनि उस्तै जवाफ दिएछ । वाद प्रतिवाद बढ्दै गयो । केही दिनमै केटी र केटीको परिवारले कुमार माथि बलात्कारको आरोपमा मुद्दा जाहेरी गरेछन् । कुमार प्रहरीद्वारा समातियो । कुमारले बयानमा पनि केटीको सहमतिमा यस्तो हुन गएको स्वीका¥यो । कुमारलाई आठ वर्षको जेल सजाय तोकियो ।
कुमार जेल परेको एक वर्ष पुग्नै लाग्यो । कुमारलाई जेल जीवन बिताउन साह्रै कष्ट परेको छ । जेलमुक्त हुनको लागि गरेको प्रयासमा उसको दश लाख खर्च भइसकेको छ । नराम्रोसँग फसिन पुगेको, आज उसको मनमा परेको छ । घरको आमाले दुःख गरेर खुवाएको मीठो, मसिनो ऊ सम्झदै छ । साथी भाइहरूले भनेका, सम्झाएका कुराहरू अहिले आएर मनमा लिंँदैछ । गाउँमा उसका धेरै साथीहरू थिए । अहिले ती साथीहरू देख्न नपाउँदा, भेट्न नआउँदा कुमारको मनमा चिसो भएको छ । गलत ठाउँमा परेकोले नै आफन्त साथीहरू भेट्न नआएको कुमारको मनमा परेको छ । घरमा आमालाई थर्काएर, घुर्काएर खाना खाएका दिनहरूलाई जेलभित्रको खानाले कुमारलाई झस्काउँदै छ । जीवनमा ठूलो गल्ती गरेको महशुश कुमारलाई अहिले मनमा लागेको छ ।
कुमारको हजुरबुबादेखि लिएर ठूल्बुबा, बुबाले दुई श्रीमती बिहेको गरेका थिए । दोस्रो बिहे हुनु, केटीहरूसँग नजिक हुनु कुमारलाई सामान्य लाग्थ्यो । जेल सजाय भोग्नु पर्दा आज कुमार आफ्नो व्यवहारदेखि चेत भएको छ । बुबाले ऊप्रति ठूलो गल्ती गरेको कुमार महशुश गर्दैछ । अझै पनि उसले गरेको गल्तीहरूको दोष बुबालाई लाउँदै छ । जेलमा बुबा मलाई एकपटक पनि भेट्न नआउने, खर्च पनि नपठाइदिने बुबाको कारणले नै म यो ठाउँमा आइपुगेको कुरा कुमारको मनमा परेको छ । बुबा घरमा छोरा, छोरीलाई सिकाउने, बुझाउने गरेका भए म गलत बाटोमा जान पाउँथेन भनी कुमार बुबालाई सम्झन्छ र आफ्नो गल्तीप्रति नतमस्तक हुनुपरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *